Comments Add Comment

आबुधाबीमा “वर्ल्ड ट्राथ्लोन सिरिज”मा एक नेपालीको सहभागिता

उत्तम अधिकारी

२३ फागुन, आबुधाबी । “वर्ल्ड ट्राथ्लोन सिरिज” अन्तर्गत शनिबार (मार्च ७) मा आबुधाबीमा हुन गइरहेको प्रतिस्पर्धामा यूएईमै कार्यरत एक नेपालीले सहभागिता जनाउँदैछन् ।

hari khatiwadaखालिदिया प्यालेस रोटाना होटेलमा फिटनेस ट्रेनरको रुपमा कार्यरत हरी खतिवडाले उक्त प्रतिस्पर्धामा सहभागिता जनाउन लागेका हुन् ।

५०० मिटर स्विमिङ, २० कि.मि. साइक्लिङ र ५ किमि रनिङ समावेस उक्त प्रतिस्पर्धामा झन्डै ५ सय १६ जनाले भाग लिदैछन् ।

खतिवडा नेपालका पुर्व बक्सिङ खेलाडी हुन् । उनले काठमाडौँमा भएको जुनिएर साउथ एसियन गेममा समेत नेपालका तर्फबाट बक्सिङ खेलेका थिए ।

बक्सिङमा क्यारिएर बन्दा बन्दै ११ बर्ष अघि बिदेशिएका उनी यूएईमा आएर पनि बक्सिंग खेल्न छोडेनन् । ५१ केजी समुहमा  २००५ सालमा  यूएई बक्सिंग फेडेरेसनद्वारा अल जजिरा क्लबमा भएको खेलमा उनले पहिलो स्थान हासिल गरे ।

सो पश्चात उनले यूएई टिमको तर्फबाट जोर्डनमा गएर समेत बक्सिङमा प्रतिस्पर्धा गर्ने मौका पाए । लामो समयदेखि आबुधाबीमा बिभिन्न बिदेशी राष्ट्रका मानिस तथा यूएईका स्थानीय नागरिकलाई उनि फिटनेस ट्रेनिङ गराईरहेका छन् ।

वर्ल्ड ट्राथ्लोन सिरिज अन्तर्गत प्रत्येक बर्ष आबुधाबीमा यो प्रतिस्पर्धा हुँदै आएको छ । यस प्रतिस्पर्धामा बिभिन्न देशका खेलाडीहरु समेत भाग लिने गर्दछन ।

आबुधाबीमा आयोजना हुने उक्त सिरिजमा भाग लिने उनी एक्ला नेपाली हुन् । प्रतिस्पर्धाका लागि पूर्व तयारी राम्रो रहेकाले राम्रै नतिजा आउने उनको विश्वास छ । स्विमिङमा अरु भन्दा राम्रो प्रदर्शन हुनेमा उनी ढुक्क छन् भने ५ किमि रनिङमा पनि आफूलाई बलियो प्रतिस्पर्धी ठानेका छन् । साइक्लिङ आफ्नो सोख भएको बताउने खतिवडा दैनिक कार्य अन्तर्गत नपर्ने हुँदा प्रतिस्पर्धा मध्येको साइक्लिङमा चाहिं सोचेको जस्तो सहज नहुनेतर्फ सतर्क रहँदै आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शनको तयारीमा छन् ।

गैरआवासीय नेपाली संघ यूएईका साधारण सदस्य रहेका उनी जर्सीमा नेपालको झन्डा टाँसेर प्रतिस्पर्धामा भाग लिदैछन् । शनिवार हुने प्रतिस्पर्धामा उत्साहजनक प्रदर्शनका लागि संघका अध्यक्ष कृष्णप्रसाद भुसालले शुक्रवार भेटेर उनलाई शुभकामनासहित नेपालको झन्डा प्रदान गरेका थिए ।

वर्ल्ड ट्राथ्लोन सिरिज अन्तर्गत मार्च ७ मा आबुधाबीमा बिभिन्न समूहमा बर्गिकरण गरेर प्रतिस्पर्धा हुँदैछ । त्यसमध्ये नेपाली पूर्व बक्सिङ खेलाडी खतिवडा सम्मिलित समूहको प्रतिस्पर्धा बिहान १० बजेबाट शुरु हुदैछ । आबुधाबीको मारिना मलबाट शुरु हुने सो प्रतियोगिता कर्नेस रोड हुँदै मिना पोर्ट पुगेर पुन: मारिना मल फर्किएर समाप्त हुनेछ । उक्त प्रतिस्पर्धाका लागि आबुधाबीको कर्नेस रोड साँझ ७ बजेसम्म अन्य सवारी साधनका लागि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment