+
+
Shares

युद्धविराम भएको छ, वार्ता होलाजस्तो छैन

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २६ गते १२:२५

एमाओवादी नेता डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेका नेताहरुले वार्ताप्रति खासै ‘रेस्पोन्स’ नगरेको बताएका छन् । अहिलेको अवस्थालाई डा. भट्टराईले ‘युद्धविराम जस्तै’ अवस्थाका रुपमा चित्रण गरेका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिबारे अनलाइनखबरसँग कुरा गर्दै डा भट्टराईले भने- आजका मितिसम्म आउँदा कांग्रेस र एमालेको मूल नेतृत्वको वार्ताप्रति इच्छुक भएको, सक्रिय भएको देखा परेको छैन । हामीले पहिले नै फागुन २६ गतेसम्म वार्ता र सहमतितिर गएन भने दोस्रो चरणको कार्यक्रम घोषणा गर्छौं भनिसकेका छौं ।’

आन्दोलनकारी ३० दलीय मोर्चामा हार्ड लाइनरका रुपमा चिनिन थालेका नेता भट्टराईले आफू हार्ड र सफ्ट दुबै भएको बताए । उनले अबको वार्ताको बटम लाइन ‘माघ ५’ लाई बनाउन नसकिने स्पष्ट पारे ।

Baburam-Bhattrai
 
पहिलो चरणको आन्दोलनको समीक्षा गर्दा सत्तापक्षको मनस्थिति कस्तो पाउनुभयो ?

– सत्ता पक्षको मनस्थिति कस्तो देखियो भने बस्तुतः कांग्रेस र एमालेले कात्तिक १७ गते जुन ९ बुँदे प्रस्ताव अगाडि सारे, त्यो नै शान्ति सम्झौताको मर्म विपरीत थियो, परिर्वतनका मुख्य एजेण्डाभन्दा पछाडि फर्किएको विषय थियो । समस्याको जरो त्यहाँ हो । त्यसो हुनुका पछाडि हाम्रो विश्लेषण के हो भने शान्ति प्रक्रियामा प्रत्यक्ष संलग्न भएको नेतृत्व कांग्रेस र एमालेमा पहिले थियो, त्यो नहुनु र नयाँ नेतृत्वले पुरानो सम्झौताको स्वमित्व ग्रहण नगर्नु नै मुख्य समस्या हो ।

उनीहरुले हिजो जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, आदिवासी जनजातिको आन्दोलनमा जुन एजेण्डा स्वीकार गरेका थिए, त्योबाट उनीहरु अहिले पछाडि हटेको अभिव्यक्ति हो । समस्याको जरो त्यहाँनिर हो ।

त्यसैले जबसम्म उनीहरुले बृहत शान्ति सम्झौता र मधेसवादी, जनजातिसँग भएको समझदारीलाई आत्मसाथ गरेर त्यस आधारमा नै नयाँ संविधान बन्ने हो भन्ने स्वीकार गर्दैनन्, त्यसबेलासम्म यो समस्याका गाँठो फुक्छजस्तो लाग्दैन । त्यसैले पहिलो चरणमा ब्यापक जनपरिचालन गर्‍यौं र त्यसको उत्कर्षका रुपमा फागुन १६ गते जनप्रदर्शन गरौं । त्यसले नै हाम्रो एजेण्डा सही थियो, बैज्ञानिक थियो, शान्ति सम्झौता र मधेसवादी दलसँग भएको सम्झौता कार्यान्वयनको माग जायज थियो भन्ने जनअनुमोदित भयो ।

अन्तराष्ट्रिय समुदायले पनि त्यसलाई सकारात्मक रुपमा लिएको बुझिन्छ । त्यसको सकारात्मक दबाव कांग्रेस र एमालेको बृत्तमा परेको हुनुपर्छ । किनकि त्यहाँ पनि यदि शान्ति चाहने मान्छेहरु छन् भने उनीहरुले जनताको स्पष्ट सन्देशलाई नजरअन्दाज गर्नु उनीहरुकै लागि आत्मघाती हुन्छ । त्यसअर्थमा केही सकारात्मक प्रभाव पक्कै परेको हुनुपर्छ भन्ने अनुमान छ ।

तर, आजका मितिसम्म आउँदा जुन कांग्रेस र एमालेको मूल नेतृत्वको त्यति वार्ताप्रति इच्छुक भएको, सक्रिय भएको देखा परेको छैन । हामीले पहिले नै फागुन २६ गतेसम्ममा वार्ता र सहमतितिर गएन भने दोस्रो चरणको कार्यक्रम घोषणा गर्छौं भनिसकेका थियौं । तर, अहिले आउँदा त्यो ढंगको कुनै प्रकारको पहल देखिँदैन ।

शनिबार वार्ता गरियो । किनकि यो एक प्रकारको युद्धविराम हो । हामीले पनि नयाँ कार्यक्रम घोषणा छैन, उनीहरुले पनि अगाडि बढाएको प्रक्रिया अहिले थाती राखेका छन् ।

यो अघोषित युद्धविराम हो । यस्तोबेला अनौपचारिक वार्ता भएको छ, यसलाई सक्रिय ढंगले अगाडि बढाउन जुन सक्रियता देखाउनुपर्थ्याे, त्यो कांग्रेस र एमालेबाट देखाएको देखिएन । कांग्रेसमा अलिअलि देखा परेको छ । तर, एमालेको नेृतृत्व पुरै उदासीन भएर बसेको छ । त्यसो भएर वार्ता जुन ढंगले सार्थकरुपमा अघि बढ्नुपथ्र्यो, त्यो हुन सकेको छैन ।

प्रतिशतमा भन्न सकिन्छ ? वार्ता सार्थक होला कि नहोला ?

– आजको दिनसम्म हेर्दा वार्ता सार्थक ढंगले बढ्ने सम्भावना देखिएको छैन । हामी त वार्ताको पक्षधर नै हौं । किनकि वार्ताविना त सहमति हुँदैन । बहुमतीय प्रक्रिया पक्षधर वार्ता नभए पनि जान मिल्छ तर, हामी सहमति पक्षधरहरु वार्ताको पक्षधर हुनैपर्छ । हामी वार्ता विरोधी पहिले पनि थिएनौं र अहिले पनि छैनौं ।

त्यसैले कांग्रेस र एमालेको शीर्ष नेतृत्वको जुन रवैया देखिएको छ, त्यो हर्दा उनीहरु वार्ताबाट सहमतिमा जालान् जस्तो देखिएको छैन ।

यसमा एउटा कुरा के संकेत गरौं भने कांग्रेस र एमालेको नेतृत्वमा चरम अनुदारवादी तप्का हावी भयो ।

वैचारिक हिसावले एउटा यो पाटो हो । अर्को भनेको पछिल्लो चरणमा आउँदा कांग्रेसको जुन महाधिवेशन आउँदैछ, त्यसमा दुई बटा क्याम्पको आफ्नै नेतृत्वमा महाधिवेशनमा जान चाहने प्रतिस्पर्धाका कारण उनीहरु संविधान निर्माण भन्दा पार्टीभित्र बर्चश्व कायम गर्ने काममा लागेका छन् ।

त्यसकारण अहिले तुरुन्तै संविधान बनाउन क्रियाशील हुने देखिँदैन । तत्कालको समस्या कांग्रेसभित्रको महाधिवेशन केन्दि्रत दौड छ, त्यो वार्ता त सहमतिको वाधक बन्ने हो कि भन्ने देखा पर्दैछ ।

तपाईहरुको ३० दलको मोर्चाभित्रै पनि वार्तामा बस्न एजेण्डा प्रष्ट भएन भनिँदैछ नि ? कांग्रेस र एमालेले माघ ५ को नजिकबाट सहमति खोज्नुपर्ने बताएको छ, त्यो सम्भव छ ?

– माघ ५मा सहमति भएकै होइन । कांग्रेस र एमालेको नौ बुँदे र हाम्रो नौ बुँदे नै एजेण्डा हो । त्योभन्दा एक कदम पनि अगाडि बढेको छैन । हामीले भन्दा हामी केही लचिलो हुन तयार छौं भने पनि उनीहरुबाट कुनै पनि रेस्पोन्स आएन । उनीहरु त आफ्नो नौ बुँदेबाट कति पनि दायाँ वाँया गर्ने पक्षमा नदेखिएपछि एक पक्षले मात्र आत्मसमर्पण गर्ने कुरा हुँदैन ।

त्यसैले अब माघ ५, ८ भन्ने प्रश्नै आउँदैन । यो वार्ताको प्रस्थान विन्दु भनेको दुबैतर्फको नौ बुँदे हो ।

अब सहमतिको बटमलाइन के ?

– दुबै पक्षले आआफ्नो नौ बुँदे प्रस्तुत गरेका छन् । त्यसमा दुबै पक्ष कतिसम्म लचिलो हुन सक्छन् भन्ने हो । यो विषयमा कांग्रेस र एमालेबाट कुनै लचकता आएको छैन । उनीहरुले आफ्नो कार्ड नखोलेसम्म ३० दलले पनि आफ्नो कार्ड खोल्नु उचित हुँदैन । जो सत्तामा छ, जिम्मेवार उ बढी हुनुपर्छ ।
 
३० दलीय मोर्चामा तपाई हार्डलाइनर हो कि सफ्टलाइनर ?

– हार्ड र सफ्ट भन्ने कुरै गलत छ । हामी दुबै हो । कुनै पनि राजनीतिकर्मीले आफ्नो कुरालाई दृढतापूर्वक राख्नुपर्छ र रणनीतिकरुपमा ऊ दृढ हुनुपर्छ । कठोर हुनुपर्छ । तर, राजनीति भनेको फेरि विभिन्न सम्भावनाको कला हो पनि भनिन्छ । त्यसमा सहमति र सम्झौता पनि गर्नुपर्छ । त्यसो गर्दा तत्कालीन रुपमा, कार्यनीतिकरुपमा तपाई नरम पनि हुनुपर्छ ।
त्यस हिसाबले तपाई हार्डलाइनर कि सफ्ट भन्ने हुँदैन । आवश्यकता अनुसार रणनीतिक विषयमा हार्ड हुनुपर्छ, तत्कालीन र कार्यनीतिमा सफ्ट हुनुपर्छ । त्यस अर्थमा म हार्ड र सफ्ट दुबै हुँ ।

भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?