Comments Add Comment

अनेरास्ववियू र अखिल क्रान्तिकारीबीच अस्कलमा झडप

२७ फागुन, काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा अनेरास्ववियू र अखिल क्रान्तिकारीबीच झडप भएको छ । विद्यार्थीहरुले क्याम्पस चिफ राजेश महाजुको कार्यकक्षमा तोडफोड गर्दै कुर्सि जलाएका छन् ।

Ascol-Todfod-1

  • तोडफोड भएको क्याम्पस प्रमुखकको कार्यकक्ष । तस्वीर : दिपेश पुनको फेसबुक

अनेरास्ववियुले तोडफोड र आगजनी गरेको अखिल क्रान्तिकारीले आरोप लगाएको छ । तर, अनेरास्ववियुले भने दुई विद्यार्थीबीचको व्यक्तिगत रिसिइवीको कारण झडप भएको भन्दै यसमा राजनीतिक कारण नभएको दाबी गरेको छ ।

यस्तो छ विवादको चुरो

अस्कलमा क्याम्पस चिफ नियुक्तिको विषयमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीबीच विवाद रहँदै आएको छ । सोही विषयको विवादले विद्यार्थीहरुबीच झडप भएको बताइएको छ ।

राजनीतिक भागबन्डाको आधारमा अस्कलमा एमाओवादी निकट रामप्रसाद यादव क्याम्पस प्रमुख नियुक्त भएका थिए । उनीपछि एमाओवादीकै कोटाबाट स्थानीय राजेश महाजु क्याम्पस प्रमुख बनेका छन् ।

तर, यादव र महाजुलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले ‘असहयोग’ गरेको एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आरोप छ ।

‘दुई विद्यार्थी संगठनको चेपुवामा क्याम्पस चिफ पर्दै आएका छन्, आजको झडप पनि त्यही पक्ष-विपक्षको कारण हो,’ एक विद्यार्थी नेताले अनलाइनखबरसँग भने ।

विद्यार्थी नेताको आ-आफ्नै दाबी

तर, अनेरास्ववियूका प्रवक्ता आरसी लामिछानेले भने आजको झडप राजनीतिक विषय नभएको दाबी गरे । भलिबल खेल्ने क्रममा विवाद भएपछि झडप भएको लामिछानेको दावी छ ।

अखिल क्रान्तिकारीका नेता दिपेश पुनले भने तोडफोडमा अनेरास्ववियुका विद्यार्थीको संलग्नता भएको बताए । पुनका अनुसार  अनेरास्ववियुका विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा केहीबेर थुनेका थिए । ‘यस्तो काम नगर भनेर सम्झाउने क्रममा हामीमाथि उल्टै आक्रमण गरेपछि प्रतिकार गर्‍यौं,’ पुनले भने ।

पुनका अनुसार अनेरास्ववियूका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सि बाहिर निकालेर पेट्रोल छर्केर आगो लगाएका थिए । सडकमा गुडिरहेको एउटा कारमा पनि तोडफोड भएको छ । तोडफोडमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा दुई जना घाइते भएका छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले क्याम्पसको भौतिक संरचना क्षति गर्नु दुःखद भएको भन्दै जोसुकै भए पनि दोषिलाई कारवाही गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment