पाटन काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो शहर मानिन्छ । नेवारी भाषामा ‘यलः’ र हाल प्रचलित ‘ललितपुर’ भनिने पाटन बरदेवले स्थापना गरेको बताइन्छ । अनुपम कला र सँस्कृतिले धनी ललितपुर शहरको बीचमा ऐतिहासिक प्राचीन पाटन दरबार छ । तत्कालीन मल्ल राजाहरुले प्रयोग गरेको कलात्मक पाटन दरबार प्राचीन स्मारकको धरोहर हो ।

धार्मिक मनोवृत्तिको तत्कालिन राजाहरुले दरवार परिसरमा विभिन्न देवी-देवताको मन्दिर बनाए । तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको पालामा बनेको कृष्ण मन्दिर पाटन मात्रै होइन नेपालकै सबैभन्दा आकर्षक मन्दिर हो ।
एउटै ढुंगाबाट शिखर शैलीमा निर्मित २१ गजुरयुक्त कृष्ण मन्दिर लगायत लहरै निर्मित अन्य धरोहरबाट नलोभिने कमै छन् । किनकी यहाँका सत्रौं शताव्दीका धातुकला, काष्ठकला र प्रस्तरकलाको अनुपम नमूनाले दरबार क्षेत्रमा सुनमा सुगन्ध भरेको छ ।
दरवार परिसर अवलोकन गर्ने पर्यटकहरु मल्लकालीन सभ्यताको उत्कृष्ट नमूनाको अनुभूति गर्न सक्नेछन् । इतिहासमा रुचि राख्ने विद्यार्थीका लागि पाटन दरवार उत्तम थलो हो । मन्दिर परिसरको पाटन संग्रहालयमा बौद्ध र हिन्दु धर्मालम्वीहरुका कलात्मक पुरातात्विक मूर्तिहरु संग्रहित छन् । दरवार स्क्वायरको अर्को धुम्नै पर्ने स्थल मुलचोक र सुन्दरीचोक हो । यहाँ नेवारी वास्तुकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ । पुनर्निर्माणपछि अवलोकनका लागि खुला गरिएका यी चोकहरुमा ऐतिहासिक कलात्मक देवी देवताका मूर्ति, कलात्मक टुँडाल र आँखी झ्यालहरु छन्, जुन हस्तकलाका सर्वोत्तम नमूना हुन् ।

पाटन दरवारका दशैंघर, तलेजु, देउतलेजु, कृष्ण मन्दिरकै छेउँको भीमसेन मन्दिर हेर्नलायक छन् ।भीमसेन मन्दिर श्रीनिवास मल्लले बनाउन लगाएको इतिहासविदहरु बताउँछन् । यसै क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डप तत्कालीन राजा योगनरेन्द्र मल्लले बनाउन लगाएका थिए । योगनरेन्द्रलाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ । दरबार अगाडि रहेको उनको शालिकको टाउकोमा एउटा मानव निर्मित चरा पनि छ । उनले आफू मर्ने बेला ‘त्यो चरा उडेर नगएसम्म मलाई ज्युँदै ठान्नू’ भनेका थिए भन्ने किंवदन्ती छ । त्यसैले पाटन दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल सँधै खुला राखी शयनकक्ष राखिएको छ ।
दरवार परिसरको पूर्वतर्फको भण्डारखाल पोखरी र स्वप्नील बगैंचाले सुन्दर, शान्त र मनोरम वातावरण अनुभूत गराउँछ । मल्लकालीन रानीहरुले नुहाउने, श्रृङ्गारपटार गर्ने र घाममा सुस्ताउने ऐतिहासिक यस स्थलहरु पनि हेरुँ हेरुँ लाग्दछन् ।
हिन्दु धार्मिक मन्दिरहरुको बाहुल्य रहेको दरवार क्षेत्रमा तेह्रौं शताव्दीको अन्त्यतिर बुद्ध धर्मको आकर्षक थलो थियो भन्ने यहाँका बहाल, विहार र स्पुताहरुले पुष्टि गर्दछन् ।
प्रतिक्रिया 4