Comments Add Comment

रानीबारी काण्ड : घरबेटी मार्न खोज्दा डेरावालको हत्या

१ चैत, काठमाडौं । रानीबारी हत्याकाण्ड भएको १२ वर्षपछि प्रहरीले मुख्य अभियुक्त फेला नपारे पनि दुईजना अभियुक्त मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबै ‘कन्ट्राक्ट किलर’ भएको प्रहरीको दाबी छ ।

राजधानीमै भएको यो विभत्स हत्याका मुख्य योजनाकार भने अझै फरार छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले मुख्य अपराधीको पहिचान भइसकेको तर, हाल बेलायतमा रहेकाले पक्राउ पर्न नसकेको बताएको छ ।

काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको ०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भएको थियो ।

घरबेटीलाई मार्न खोज्दा डेरावाल परे

प्रहरी अनुसन्धानका क्रममा मनराज र प्रमेशले पैसा लिएर हत्या गरेका हुन् । तर, उनीहरुको टार्गेट भने श्रेष्ठ दम्पती नभएर घरबेटी गीता खड्का थिइन् ।

घटना भएको घर र घरबेटी गीता खड्का
घटना भएको घर र घरबेटी गीता खड्का

गीता त्यसबेला म्यान पावर व्यवसायी थिइन् । अहिले उनी देश बाहिर छिन् । गीताको हत्याका लागि पैसा लिएपछि मनराज र प्रमेश घटना हुनुभन्दा ६/७ दिनअघि कोठा खोज्न भन्दै गीता खड्काको घरमा पुगेका थिए । हत्याराहरुको भेट सुरुमा भुईँ तलामा बस्ने अञ्जली श्रेष्ठसँग भयो । ‘टीन एजर’ जस्तो देखिने हत्याराले आफूहरु विद्यार्थी भएको बताउँदै जति पनि भाडा तिर्ने गरी डेरा मागे ।

घटनाको अघिल्लो दिन साँझ डेरा माग्ने निहुँमा घरको अवलोकन गरेका हत्याराले असार ३१ गते बिहान पुनः अञ्जलीसँग घरधनीबारे सोधपुछ गरे । त्यसक्रममा अञ्जलीले कोही भेट्न आएको भन्दै गीतासँग कुरा गरिन् । तर, गीताले भेट्न अस्वीकार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार घरधनी माथिल्लो तलामा छिन् भन्ने थाहा पाएपछि मनराजले अञ्जलीका पति हेमन्तमाथि आक्रमण गरे ।

मनराजलाई अन्धाधुन्ध खुकुरी हानेपछि मनराजले अञ्जलीमाथि आक्रमण गरे । अञ्जलीलाई प्रमेशले कपालमा समातेर राखेका थिए । उनीहरुले श्रेष्ठ दम्पतीकी सात वर्षकी छोरीलाई पनि खुकरी हानेका थिए । तर, भागेर शौचालयमा लुकेका कारण उनी बाँच्न सफल भइन् । अहिले उनी १९ वर्षकी हुँदासम्म आफ्ना आमा बुबाका मुख्य हत्यारा समातिन सकेका छैनन् ।

श्रेष्ठ दम्पत्तिको हत्यापछि मनराज र प्रमेश गीताको हत्या गर्न माथिल्लो तलामा गए । तर, गीता शौचालयमा लुकेका कारण बचिन् । ‘उनीहरुले गीताको हत्या गर्ने प्रयास नगरेका होइनन् । तर, होहल्ला भएपछि छाडेर भागेको देखिन्छ’ सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीले भने ।

प्रहरी नियन्त्रणमा मनराज गुरूङ । तस्वीर २ घटना हुँदाको अवस्थामा मनराज र ३ प्रहरीले बनाएको स्केच
प्रहरी नियन्त्रणमा मनराज गुरूङ । तस्वीर २ घटना हुँदाको अवस्थामा मनराज र ३ प्रहरीले बनाएको स्केच

उक्त घरको संरचनाअनुसार गीता बस्दै आएको तलामा जान श्रेष्ठ दम्पत्ति भएको भईँतला हुँदै जानुपथ्र्यो । छल्ने कुनै बाटो थिएन ।

त्यसमाथि कोठा खोज्दा जाने क्रममा अञ्जली श्रेष्ठसँग उनीहरुको धेरै पटक भेट भएको थियो । सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरी भन्छन्-पटक-पटक जाँदा उनीहरुलाई अञ्जलीले चिनिसकेकी थिइन् । सूचना चुहिने देखेर तल्लो तलाबाटै हत्या गर्दै अपराधीहरु माथि गएको देखिन्छ ।’

घटनापछि भागेकाहरु मनराज र प्रमेशले झण्डै १०० मिटर पर खुकुरी फालेका थिए भने सामाखुसी चोकको धारामा हात धोएर कपडा फेरेर भागेका थिए ।

सुपारी लिएर हत्या

प्रहरी अनुसन्धानले आक्रमणकारी पैसा लिएर हत्या गर्ने ‘कन्ट्राक्ट किलर’ भएको पुष्टि भएको छ । श्रेष्ठ दम्पत्तिको हत्या गरेको झण्डै ९ महिनापछि गोलढुंगामा म्यानपावर सञ्चालिका लीलामाया गिरीको हत्या भएको थियो ।

प्रमेश चौहान । २- घटना हुादाको समयको प्रमेशको तस्वीर
प्रमेश चौहान । २- घटना हुादाको समयको प्रमेशको तस्वीर

लीलाकै श्रीमानले ६ लाख सुपारी रकम दिएर गराएको हत्यामा मनराव र प्रमेश दुबै सलग्न भएको प्रहरीको दाबी छ । अदालतबाट सर्वस्वसहित जन्मकैद भएका उनीहरु ०६९ मा छुटेका थिए ।

सीआईबी स्रोतका अनुसार गोलढुंगा घटनामा पनि मनराजले नै खुकुरी हानेका थिए । प्रहरीलाई दिएको बयानमा पनि उनले उक्त घटना स्वीकार गरेको प्रहरीले बताएको छ । तर, अदालतमा प्रमेशले आफूले कुखुरी हानेको बयान दिएका थिए ।

आफुलाई बचाएको भन्दै मनराजले जेलबाट छुटेपछि प्रमेशलाई तीन लाख लगानी गरेर एम्पिज क्याफे रिसोर्ट नै खोलिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गीतालाई ‘क्लिन चिट’

यसअघिका अनुसन्धानहरुमा म्यानपावर व्यवसायी गीताबाट ठगिएका वा उनका दुई बिजनेश पार्टनरले नै हत्या गरेको हुन सक्ने अनुमानसमेत गरिएको थियो ।

केही अध्ययनमा भने श्रेष्ठ दम्पत्तिको हत्यामा गीताकै संलग्नता पनि हुन सक्ने आशंका समेत गरिएको थियो । तर, सीआईबीले माथिका तीनै आशंकालाई खारेज गरेको छ र गीतालाई ‘क्लिन चिट’ दिएको छ । ‘विगतमा गीतामाथि समेत आशंका गरेर अनुसन्धान भएको थियो’ सीआईबी प्रमुख ठकुरीले भने-‘तर, हाम्रो अनुसन्धानले आजको मितिसम्म गीता क्लियर छिन् ।’

यसरी भयो अनुसन्धान

पटक-पटक गठन भएका अध्ययन समितिहरुले १५ वटा अध्ययन प्रतिवेदन तयार हुँदा समेत आक्रमणरी पत्ता नलागेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत असोजमा ‘अपरेशन साइलेन्स सर्च’ नाम दिएर रानीबारी घटनाको फाइल खोलेको थियो ।

प्रहरी स्रोतका अनुसार हत्याराबारे सूचना भने कैदीहरुबाटै खुलेको हो । रणबहादुर बम हत्या काण्डमा पक्राउ परेका र मानव तस्करीमा पक्राउ परेका अभियुक्तहरुबीच जेलमा रानीबारी हत्याकाण्ड ‘मने’ले गराएको रहेछ नि भन्ने कुराकानी भएको प्रहरीले सुइँको पाएको थियो ।

स्रोतका अनुसार घटनापछि मनराजले रानीबारीमा ‘मिस टार्गेट’ भएको कुुरा गरेका थिए । सोही कुराकानीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले थालेको अनुसन्धानका क्रममा आक्रमणकारी पक्राउ परेका हुन् ।

प्रहरीले दोलखाको खारे घर भई सामाखुसी टाउन प्लानिङमा बस्ने ३० वर्षीय मनराज गुरुङ र र रामेछापको फुलासी गाविस ३ घर भई जोरपाटी बस्दै आएका ३२ बर्षीय चौहान पक्राउ गरेको छ ।

दुबैलाई आइतबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ । मनराज सामाखुसी चोकबाट र प्रमेश जोरपाटी चोकबाट पक्राउ परेका हुन् ।

रहस्य अझै बाँकी

प्रहरीले गीताको हत्याका लागि रकम दिने व्यक्तिबारे थप बताएको छैन । उनी विदेशमा रहेको बताएको छ । तर, स्रोतका अनुसार प्रहरी अनुसन्धानमा गीताको हत्याको प्रयास सम्पत्तिका कारण हुन सक्ने संकेत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment