Comments Add Comment

गोरखा सैनिकको जागिर खोस्ने बेलायती सरकारको योजना

१ चैत, लण्डन । गोरखालीहरुले बेलायती सेनामा सेवा थालेको २ सय वर्षगाँठ मनाउन लागिरहेकै बेला बेलायती सरकारले भने ठूलो संख्यामा गोरखाहरुलाई सेवाबाट हटाउने तयारी थालेको छ ।

Queen-with-Gurkha-Armyबेलायत सरकारले आफ्नो फौज घटाएर ६० हजारमा सीमित गर्ने योजना बनाइरहेका बेला करिब १ हजार ५ सयको संख्यामा गोरखा सैनिकले सेवाबाट हात धुनुपर्ने अवस्था आउन लागेको हो ।

बेलायतबाट प्रकाशित द एक्सप्रेस दैनिकले आइतबारको संस्करणमा जनाएअनुसार यो योजना कार्यान्वय भएमा फस्ट बटालियन गोर्खा राइफल्सका सबैले जागिर गुमाउने छन् भने अन्य ६ सय जना विशेषज्ञ गोरखाहरुको पनि जागिर जान सक्नेछ ।

बेलायती सेनाका पूर्वमेजर जनरल मार्क कार्लटनले बनाएको योजनाअनुसार गोर्खाको संख्या कटौती गर्न लागिएको हो ।

यस्तो योजना आगामी तीन बर्षभित्र लागू गरिसक्ने बेलायत सरकारको योजना रहेको समाचारमा जनाइएको छ ।

ब्रुनाईको गोरखा बटालियनलाई असर नपर्ने

बेलायत सरकारले गर्न लागेको सैन्य कटौती योजनाबाट ब्रुनाई सरकारले खर्च ब्यहोरेको र बु्रनाईमा तैनाथ भइरहेको सेकेण्ड गोर्खा बटालियनलाई भने कुनै असर नपर्ने बताइएको छ ।

बेलायत सरकारले फेब्रुअरी महिनामा थप पाँच वर्षका लागि सो बटालियन ब्रुनाईमै राख्ने सम्झौता गरिसकेको छ ।

बेलायती रक्षा मन्त्रालयका अधिकारीहरुले तत्कालै गोरखाको संख्या कटौती गर्न लागिएकोबारे यकिनसाथ भन्न नसकिने बताएका छन् ।

बेलायतले आगामी सन् २०२० भित्र फौजको संख्या घटाएर ८२ हजारमा सीमित गर्ने योजना तीन बर्ष पहिले नै सार्वजनिक गरिसकेको थियो ।

तर, मार्कको योजना त्योभन्दा बेग्लै रहेको बताइएको छ । सन् २०२० सम्म कटौती गरिने गोर्खाको संख्याभन्दा अतिरिक्त गोर्खाको संख्या कटौती गर्न लागिएको द एक्सप्रेस पत्रिकाले दाबी गरेको छ ।
त्यसो भएमा एउटा सिंगै गोरखा बटालियन नै खारेज हुन सक्ने बताइएको छ ।

पछिल्लो समयमा बेलायतले रक्षा बजेटमा तिब्र कटौती गरिरहेको छ । रक्षा थिंक ट्याङ्कहरुले यही अवस्था आए छिटै बेलायती फौजको संख्या ५० हजारमा र्झन सक्ने अनुमान गरेका छन, जुन बेलायतले सन् १७७६ मा अमेरिकासित युद्ध लड्दाको अवस्थाभन्दा पनि कम हो ।

गोर्खाहरुले लामो समयदेखि निकै कम तलव सुविधामा काम गरिरहेका थिए । तर, पछिल्लो समयमा समान तलव तथा पेन्सन सुविधा लागू गर्नैपर्ने दबाव बढेपछि गोरखामाथिको बेलायती लगानी बढ्दै गइरहेको छ । यसले गर्दा बेलायतले गोर्खा फौजलाई कटौतीको निसाना बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment