Comments Add Comment

प्रचण्ड मोर्चाद्वारा नेपाल बन्दसहितको आन्दोलन घोषणा

30-daliya-Morcha
१ चैत, काठमाडौं । सत्तापक्षसँग वार्ता प्रयास असफल भएको भन्दै एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

तर, सत्तारुढ दलहरुले भने वार्ता र सहमतिको प्रयास जारी रहँदा आन्दोलनको घोषणा गरेको भन्दै दूर्भाग्यपूर्ण भनेको छ ।

सिंहदरबारमा आइतबार बसेको ३० दलीय मोर्चाको बैठकले सत्तापक्ष सहमति लागि गम्भीर नभएको आरोप लगाउँँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम घोषणा गरिए पनि वार्ता र सहमतिको ढोका खुल्लै रहने एमाओवादी मोर्चाले जनाएको छ ।

मोर्चाले एसएलसी परीक्षाभर प्रचारात्मक कार्यक्रम राखेको छ भने चैत १५ गतेदेखि लाठीजुलुसदेखि आम हड्तालसम्मको कार्यक्रम बनाएको छ ।

के के छन् आन्दोलनका कार्यक्रम ?

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले चैत ८ गते सहमतिबाट संविधान निर्माणमा जोड दिँदै महिला हिंसा, महंगी लगायतको विरोधमा सबै जिल्लामा प्रदर्शन गर्ने तय गरेको छ ।

चैत ११ गतेदेखि प्रधानमन्त्री र मन्त्रीको सार्वजनिक कार्यक्रममा कालोझण्डा देखाउने र कार्यक्रम बहिस्कार एवं अवरोध गर्ने बताइएको छ ।

चैत १५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम छ । यसअघि फागुन १४ गते गते पनि वाइसीएलले काठमाडौंमा भाटा जुलुस प्रदर्शन गरेको थियो । मोर्चाले चैत १६ देखि १८ गतेसम्म जिल्ला प्रशासनसहितका सरकारी कार्यालय घेराउ गर्ने र १९ गते देशब्यापी आमहड्तालको कार्यक्रम घोषणा गरेको छ ।

चैत २० देखि २३ गतेसम्म सबै सरकारी कार्यालय बन्द गर्ने, नाकाबन्दी गर्ने र कर असुरी रोक्नेसम्मका कार्य गर्ने उसले बताएको छ ।  प्रचण्ड मोर्चाले चैत २४ देखि २६ गतेसम्म देशव्यापी आमहड्ताल आहृवान गरेको छ ।

सहमतिका लागि तयार हुन आहृवान

प्रचण्ड मोर्चाले सहमतिका लागि तयार हुन सत्तारुढ दलहरुलाई आहृवानसमेत गरेको छ । कांग्रेस र एमालेले कात्तिक १७ गतेको नौंबुँदे प्रस्ताव नै मान्न जोड गरेर वार्ता असफल बनाएको ३० दलको आरोप छ ।

सत्तारुढ दलहरु अझै पनि सहमति र ऐतिहासिक सम्झौताका आधारमा निर्माण निर्माणका विरुद्ध रहेको भन्दै प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘यतिबेला हाम्रा लागि सहमतिका आधारमा संविधान निर्माण गर्ने घोषित उद्देश्यलाई केन्द्रमा राखी आन्दोलनको अर्को चरणको कार्यक्रम घोषणा गर्नु बाध्यता र आवश्यकता बनेको छ ।’

प्रचण्ड मोर्चाले सहमतिमा जोड दिँदै कांग्रेस र एमाले तयार नभए आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयंम हुने चेतावनीसमेत दिएको छ ।

निर्णय दूर्भाग्यपूर्ण

तर, सत्तारुढ दलहरुले भने वार्ता र सहमतिको प्रयास जारी रहँदा आन्दोलनको घोषणा गरेको भन्दै दूर्भाग्यपूर्ण भनेको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरस्ाँग भने-‘यो दूर्भाग्यपूर्ण हो । वार्ताको प्रयास भइरहनुका साथै संविधानसभाको बैठक एक महिनादेखि स्थगित हुँदा फेरि दबावका लागि आन्दोलन घोषणा गर्नु अनुचित हो ।’ आन्दोलनले सहमतिको गन्तव्यमा नपुर्‍याउने र द्वन्द्वमात्र बढाउने उनले बताए ।

सत्तारुढ दलहरुले नै वार्ता असफल बनाएको प्रचण्ड मोर्चाको आरोपबारे सोधिएको प्रश्नमा उनले नौंबुँदे स्वीकार गर्न नभइ सहमतिको आधार बनाउन भनेको बताए । आफूले भनेको जस्तो भएन भने संविधान नै बन्न दिन्न भनेर विपक्षी मोर्चाको रणनीति रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment