Comments Add Comment

अब शीर्ष नेताको मुख हेर्दिँन

सुवासचन्द्र नेम्वाङ, सभाध्यक्ष

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ सबैको हुन खोज्दा कसैको नहुने चेपुवाको अवस्थामा छन् । एकातिर कांग्रेस एमालेले संविधान निर्माणको प्रक्रिया शुरु गर्न संविधानसभा बैठक बोलाउन उनलाई दबाव दिइरहेका छन् । अर्कातिर विपक्षी मोर्चाले सहमति नभई संविधानसभा बैठक बोलाए संविधानसभा नै छाडेर हिड्ने धम्की दिएको छ ।

यो बिलखबन्दको अवस्थामै नेम्वाङले बुधबार प्रमुख दलका शीर्ष नेताहरुलाई आफ्नो च्याम्बरमा बोलाए । नेम्वाङले विपक्षी मोर्चाको घोषित दोस्रो चरणको आन्दोलन शुरु हुनुअघि नै सहमति गर्न विभिन्न विकल्पहरु पनि दिए । तैपनि नेम्वाङ अब लामो अवधिसम्म संविधानसभा बैठक नबोलाई बस्न सक्ने अवस्थामा छैनन् । अब के हुन्छ त ? सभाध्यक्ष नेम्वाङले अब कसरी आफ्नो भूमिका प्रस्तुत गर्छन् ? अनलाइनखबरका लागि मात्रिका पाैडेलले नेम्वाङसँग गरेको कुराकानी :

Subash-Nembang

विपक्षी मोर्चाले आम हड्तालसहित अवज्ञा आन्दोलन गर्ने, तपाईले चाहिँ संविधानसभा बैठक बोलाएर धमाधम संविधान जारी गर्ने कुराले त देश मूठभेडमा जाने भयो होइन ?

– यो कुरा त, दलका नेताहरुले सोच्नुपर्ने हो । संविधानसभा अनन्तकालसम्म स्थगित हुन सक्दैन । दलहरुले नै सहमतिबाट बनाएको अन्तरिम संविधान, संविधानसभा नियमावली र उहाँहरुले नै स्थापित गरेको मान्यताअनुसार संविधानसभा अघि बढ्नुपर्छ । देशलाई मूठभेडमा जान नदिन नेताहरुले जनता र देशप्रति जिम्मेवार भएर सोच्नुहोस् भनेर मैले बारम्बार भनिरहेको छु । मैले गर्न सक्ने ठाउँबाट गरिरहेको छु । तर, उहाँहरु गम्भीर हुनुपर्‍यो ।

तपाईले नेताहरुसँग नजिकबाट संगत गर्नुभएको छ, माघ ११ पछि विपक्षी मोर्चाले तपाईसँग चित्त दुखाए पनि अहिले फेरि संवादमा हुनुहुन्छ, अहिलेसम्म सत्तापक्ष र विपक्षको मनोविज्ञान बुझ्दा संकेत कस्तो छ ?

– मैले त्यति राम्रो संकेत देखेको छैन । उहाँहरुमा सहमति नभएको कुरा खासै केही देखिँदैन । तर, सहमति गर्न पनि चाहानुहुन्न । म यो वा ऊ पक्ष भनेर लाञ्छित गर्न चाहान्न । तर, नेताहरुले नचाहेका कारण सहमति नभएको हो । मुलुक मूठभेडमा जाने खतरा मैले देखिरहेको छु । विपक्षी मोर्चाको आन्दोलनको कार्यक्रम हेर्दा मलाई त्यस्तो लागिरहेको छ ।

यस्तो अवस्था आउन नदिन दुवै पक्ष गम्भीर बन्नुपर्ने हो । मैले उहाँहरुलाई फागुन ११ अघि नै सहमति गर्नुस् भनेको छु ।

शीर्षनेताले चैत ११ सम्म सहमति गर्नुभएन भने संविधानसभाको बैठक बोलाउने हो ?

मैले अघि नै भनिसकेँ, दलहरुबीच सहमति होस् भनेर संविधानसभाका बैठक अनिश्चितकालका लागि स्थगित छ । दलहरु र नागरिक समाजकै आग्रहमा मैले संविधानसभाको बैठक एक महिनाभन्दा बढी समयदेखि स्थगित गरेको हो । यसअघि पनि मैले सहमतिकै लागि समय दिँदै आएको हो । तर, उहाँहरुले सहमति गर्न सक्नुभएन । दुईघण्टामा सहमति गछौर्ं भन्ने नेताहरु, चुड्किका भरमा सहमति हुन्छ भन्ने नेताहरु किन असफल हुनुभयो ? यो रहस्यमय छ । किन उहाँहरुले चुड्की बजाउन सक्नुभएन म अचम्ममा परेको छ । जनतालाई मलाई सोधिरहेका छन्, कहिलेसम्म पर्खिने ? मैले त जनतालाई जवाफ दिनुपर्छ । संविधानसभालाई अनिश्चितकालसम्म रोकेर राख्न त मिल्दैन ।

ठीक छ, तपाईले संविधानसभा बैठक बोलाउनुहोला, संविधान निर्माणको प्रक्रिया पनि शुरु हुन्छ । तर, विपक्षी मोर्चा जसले आफूलाई परिवर्तनकारी शक्ति भनिरहेको छ, त्यो शक्तिलाई बाहिर राखेर बोलाउने बैठक र बन्ने संविधानको के औचित्य होला ?

– संविधानसभाको बैठक आह्वान गर्दा कुन दल आउँछन् वा आउँदैनन्, को-को सभासद आउनुहुन्न भन्ने कुरा मलाई थाहा हुँदैन । नियम कानुनअनुसार बैठक बोलाउने हो । तर, सहमतिको विकल्प त छैन । सहमतिका लागि मैले उहाँहरुलाई अधिकतम समय पनि दिएको छु । उहाँहरुले यस बीचमा पनि सहमति गर्नुहोस् भन्ने मेरो शुभेच्छा छ । मैले के सहयोग गर्नुपर्छ, गर्न तयार छु ।

एकातिर विपक्षी मोर्चाले संविधानसभा बैठक डाक्न नदिने, अर्कोतिर सत्तापक्षले बैठक बोलाउन दबाव दिने, तपाई त कतैको पनि नहुने देखियो त होइन ?

– यो कुरा मलाई राम्रोसँग हेक्का छ । मैले बैठक बोलाउँदा वा स्थगित गर्दा कसैको अनुहार हेरेर निर्णय गर्दिँन । व्यक्तिको वा दलको अनुहार हेरेर मैले काम गर्दिँन । संविधान, नियम र स्थापित अभ्यासबाहेक मैले दायाँ-बायाँ गर्न मिल्दैन । त्यसो गर्दा मैले सुशील कोइराला, केपी ओली, प्रचण्ड वा विजय गच्छदार कसैको पनि अनुहार हेर्दिँन ।

तपाईले संविधानसभा अध्यक्षको कुर्सीमा बसेर सहमति गर मात्र भन्ने हो कि, विषयमा सहमति जुटाउन केही आइडिया पनि दिने हो ?

– मैले निरन्तर सहमतिको प्रयास गरेको छु । माघ ५ गते मेरै पहलमा सहमति हुन लागेको हो । बिजय गच्छदारजीको मध्यमार्गी प्रस्ताव पनि मेरै पहलमा सहमतिका लागि ल्याइएको थियो । मैले सहमतिका लागि दलका नेताहरुलाई धेरै प्रस्तावहरु दिएको हुँ । विषयमै सहमति जुटाउनका लागि पनि मैले उहाँहरुलाई उपाय दिएँ । तर, उहाँहरुले मान्नुभएन ।

तपाईले नेताहरुलाई अन्य उपाय पनि दिएँ भन्नुभयो, के हो त्यो उपाय ? जनतलाई बताउन मिल्दैन ?

– दलहरुबीच संघीयताको विषयमा बाहेक अन्य चार विषयमा विवाद टुंगिसकेको थियो । निर्वाचन प्रणाली, न्याय प्रणाली शासकीयस्वरुप जस्ता विषयमा सहमति भइसकेकाले ती विषयलाई मस्यौदाका प्रक्रियामा लैजाउँ । मस्यौदाको काम हुँदै गर्छ, प्रदेश विभाजन र नामाकरणको विषयमा छलफल गर्दै जाँदा एउटा निष्कर्ष निस्कन्छ भनेर मैले भनेको हो । त्यसो गर्दा विवाद साँघुरिने थियो । तर, त्यसतर्फ पनि उहाँहरुले गम्भीरता देखाउनुभएन ।

तपाईले प्रमुख दलका शीर्षनेताहरुलाई एकै ठाउँमा राखेर छलफल पनि गर्नुभयो, उहाँहरुको बडी ल्याङ्वेज कस्तो छ सहमतिका लागि ?

– मैले भने नि, दलहरुका बीचमा नमिल्नुपर्ने खास कुरै छैनन् । तर, मिल्न चाहानुभएकै छैन । कुरा अत्यन्त राम्रा गर्नुहुन्छ । तर, किन हो उहाँहरुमा सहमति गरेर संविधान जारी गरौं भन्ने इच्छाशक्ति नै छैन । मैले उहाँहरुलाई भनें-अब सहमति गर्ने कि नगर्ने ? सहमति गर्ने हो भने कहिलेसम्म गर्ने ? जनतालाई जवाफ दिनुस् । हुन त उहाँहरुले गम्भीरतापूर्वक कुरा राख्नुभएको छ । सहमति गर्छौं पनि भन्नुभएको छ । तर, विश्वास गर्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment