फिलिप हृयूजको सम्झनामा आयोजित खेल खेल्न अष्ट्रेलियन क्रिकेटर रायन कार्टर नेपाल आए । कीर्तिपुर मैदानमा भएको खेलमा उनको कप्तानीमा रहेको रेड टीमले ब्लुमाथि एक रनको रोमान्चक जित हात पार्यो ।
खेलका क्रममा मैदानमा दर्शकको उपस्थिति उनीहरुका लागि आकर्षणको केन्द्र थियो । अष्ट्रेलियन क्रिकेट कार्टरसँग राजकुमार श्रेष्ठले गरेको संक्षिप्त कुराकानी ।
तपाई पहिलो पटक नेपाल आउनु भएको छ । कस्तो लाग्यो ?
– निकै राम्रो रहृयो, धैरले कारणले । फिलिप हृयूजप्रति श्रद्धान्जली दिन खेल आयोजना गरेर क्रिकेट एशोसिएशन अफ नेपालले निकै सराहनीय काम गरेको छ । म र मेरो टीमका सदस्यहरुका लागि यो निकै भावुक र अर्थपूर्ण दिन रहृयो ।
त्यही समयमा निकै रमाइलो क्षण पनि रहृयो । नेपाली क्रिकेट समर्थक, जो १०/१५ हजारको संख्यामा थिए । खेलका क्रममा अन्तिम ओभरको क्षण पनि निकै रमाइलो रहृयो ।
हामीले हिजो विहान माउन्टेन फ्लाइट पनि गर्याैं । नेपाललार्इ विश्वले जसका कारण चिन्छन्, सगरमाथा ।
कीर्तिपुरमा हजारौंको संख्यामा क्रिकेट समर्थकहरुको उपस्थितिले कस्तो महसुस भयो ?
-मैले मैदानमा क्रिकेट सर्मथकहरुको प्यासन देखेँ । मैले उनीहरुको आवाज सुनेँ । मैले नेपालका मानिसहरुले क्रिकेटलाई कति मन पराउँछन् भन्ने देखेँ । र, मलाई आशा छ कि आवश्यक श्रोत र साधन पायो भने नेपाल वास्तवमै क्रिकेटको पावर हाउस बन्न सक्छ ।
तपाईले यसअघि कहिल्यै नेपालको खेल हेर्नुभएको थियो ?
-टीभीमा हेरेको थिएँ । टी-२० विश्वकपका क्रममा मैले नेपालको खेल हेर्ने मौका पाएको थिएँ ।
नेपाली खेलाडीहरुसँग कीर्तिपुरमा खेल्नुभयो । के भन्नुहुन्छ नेपाली क्रिकेटरबारे ?
-नेपाली क्रिकेटको स्ट्याण्डर छ । धेरै स्किलफुल खेलाडीहरु छन् । टियु मैदानको अवस्था अष्ट्रेलियामा खेलेको जस्तो छैन । नेपाली खेलाडीहरु मैदानसँग परिचित छन्, त्यसको उनीहरुलाई फाइदा रहृयो । खासगरी स्पीनरहरुलाई ।
व्याट्सम्यानहरुले पनि धेरै इनोभेसन (केही नयाँ) देखाए । स्लाप स्वीपका लागि धन्यवाद । मैले पनि नेपाली क्रिकेटरहरुसँग केही सिक्ने मौका पाएँ ।
क्रिकेट अष्ट्रेलियाले अब हरेक वर्ष हृयूजको सम्झनामा नेपालमा खेल गर्ने बताएको छ । तपाई आउनु हुन्छ ?
– म फेरि आउन मन पराउँछु । यो भ्रमणमा हरेक पक्ष राम्रो रहृयो ।
नेपाल क्रिकेट समर्थकहरुलाई के भन्नुहुन्छ ?
– आफ्नो राष्ट्रिय टीमलाई समर्थन जारी राख्नुस् र नेपाली क्रिकेटको विकास होस् ।
प्रतिक्रिया 4