Comments Add Comment

ओली निवासमा ब्राम्हण बाजा र धिमे बाजाको धून

Kp-oli

१ वैशाख, काठमाडौं । आफ्नो जन्मदिन कलाकारहरुलाई घरमा बोलाएर मनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०७२ भने झापा क्रान्तिका सहयोद्धाहरुसँँग मनाएका छन् ।

विभिन्न चाडपर्व र उत्सवमहरुमा केही न केही रमाईलो गर्ने स्वभावका ओलीले नयाँ वर्षको विहानै झापाकालीन आफ्ना राजनीतिक सहयोद्धाहरुलाई घरमै बोलाए ।

२०२८ सालमा सशस्त्र क्रान्ति गर्दाका ओलीका सहयोद्धाहरु सीपी मैनाली, राधाकृष्ण मैनाली, नारद वाग्ले, नरेश खरेल, मनकुमार गौतम लगायतका पूराना झापा कालिन क्रान्तिकारीहरु मंगलबार सबेरै बालकोटस्थित ओली निवास पुगेका थिए ।

ओलीले झापा क्रान्तिदेखिकै सहकर्मी झलनाथ खनाल, युवराज कार्की, घनेन्द्र बस्नेत, मुकुन्द न्यौपाने, देवराज घिमिरे, गौरा प्रसाई लगायतका नेताहरुलाई पनि नयाँ वर्ष मनाउन निवासमा बोलाएका थिए ।

झापामा वर्गशत्रु खत्तम गर्ने अभियानमा सँगै हिडेका पूराना साथीभाइका साथै ओलीले झापा क्रान्तिमा लागेर शहीद भएका सहयोद्धाका परिवार र सँगै जेल बसेका साथीहरुलाई पनि नयाँ वर्ष मनाउन निवासमा बोलाएको स्वकीय सचिव रमेश आचार्यले बताए ।

Jhapa-andolan-leader

शुभकामना साट्ने कार्यक्रममा ओलीका पुराना राजनीतिक सहयात्रीका साथै सुखानीका शहीद वीरेन राजवंशी, नारायण श्रेष्ठ, रामनाथ दाहाल, जीवन मगर लगायतका परिवार सहभागी थिए ।

ओली निवासमा झण्डोत्तोलन

ओलीले आफ्ना झापाली पूराना क्रान्तिकारी सहयोद्धाहरुलाई समेत साथमा लिएर आफ्नो निवासमो छतमा चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा फहाराए ।

Kp-oliनेपालको राष्ट्रिय एकता, सार्वभौभिकता र सामाजिक सद्भाव नयाँ वर्षमा अझ बलियो होस र यो झण्डा जस्तै उच्च होस भनेर झण्डोत्तोलन गरिएको आचार्यले जानकारी दिए ।

सो अवसरमा माले महासचिव सीपी मैनाली लगायत झापा क्रान्तिका सहयात्रीहरुले आफूहरुलाई सम्झिएर नयाँ वर्षमा शुभकामना साट्न बोलाएकोमा ओलीलाई धन्यवाद दिएका थिए ।

ओली लगायतका नेताहरुले आजभन्दा ४४ वर्षअघि आफूहरुले बोकेको संकल्प अझै पनि पूरा हुन बाँकी रहेको भन्दै एकताबद्ध भएर बाँकी संकल्प पूरा गर्न यो वर्ष क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गरे । लामो समयपछि एकै ठाउँमा भेला भएका झापाली पूर्व क्रान्तिकारीहरुले विगतका दुःख सुख, संघर्ष, जेल जीवन, भूमिगत जीवनका बारेमा चर्चा गरेका थिए ।  

ओलीले आफ्नो निवासमा भूमिगत कालमा आफूलाई आश्रय दिने कतिपय सेल्टरदाताहरुलाई समेत निम्त्याएका थिए । कतिपयको भेट वर्षौंपछि ओलीले जुराइदिए ।

चिनियाँ राजदूतका मित्र ओली

ओली निवासमा विक्रम संवतको नयाँ वर्ष मनाउन नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई पनि विहानै बालकोट पुगेका थिए । उनी झण्डोत्तोलन लगायतका कार्यक्रममा सहभागी भए ।

Kp-oli-with-chines-ambesder

उनले ओली लगायतका एमाले नेताहरुलाई नयाँ वर्षको शुभकामना दिँदै तत्कालिन झापाली कम्युनिस्ट क्रान्तिकारीहरुको बारेमा चासोपूर्वक कुरा सुनेका थिए ।  नेपाल निजामति कर्मचारी संगठनले ओली निवासमै आयोजना गरेको शुभकामना कार्यक्रममा पनि राजदूत अतिथीका रुपमा सहभागि थिए ।

ओली निवासमा आयोजना हुने प्रायः औपचारिक अनौपचारिक समारोहमा चिनियाँ राजदूतको सहभागिता रहने गरेको छ । ओलीसँगको व्यक्तिगत मित्रताका कारण उनी जाने गरेको स्रोतले जनाएको छ ।

ओलीको संगीत संग्राहलय

ओलीले नयाँ वर्षको शुभकामना संगीतबाट पनि दिए । उनले आफ्नै निवासमा विभिन्न जातजातिले बजाउने प्राचिन र आधुनिक बाजाहरुको संग्राहलय नै बनाएका छन् ।

ओलीको संगीत संग्राहलयमा प्रायः सबै बाजाहरु रहेको भन्दै हास्य कलाकार मनोज गजुरेलले उनको जन्मदिनमा सिस्नोपानी मार्फत शंख उपहार दिएका थिए ।

नयाँ वर्षको अवसरमा ओलीले आफ्नै संगीत संग्राहलयमा राखिएको दमाहा बजाएर मनोरन्जन दिएका थिए । ओली निवासमै पुगेर भक्तपूरको नेवारी समुदायले धिमे बाजामार्फत शुभकामना दिएको थियो ।

ओली र झापाली पूराना क्रान्तिकारीहरुलाई शुभकामना दिन धादिङको खाल्टेका ब्राम्हणहरु पनि आफ्नो परम्परागत नौमति बाजा सहित बालकोट पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment