Comments Add Comment

प्रधानमन्त्री कोइरालाले भने-पदमा बसिरहन मन छैन

१ वैशाख, रुकुम । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले छिट्टै निकास पाउने बताएका छन् । नयाँ संविधान पाउने बित्तिकै प्रधानमन्त्रीको पद छाड्ने उनले बताए ।

Sushil-Koirala-at-Rukun

  • रुकुममा प्रधानमन्त्री सुशील कोइराला । तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

नयाँ बर्ष २०७२ को अवसरमा मंगलबार रुकुम तकसेरामा आयोजना गरिएको आदिवासी जनजाति कला सांस्कृतिक महोत्सव एवं रुकुम भ्रमण बर्ष उदघाटन गर्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउन सबै पार्टीहरु छलफल गरिरहेका छौं । संविधान आउँछ । विकास आउँछ । कसैले छेक्न सक्दैन ।’

सहमतिमा संविधान बनाउन सबै प्रतिबद्ध भएको उनको भनाइ छ । संविधान जारी भएलगत्तै प्रधानमन्त्री पद छाड्ने उनले स्पष्ट पारे ।

आन्दोलन कसका लागि ?

दलहरुलाई सहमतिमा आउन छोडेर आन्दोलनको कुरा नगर्न उनले सुझाव दिए । लोकतान्त्रिक गणतन्त्र आइसकेकोले कसैको विरुद्ध संघर्ष र आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै उनले भने, ‘राजा गैसके । सबै अधिकार जनताको हातमा आइसक्यो । अब के को द्वन्द्व ! कोसँग झगडा गर्ने हो ?’

प्रकृतिले हामीलाई धेरै धनी बनाएको बताउँदै प्रधानमन्त्रीले त्यसको संरक्षण गरी ठूलो बेरोजगारको समस्या समाधान गर्न सरकार प्रयासरत भएको बताए ।

रुकुमको विकास गर्ने आश्वासन

रुकुमका बिभिन्न क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए । ‘सडक नपुगेका ठाउँहरुमा सडक पुर्‍याउँछौं र सडक निर्माण भइसकेकालाई ग्राभेल गर्छौं,’ प्रधानमन्त्रीले भने ।

आदिवासी कलासंस्कृतिको संरक्षणमा सरकारले जोड दिने प्रधानमन्त्रीले बताए । बिभिन्न विषयका क्याम्पस र विद्यालयहरु पनि रुकुमका दुर्गम गाउँहरुमा पुर्‍याउने प्रधानमन्त्रीले आश्वासन दिए ।

कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकर, पूर्व राज्यमन्त्री गोपालजी जंग शाह, सभासदहरु शशांक कोइराला, मिठू मल्ल, नगेन्द्र कुमाल, गणेशमान पुनलगायतले मन्तब्य राखेका थिए ।

रुकुम भ्रमण बर्ष सुरु

रुकुम सदरमुकामदेखि ४ दिनको पैदल दुरीमा रहेको तकसेरामा नयाँ बर्षको पहिलो दिन अर्थात ०७२ बैशाख १ गते आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना गरिएको हो । रुकुमको पूर्वी क्षेत्रमा रहेको मगर बस्ती र मगर संस्कृतिको प्रचार प्रसार गरी पर्यटकीय जिल्ला बनाउनका लागि महोत्सव आयोजना गरिएको आयोजक समिति संयोजक पहलसिंह घर्तीले बताए ।

०७२ वैशाख १ गतेदेखि ५ गतेसम्म महोत्सव सञ्चालन हुने छ । महोत्सवमा स्थानीय संस्कृति झल्कने नाचहरु तथा खेल प्रतियोगिता आयोजना गरिएको छ ।

 – धनवीर दाहालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment