Comments Add Comment

बलात्कार आरोपी भन्छन् : पुरुषले यो देशमा बाँच्न नपाउने ?

अमृत थेबे

सिंगापुर पुलिस फोर्समा १८ वर्ष सेवा गरेपछि आफ्नै देशमा केही गरौं भनेर फर्किएँ । मेनपावर, सहकारीलगायतका व्यवसायमा हात हालेर दुई चार सयलाई रोजगारी दिएँ । तिनैमध्येकी एक थिइन् प्रविना मगर (नाम परिवर्तन) । डेढ दुई वर्षअघि केही समय काम गरेर उनी अचानक गायव भएकी थिइन् ।

अमृत थेवे र पत्नी अनु स्पष्टीकरण दिँदै
अमृत थेवे र पत्नी अनु स्पष्टीकरण दिँदै

कार्यालयमा चिया पकाउने पियन को आउँछ, को जान्छ, मलाई थाहा हुने कुरा पनि भएन । उनले पछि मेरी श्रीमतीलाई फोन गरेर श्रीमानले दुःख दियो, कुन दिन मार्छ थाहा छैन, सँगै बस्न नसक्ने भएँ, मेरो ज्यान पनि बचाइदिनुपरो, जागिर पनि चाहियो भनेर फोन गरिछन् । मैले मेरी श्रीमतीले उनीहरुको पारिवारिक कुरामा पर्नु हुँदैन, काम चाहिएको हो भने पहिले पनि गरेकी केटी हो, बोलाए हुन्छ भनेँ ।

एक डेढ महिनाअघि झोला कुम्लो नै बोकेर प्रविना हाम्रो घरमा आइपुगिछन् । श्रीमानसँग बस्न नसकेर आएकी भनिन् । मैले उनलाई भनेँ- ठिकै छ, तिमी काम गर राम्रोसँग । तर तिम्रो पारिवारिक मामिला हामीलाई नभन, यदि कानुनी सहयोग चाहिन्छ, डिभोर्स गर्ने हो भने सघाउँला भनें ।

त्यो राति मैले नियमितजस्तै एक दुई पेग ह्वीस्की पिएँ । प्रविनाले अनलाइनखबरमा मैले उसको हातबाट पेग थपेको भनेको छ, तर त्यो सरासर गलत हो । मैले आफ्नी श्रीमतीको हातबाट मात्रै पिउँछु जहिले पनि । राति साढे ९ बजेतिर हामी बच्चासहित सुत्न गयौं । भोलिपल्ट म ७ बजे उठ्दा मेरी श्रीमतीले भनिन् प्रबिना त छैन । उसको फोन सम्पर्क हुन सकेन । राति नै हिँडिसकेकी जस्तो लाग्यो । हामीले चासो राखेनौं ।

मैले उनलाई बलात्कार त के, छोएको पनि छैन आजसम्म । मलाई लाग्छ पैसाका लागि यो सबै भएको हो

त्यो राति मेरी सासू पनि हाम्रै घरमा हुनुहुन्थ्यो । सासूलाई पुर्‍याउन साँगा गएँ । साँगाबाट गाडीमा फर्किंदै गर्दा मलाई महाराजगञ्ज प्रहरी चौकीमा मेरो बाइक पक्राउ परेको फोन आयो । बाइक ‘मोडिफाइ’ गरेर भाइले चलाएकाले प्रहरीले नियन्त्रणमा लिएको रहेछ । प्रहरी चौकीमा गएर सबैसँग गफगाफ भयो । उहाँहरुले एकपटकलाई छाड्छौं, तर तपाई मोडिफाइ हटाउनुपर्‍यो भने । मैले हुन्छ भनेर निस्केँ । छेउको युनिभर्सल क्याफेमा कफी खायौं । कफी खाएर निस्कँदै गर्दा फेरि खबर आयो, चौकीभित्र बोलाएको छ भनेर । चौकीतिर जाँदै थिएँ, त्यहा अगाडि प्रविना एउटा केटासँग देखिइन् ।

मैले उनलाई सोधेँ- तिमी किन घरबाट अस्ति राति नै भागेको ? केही समस्या छ भने भन है । तर, ऊ घोसेमुन्टो लगाएर बसी, केही पनि छैन भनेपछि म चौकीतिर अघि बढेँ । चौकीभित्र जाँदा डीएसपी सानुराम भट्टराईले, सर तपाईमाथि बलात्कारको अभियोगमा उजुरी परेको छ भन्दा म त छाँगाबाट खसेँ । बलात्कारको अभियोग तिनै प्रविनाले लगाएकी रहछिन् ।

मैले ठिकै छ, यस्तो अभियोग हो भने अब मलाई थुन्नुस् भनें । उहाँहरुरुले हत्कडी लगाउनुभयो, मैले मेरी श्रीमतीलाई बोलाएँ । श्रीमती आएपछि प्रविनालाई पनि बोलाउनुस् भनेँ । मेरी श्रीमतीले धेरैपटक सोधिन् । तर, उनी घोसेमुन्टो लगाएर बसिन् । अघि नै भनिसकेँ भन्दै केही बोल्दै बोलिनन् ।

amrit-thebeत्यसपछि मेरो जिन्दगी अन्धकार बन्यो । २७ दिनसम्म बिना अपराध हत्कडी लगाएर राखियो । म सत्य थिएँ, त्यसैले न्याय पाउँछु भन्नेमा ढुक्क भएर बसेँ । मैले उनलाई बलात्कार त के, छोएको पनि छैन आजसम्म । मलाई लाग्छ पैसाका लागि यो सबै भएको हो ।

उनका श्रीमान होटलमा फसेर धेरै पैसा ऋणमा परेको र श्रीमतीसँग अलग थियो रे । पछि निकै ठूलो साजिस रचेर मसँगै पैसा असुल्न यस्तो गरेको हो जस्तो लाग्छ । यसमा अलिकति राजनीति पनि मिसिएको छ, यो कुरा पनि पछि खुलाउनेछु ।

मैले अदालतबाट शुरुवाती न्याय पाएँ । मेडिकल रिपोर्ट, प्रविनाको बयान लगायतका धेरै कुराले गर्दा पनि म निर्दोष सावित भएँ । प्रविनाले पटक-पटक बयान फेरेकी छन् । उनले कतै बलात्कार भयो भनेकी छन्, कतै शरीरमा समातेको भनेकी छन् । बलात्कारको आरोप कतैबाट पनि पुष्टि हुँदैन । तर, उनीहरुले मिडियाबाट मलाई सिध्याउन खोजे । मिडिया प्रयोग गरेर न्यायाधीशलाई समेत संकटमा पारे ।

अनलाइनखबरमा प्रविनाको वयान आएपछि मैले अब आफ्नो भनाइ सार्वजनिक गर्नैपर्छ भन्ने लाग्यो । यो देशमा पुरुषले बाँच्न नपाउने हो कि जस्तो लाग्यो । महिलाले जे भने पनि कानुनले उनको भनाइलाई आधार मान्ने, मिडियाले पनि महिलालाई मात्रै पीडित देख्ने हो भने पुरुषका लागि कानुन छैन त ?

(हेर्नुहोस् : के भनेकी थिइन प्रविनाले ? )

मलाई आज नखाएको विष जसरी लगाउन खोजिएको छ, भोलि यो अन्य जोसुकै पुरुषलाई पनि पर्न सक्छ । पैसाका लागि केटीले बार्गेनिङ गर्ने र बलात्कारको आरोप लगाउने हो भने कोही पनि सुरक्षित हुँदैनन् यो देशमा ।

म आज सिंगापुर जस्तो स्वर्ग छाडेर यो देशमा किन आएँ भनेर पश्चातापले जलेर बसेको छु । मलाई न्याय चाहियो, अनलाइनखबरबाट मेरो पनि सफाइजस्ताको तस्तै आउनुपर्‍यो ।

ममाथि भएको अन्याय, मेरो चरित्रहत्या र क्षतिपूर्ति कसले दिन्छ ? म सत्य छु, तर, मैले एउटी गरीव केटीलाई जागिर दिनु नै अभिशाप बन्यो । त्यही केटी मेरो जीवन सिध्याउन उसको श्रीमान र केही व्यक्तिबाट प्रयोग भएकाले मिडिया प्रयोग नहुन् भन्ने आग्रह छ ।

(अनु कार्की थेबे, -अमृतकी पत्नी)

anu-karki-thebe

मेरा श्रीमानमाथि आज जुन अकल्पनीय अभियोग लाग्यो, यसको कारण मै हुँ जस्तो लागेर पश्चातापमा जलिरहेकी छु ।

त्यो प्रबिनाले पटक-पटक मलाई मेरा श्रीमानले मार्ने भयो, पैसाका लागि उसले जे पनि गर्छ, म्याडम मलाई जागिर चाहियो, म झोला बोकेर हजुरको घरमा आउँछु भनेपछि दया जाग्यो । तर, उसको नियत त्यतिसम्म अपराधिक होला भन्ने सोचेकै थिइँन ।

पहिले पनि घरमा र अफिसमा काम गरेको हुनाले आऊ त भनेँ । तर, आएकै दिन उसले हाम्रो सुन्दर परिवार सखाप पारी । त्यो राति उसलाई मैले उसले गर्नुपर्ने कामको बारेमा सम्झाएँ ।

उसले आरोप लगाएको भनिएको त्यो रात मेरा श्रीमान र बच्चासँगै म सुतेकी हुँ । जसरी उसले राति बैठक कोठामा साढे ९ बजे बलात्कार भयो भनेकी छ, त्योबेला मेरा श्रीमान मसँगै सुतिरहनुभएको थियो ।

म राति पनि बच्चाका कारण उठिरहनुपर्छ । पटक-पटक उठ्दा मेरा श्रीमान मस्त निदाइरहनुभएको थियो । उसले दाबी गरेजस्तो केही होइन । यदि उसलाई बलात्कार भएको थियो भने मलाई उसले उठाउन सक्थी । कुनै पनि महिलाले आफ्नो श्रीमानले अरु केटीसँग सेक्स गरेको कल्पना पनि गर्न सक्दैनन् । अझ घरमै नोकर्नीलाई बलात्कारको घटना म कसरी लुकाउँथे । उसले मसँग पटक-पटक पैसा मागेकी थिई । धेरै ऋणमा डुबेका छौं, पैसा नहुने हो भने मलाई लोग्नेले मार्छ भन्थी ।

पैसाकै लागि यो चक्रव्यूह रचेको हो जस्तो लागेको छ । वास्तवमा केटी मान्छेले मलाई बलात्कार गर्‍यो भन्नासाथ ऊ पीडित हुने हो भने अब नेपालमा कोही पनि पुरुष सुरक्षित हुँदैनन् । त्यो राति मेरी आमा पनि हाम्रै घरमा हुनुहुन्थ्यो ।

उसले बिहान घर गएँ भनेकी छ, उसको श्रीमानले राति नै आएकी भनेको छ, उनीहरुको कुरा आफैंमा बाझिएको छ । यो सरासर मेरो श्रीमानलाई फसाउने नियत हो । हामीमाथि घोर अन्याय भएको छ ।

(बच्चासहित अनलाइनखबरमा अाएका थेेवे दम्पत्तीसँग मात्रिका पौडेलले गरेको कुराकानीमा अाधारित)

यो पनि पढ्नुहोस्

प्रविना भन्छिन्- धराैटीमा ‘बलात्कारी’ छाड्ने कुन एेनमा छ श्रीमान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment