Comments Add Comment

अस्पतालका फोहोर चाँडो व्यवस्थापन गरियोस्

डा. बासुदेव पाण्डे

उपत्यकाका अस्पतालहरुमा फोहोर थुप्रिनुका साथै खानेपानीको संकट देखिएको छ । ललितपुरका केही गाउँबाट पखालाका विरामी पाटन अस्पताल आउन थालेका छन् । तत्कालै फोहोर व्यवस्थापन नगरिए संक्रमण फैलन सक्ने डाक्टरहरुले बताएका छन् ।

सरुवा रोग विशेषज्ञसमेत रहेका स्वास्थ्य विभाग कुष्टरोग महाशाखाका नवनियुक्त निर्देशक डा. वासुदेव पाण्डेले अनलाइनखबरसँग भने- ‘पाटन अस्पतालमा धेरैजसो हरिसिद्धी, गोदावरी र लुभुतिरबाट पखालाका विरामीहरु आएका रहेछन् । अस्पतालमा पानीको अभावले निकै गाह्रो भइरहेको छ । पानीको गाह्रो पर्‍यो र फोहोर उठाउने मान्छे नआइदिँदा त्यसबाट रोगहरु बढ्न सक्ने समस्या देखियो ।’

यस्तो विपतका बेलामा ध्यान दिनुपर्ने कुराहरु के हुन सक्छन् भन्नेबारे अनलाइनखबरले पाण्डेसँग गरेको छोटो कुराकानीः

After Earth Quake (32)

तपाईहरुले राजधानीका केही अस्पतालको निरीक्षण गर्नुभयो होला, अहिले त्यहाँको अवस्था के छ ?

स्वास्थ्य मन्त्रालयले विभिन्न हब बनाएर कहाँ कसले हेर्ने छुट्याएको छ । मैले पाटन, बीएण्डबी र ग्वार्काेस्थित किष्ट अस्पतालमा गएको थिएँ । त्यहाँ सबै बिरामीलाई उहाँहरुले राम्रोसँग उपचार गर्नुभएको छ । बिरामीलाई राख्ने तरिका पनि च्यानलाइज्ड गर्नुभएको छ । अलि सिरियस बिरामीहरुलाई अप्रेशन कक्षमा राख्नुभएको छ ।

ती अस्पतालमा के कस्ता समस्या देखिए ?

त्यहाँ शवहरु धेरै भएकाले गन्हाउने समस्या अलि बढी थियो, अहिले त शवहरु क्लियर भइसक्यो । दुई/तीनवटा मात्रै बाँकी रहेछन् ।

तर, उहाँहरुले के भन्नुभएको छ भने अस्पतालहरुमा पानीको अभावले निकै गाह्रो भइरहेको छ । पानीको गाह्रो पर्‍यो र फोहोर उठाउने मान्छे नआइदिँदा त्यसबाट रोगहरु बढ्न सक्ने समस्या देखियो । अस्पतालमा धेरै बिरामीहरु छन्, खुट्टा राख्ने ठाउँ छैन । जसले गर्दा बिरामीहरुलाई रुघाखोकी लाग्ने अवस्था छ । बिरामीहरुलाई बाहिरै राख्नुभएको छ, चिसो छ ।

किष्ट अस्पताल भत्किने अवस्था भएको रहेछ, भित्रै उपचार गरौं भन्दा बिरामीहरु जान मान्दैनन् । यसरी विभिन्नखालका समस्या देखियो । अस्पताल चर्केर भित्र बस्न सक्ने अवस्था रहेनछ । बिरामीहरु बाहिरै बस्ने, भित्र जान नमान्ने ।

कतिपय शवहरु निकाल्ने कोशिश भइरहेको छ, कतिपय निकाल्न नसक्ने अवस्था पनि छ । यसले गर्दाखेरि छिटै दुर्गन्ध फैलने र पानीको स्रोत पनि दुषित हुने सम्भावना हुन्छ । हावाबाट पनि धेरैखालका गन्ध र रोगहरु आउन सक्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा धेरैखालका रोगहरु फैलन सक्छन् ।

यस्तोबेलामा कस्तो रोग लाग्न सक्छ ?

यसबाट रुखाखोकी लगायतका छिटै सर्ने रोगहरु लाग्न सक्छन् । जण्डिस, टाइफाइड आदिको पनि सम्भावना हुन्छ ।

यस्तो खतराबाट जोगिन के-के गर्नुपर्छ ?

जसलाई रुघाखोकी लागेको छ, उसलाई समूहबाट छुट्याएर राख्नुपर्छ । माक्स लगाउनुपर्‍यो । त्यस्तो व्यक्तिले समूहमा नबसी छुटि्एर बस्नुपर्‍यो । झोलकुरा खाने, हात धुने इत्यादि जुन प्रोसेसहरु, हामीले भनिराख्ने जुन कुराहरु छन्, त्यसलाई ख्याल गर्नुर्‍यो । मिडियाबाट राम्रोसँग भनिदिनुपर्‍यो ।

यस्तो बेलामा रुघाखोकीबाहेक अरु रोगहरु पनि लाग्न सक्छन् ?

हैजा, डिसेन्ट्री, झडापखाला धेरै फैलन सक्ने सम्भावना छ, अलिकति लक्षण पनि देखिन थालिसकेको छ । यसबाट बच्नका लागि सकेसम्म पानी उमालेर खानुपर्‍यो । उमालेर खान सकिएन भने सफा पानी पिउनुपर्‍यो । दुर्गन्ध फैलिएको ठाउँमा सफाइ गर्नुपर्‍यो । दुर्गन्घ हटाउने र पानीको मुहानलाई सफा राख्ने मुख्य गरेर हात धुनुपर्‍यो । पखाला लाग्यो भने जीवनजल खुवाउने, भएन भने अस्पतालमा जानुपर्ने हुन्छ ।

सरुवा रोगका लक्षण देखिन थालिसक्यो भन्नुभयो, राजधानीमै हो कि कुन जिल्लामा यस्तो लक्षण देखियो ?

राजधानीभित्रै हो । जस्तै, पाटन अस्पतालमा यस्तो सम्भावना भएको हुनाले हामीले बेग्लै वार्ड नै बनाउन लाग्यौं भन्नुभयो । त्यहाँ धेरैजसो हरिसिद्धीबाट, गोदावरीबाट लुभुबाट पखालाका विरामीहरु आएका रहेछन् ।

उसोभए सरकारले सबैभन्दा पहिले अस्पताल र अन्य ठाउँमा पानीको व्यवस्था गर्न र फोहोर उठाउन लगाउनुपर्ने रहेछ हैन ?

सरकार त हामी आफैं हो, हामी आफैंले गर्नुपर्छ । सक्दो गरिराखेका छौं । तर, फोहोर व्यवस्थापन र पानीको आपूर्ति तत्काल गर्नुपर्छ । धेरै मन्त्रालयको समन्वयमा काम हुनुपर्ने, काम पनि भइराखेको छ । यत्रो ठूलो घटना भएकाले कमीकमजोरी भयो होला, खानेपानी तथा सरसफाइको छुट्टै मन्त्रालय छ । हाम्रो स्वास्थ्यको प्रवक्तै हुनुहुन्छ, उहाँहरुले भन्नुहोला । सबैले समन्वय गरेर खानेपानी राम्रोसँग दिनुपर्‍यो ।

क्याम्पमा धेरै मान्छे बस्नुभएको छ, त्यहाँ ट्वाइलेट छैन, जतासुकै फोहोर छ । यसले समस्या ल्याउन सक्छ । खानेपानी र फोहोर व्यवस्थापन तत्कालै सबै जिल्लामा गर्नुपर्छ । यसलाई हाम्रो सञ्चार माध्यमले पनि सचेत गर्नुपर्‍यो । यसका लागि पम्प्लेट वितरण गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment