- भूकम्पपछि विश्वको सर्बोच्च शिखर सगरमाथाको आधार शिविरको दृष्य । तस्वीर : रोयटर्स
नविन अर्याल
१६ वैशाख, काठमाडौं । भूकम्पका कारण केही समस्या देखिए पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण नरोकिने भएको छ । सगरमाथा आरोहण गर्ने बाटोमा भूकम्पको प्रभाव कम परेको हुँदा आरोहण नरोकिने भएको हो ।
अहिले सगरमाथा बेसक्याम्पमा ४२ समूह सगरमाथा आरोहणका लागि अनुकूल समय कुरेर बसिरहेका छन् । हिमाल आरोहणका लागि मे महिनाको दोस्रो हप्ता र अन्तिम हप्ता उपयु्क्त मानिन्छ ।
‘आगामी हप्तादेखि सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु गर्छौं’ पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले भने- ‘छिटोभन्दा छिटो बाटो तयार गरी आरोहीलाई सगरमाथाको बाटो सोझ्याउन भन्छौं ।’
सगरमाथा पोलुसन कन्ट्रोल कमिसन (एसपीसीसी)ले सगरमाथा आरोहणका लागि बाटो बनाउने जिम्मा पाएको छ । उसले डोरी टाँगेर बाटो बनाउने काम गर्छ । भुईंचालोका कारण हिउँ पहिरो गएपछि बाटो बिग्रिएको छ ।
यही भुईंचालोका कारण बेस क्याम्पमा १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १४ जना नेपाली रहेका छन् भने ४ जना विदेशी रहेका छन् । विदेशीमा २ जना अमेरिकन, एकजना अष्ट्रेलियन र एकजना चाइनिज रहेका छन् । हिमपहिरोका कारण ६१ जना घाइते भएका छन् ।
हिम पहिरोको जोखिम बढेपछि सरकारले पहिलो शिविर र दोस्रो शिविरमा रहेका २१० जना आरोहीलाई तल झारेको छ । हेलिकप्टरबाट एउटा उडानमा दुई जनाका दरले तल झारेको महानिर्देशक गौतमले बताए ।
आरोहीहरुको सम्पूर्ण सामाग्री भने शिविरमै रहेको बताइएको छ । बाटो बनाएर अनुकुल समय हुनेवित्तिकै आरोहीहरुलाई शिविरतर्फ लगिने एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेञ्चर्सका को-अर्डिनेटर कृष्ण अर्यालले अनलाइनखबरलाई बताए ।
‘भूकम्प नगएको भए पनि यो समयमा सगरमाथा आरोहण गर्ने भन्ने हुँदैनथ्यो, अहिलेको समय भनेको अप एन्ड डाउन गर्दै प्राक्टिस गर्ने हो’ अर्यालले भने- ‘भूकम्प र अनुकूल मौसमका कारण हिमाल चढ्न नसकेर आरोही फर्किन लागेको भन्ने कुरा गलत हो ।’
आगामी हप्तादेखि डोरी टाँगेर बाटो बनाउन एसपीसीसीलाई निर्देशन दिने महानिर्देशक गौतमले जानकारी दिए । विदेशबाट डोरी ल्याएर टाङ्नुपर्ने हुँदा यो निकै महंगो पनि हुने गर्छ ।
‘एउटा आरोहीले डोरी टाँगिएको बाटो प्रयोग गरेवापत ६ सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ’ अर्याल भन्छन्- ‘एक सिजनमा डोरीबाट मात्र २ करोडको हाराहारीमा पैसा उठ्नेगर्छ ।
आफूहरुको काम छिटोभन्दा छिटो बाटो बनाएर आरोहण खुल्ला गरिदिने र तल झरेका आरोहीलाई शिविरमा पुग्न हेलिकप्टर चाहिएर उपलब्ध गराउने भएको बताउँदै महानिर्देशक गौतमले सकेसम्म सबै टिमलाई सगरमाथाको सफल आरोहण गराउने लक्ष्य रहेको सुनाए ।
अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि ३१ टिम सहभागी थिए । आरोहणका क्रममा हिम पहिरो गएर २२ जनाको मृत्यू भएपछि आरोहणमा रोक लगाइएका थियो । यस वर्षपनि भूकम्पका कारण यो हप्ताभरि काम रोकिएको गौतम बताउँछन् ।
सगरमाथा आरोहणका लागि सक्रिय सहभागिता रहेको बताउँदै महानिर्देशक गौतमले प्राकृतिक विपत्ति आउँदैमा आरोहणमा विकर्षण पैदा नहुने ठोकुवा गरे । बेसक्याम्पमा रहेका आरोहीले छिटो बाटो बनाइदिनुस्, हामी आरोहणका लागि तयार छौं भनेर फोन आउने गरेको उनको भनाइ छ ।
सगरमाथा आरोहणका लागि सबैजना उत्साहित भएर बसेको अर्यालको भनाइ छ ।
सगरमाथामा भूकम्पको प्रभाव
भूकम्पका कारण सगरमाथा बेश क्याममा ६१ जना घाइते भएपछि पहिलो दिन उनीहरुलाई हेलिकोप्टरबाट ल्याएर उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको थियो ।
दोस्रो र तेस्रो दिन पहिलो र दोस्रो शिविरमा रहेका २१० जना आरोहीलाई हेलिकप्टरमार्फत् उद्दार गरिएको महानिर्देशक गौतमको भनाइ छ ।
‘पहिलो र दोस्रो शिविरमा रहेका आरोहीलाई तल झार्नु मुख्य काम थियो, किनकि बीचमा हिमपहिरोका कारण बाटो अवरुद्ध थियो’ गौतमले भने- ‘आरोही हिमाल चढ्ने अभ्यासका लागि शिविरमा गएका थिए ।’
लाङटाङमा उद्दार प्रयास
लामो रुट र ठूलो क्षेत्रफल भएको लाङटाङ क्षेत्रमा करिव तीन सयजनाको हाराहारीमा पर्यटक तथा गाइडहरु अडि्कएको जानकारीमा आएको गौतमले बताए । उनीहरुलाई हेलिकप्टरबाट उद्दार गर्ने प्रयास जारी रहेको उनको भनाइ छ ।
मंगलबार उनीहरुलाई बाहिर ल्याउन प्रयास गरे पनि प्रतिकूल मौसमका कारण हेलिकोप्टर पुग्न सकेनन्, बुधबार पनि हेलिकप्टरबाट उनीहरुलाई बाहिर ल्याउने प्रयास भइरहेको छ ।
गोरखा र रसुवा जिल्लामा पर्ने लाङटाङ भूकम्पको मूख्य प्रभावित क्षेत्र हो । तर, पनि अहिलेसम्म एउटा व्यक्ति हताहत भएको खवर नसुनिएको गौतमले बताए । यस क्षेत्रका लागि ४ वटा हेलिकोप्टर छुट्याएर पर्यटक, गाइड तथा सर्वसाधारणलाई उद्दार गर्ने काम भइरुहेको उनको भनाइ छ ।
उद्दार माग्नेहरुको लामो सूची
उद्दारका लागि लगातार नामको सूची आउने गरेको गौतमले बताए । अनलाइनखबरकर्मीले गौतमसँग कुरा गर्दागर्दै ८ जनाले उद्दारका लागि आग्रह गरेका थिए ।
‘खुम्बु क्षेत्रमा कोही रोकिएजस्तो लाग्दैन, किनभने त्यहाँ ट्रेकिङका लागि कोही गएको छैन, सगरमाथा आरोहणका लागि लुक्ला नाम्चे हुँदै जाने हुन्’ गौतमले भने- ‘अन्य क्षेत्रमा खोजी तथा उद्दारको काम भइरहेको छ ।’
प्रतिक्रिया 4