Comments Add Comment

च्छो रोल्पा लगायतका हिमताल कसरी जोगिए ?

२१ वैशाख, काठमाडौं । विनाशकारी भूकम्प गएको भोलिपल्टै रामेछाप सदरमुकाम मन्थलीमा हल्ला चल्यो-च्छो रोल्पा हिमताल फुट्यो । त्यसपछि मन्थलीबासीको भागाभाग भयो ।

तामाकोशी नदी किनाराका हजारौं बासिन्दा एकातिर भूकम्पको त्रास अर्कोतिर च्छो रोल्पा फुटेको हल्लाका बीच घर छाडेर सुरक्षित स्थानतर्फ जान थाले ।

Chorolpa

वैशाख १३ गते आइतबार भूकम्पको दोस्रो शक्तिसाली झड्का जानुभन्दा अगाडिनै च्छो रोल्पा हिमताल फुटेको हल्लाकै भरमा मन्थली र तामाकोश आसपासका धेरैले घर छाडेर जंगल र पाखामा बास बसाइसकेका थिए ।

च्छो रोल्पा हिमताल खतरामा रहेको भनेर सबैभन्दा पहिले २०५३ सालतिरै तत्कालिन प्रतिनिधिसभामा कुरा उठाएका रामेछापका पूर्व सांसद देवशंकर पौडेल यो हल्ला चलिरहेका बेला मन्थलीमा थिए ।

उनले सबैतिर बुझेपछि ताल नफुटेको पुष्टि गर्दै प्रशासनलाई भनेर घर छाडेर हिडेकालाई फर्किन माइकिङ नै गराए । भएको के रहेछ भने, दोलखाको चरीकोटस्थित च्छो रोल्पा अस्पताल भवन चर्किएको रहेछ ।

च्छो रोल्पा कुनै पनि बेला फुट्ने खतरा पुष्टि गरेरै सरकारले दोलखा र रामेछापका तामाकोशी आसपासका बस्तिमा साइरन समेत राखेको थियो । शक्तिसाली भूकम्पले च्छो रोल्पा जस्ता ताल फुटाउने खतरा पनि औंल्याइएको थियो ।

त्यसो भए यसपटक गोरखादेखि भोजपुरसम्मको उच्च पहाडी तथा हिमाली भेगलाई खण्डहर बनाउने गरी आएको भूकम्पले च्छो रोल्पा र अन्य यसक्षेत्रका हिमताल किन फुटाएन त ? यो प्रश्नको जवाफ खोज्न विज्ञहरु अहिले व्यस्त छन् ।

खतरामा रहेका भनिएका नेपालका हिमताल यो भूकम्पमा फुटेका भए कसैले कल्पना गर्न नसक्ने मानवीय र भौतिक क्षति हुने थियो । तर, च्छो रोल्पालगायतका हिमतालको अवस्थिति कडा र निकै ठूला चट्टानमाथि रहेकाले यिनीहरु जोगिएको विज्ञको प्रारम्भिक अनुमान छ ।

Lake

इसिमोडले दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो क्षति पुग्दा पनि च्छो रोल्पा हिमताल किन जोगियो भनेर अध्ययन गरिरहेको छ । ‘त्यस क्षेत्रमा शेकिङ इन्टेनशिटी (धक्काको प्रवाह) कम भयो’ इसिमोडका निर्देशक बसन्त श्रेष्ठले अनलाइनखबरसँग भने ।

श्रेष्ठका अनुसार गोरखाभन्दा माथिका पहाडी तथा हिमाली भेगहरुमा कडा र निकै ठूला चट्टानहरु रहेकाले पनि भूकम्पको धक्का कम भयो । ‘माथिल्लो भागमा अन्डरलाइन रकहरु भएका कारण क्षति जति मध्य भागमै भयो’ उनले भने ।

इसिमोडले भूकम्पीय धक्का गएका क्षेत्रहरुको भूउपग्रहबाट तस्विर लिएर अनुसन्धान गरिरहेको छ । ‘धेरै ठूला चट्टानहरुमाथि भएका कारण च्छो रोल्पा जोगियो, अरु हिमताल पनि जोगिए’ श्रेष्ठले भने ‘जहाँ बढी क्षति भयो यी ठाउँहरु टुक्रे ढुंगाहरु भएका ठाउँ हुन्, काठमाडौं त माटैमाटोको ठाउँ हो’ ।

भूकम्पले हिमाललाई धक्का दिँदा हिमपहिरो गए पनि हिमतालहरु खतरामा नरहेको विज्ञहरुले बताएका छन् । हिमपहिरो र अन्य पहाडी जिल्लाका पहिरोका कारण केही सानातिना खोला खोल्साहरु थुनिएको भूउपग्रहका माध्यमबाट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment