Comments Add Comment

सिन्धुकोटमा सुनिएको आवाज : हामी पालमुनि बसेर पनि पढ्छौं अंकल

विजय आवाज

काठमाण्डौका विद्यालयमा ठूला माइक लगाएर सयौं थुंगापछि गुञ्जिने अंग्रेजी मन्त्र दैनिकजसो नै कानमा ठोकिन्थ्यो । बोडिङ स्कूलमा दैनिक अंग्रेजीमा आफ्नो भनाइ राख्ने विद्यार्थीहरु देख्दा लाग्थ्यो, साँच्चै हामी शिक्षामा कति माथि छौं ।

Sindhukot, Sindhupalchok (4)

थानकोट र कोटेश्वरको नाकाभित्र मात्रै सीमित रहने हो भने लाग्छ, नेपालको सरकारले छुट्टयाएको शिक्षाको बजेटले नयाँ नेतृत्वलाई जन्म दिइरहेको छ । महाभूकम्प आउनुअघि निजी विद्यालयले ६० प्रतिशतसम्म शुल्क वृद्धि गर्न लागेको खबर मैले पनि पढेको थिएँ ।

तर, महाभूकम्पले देश नै चिरा चिरा पारिदियो । राहत वितरणका लागि हजारौं नेपाली देशका कुना कुनामा पुगेका छन् । यही कुनामा पुगेर नेपाललाई देख्ने अवसर पाउने एक नागरिक म पनि थिएँ ।

Bijay-Aawaj
विजय आवाज

लोकन्थलीको ठूलो पिच सडक भत्किँदा चिरिएको मनले सिन्धुपाल्चोकको सिन्धुकोट जाँदै गर्दा अनुभूति गरेको सडकको दृश्य, कायल बनाउनेखालको थियो । काठमाण्डौको सडक चिरिँदा ओहो भन्ने हामीले यहाँका सद्धे सडक हेर्‍यौं भने के भन्छौं होला, मनले यस्तो सोच्यो ।

ठूला खोला र डरलाग्दा बाटोलाई छिचोल्दै सिन्धुकोट पुग्दा लाग्यो, म नेपालबाट कुनै टाढाकोदेशमा छु, जहाँ विकास भन्ने शब्दले खिल्ली उडाउँदैछ । राहत वितरणको समाचार संकलनका लागि पुगेको मैले, चामलको बोराभन्दा पनि त्यो बोरा देख्दा रमाएका साना-साना बालिकाको मुहार देखे ।

कक्षा ४ मा पढ्दै गरेका एक बालक भेटिए । खुट्टामा चप्पल किन छैन तिम्रो, मेरो प्रश्नमा उनले भने- ‘अंकल, चप्पल घरमा थियो । भूकम्पले भत्काउँदा चप्पल पनि पुरियो ।’ भूकम्प गएको ९ दिनसम्म पनि उनले नयाँ चप्पल किन्न सकेका रहेनछन् ।

Sindhukot, Sindhupalchok (2)

खाली खुट्टामा उनलाई देख्दा मनले मानेन, मैले उनलाई नयाँ चप्पल किनिदिए । फुरुङ्ग पर्दै उनले आफ्नो पढ्दै गरेको स्कूल पुर्‍याए । ४ कक्षामा पढ्दै गरेका उनले यही विद्यालयबाट ठूलो भविष्य देखेका थिए । तर, उनको सपनाको यो विद्यालय क्षणभरमै भग्नावशेषमा परिणत भएको थियो । अब कहाँ पढ्छौं त, टोलाउँदै उनले भने’खै अंकल पाल लगाएर पढाउने भनेका छन्, त्यही बसेर पढ्नु पर्ला ।’

विद्यालयको चिरिएको भवनभित्र उनको उज्यालो सपना पनि चिरिएको थियो । तर, उनी भने चिरिएको भवनबाट मधुरता छर्दै निस्किएको किरणमा आफ्नो जिन्दगीको नयाँ सपना कोरिरहेका थिए ।

सिन्धुकोटमा यस्ता कैयौ बालबालिका भेटिए, अवोध बच्चाहरु देखिए, जसको जिन्दगी निष्फिक्री हाँस्दै रमाउनुपर्ने समयमा कुनै भूल भूलैयामा हराइरहेको छ । मेरो क्यामेराले अर्को एक दृश्य कैद गर्‍यो, जुन साच्चै एकछिन मौनतामा अड्याएर सोच्न बाध्य बनाउने खालको थियो ।

Sindhukot, Sindhupalchok (3)

त्यस्तै ५-६ वर्षको लाग्ने एक बालक ३० किलोको चामलको भारी उठाउन खोज्दै थिए । उनकी आमा चामलको बोरा उठाउन खौज्दैछिन्, ती बालक आमालाई सहयोग गर्न खोज्दै थिए । ९ दिनदेखि जसोतसो गुजारा गरिरहेका उनले चामलको बोरा भित्र भोको पेटको औषधी खोज्दै थिए । आफूभन्दा ठूलो भारी उनले उठाउने कोशिश जसरी गरे, त्यो हेर्दा लाग्थ्यो, उनी लामो समय दौडिएर निश्चित दुरीमा पुगेका छन्, जहाँ उनले खोजेका सबै सपनाहरु उनलाई नै कुरिरहेका थिए ।

बालबालिकाको अनुहार अवोध हुन्छ, तर उनीहरुले पनि धेरै कुरा सोच्छन् । मेरो क्यामेराले कैद गरेकी एक सानी बालिका आमाको काखमा महंगो ओच्छ्यानको भन्दा कैयौं गुणा आनन्द अनुभूति गर्दैछिन् । मुखमा भन्किएको माखाले उनीसँग लामै समय लुकिमारी खेल्यो । चामल पाउने र बेलुकी एक छाक भए पनि मीठो खाने आशमा बसेकी उनकी आमालाई उनको मुखमा भन्किएको माखासँग प्रवाह थिएन । तर, यी बालिकालाई यही झिँगाले सार्ने रोगका बारेमा काठमाडौंमा कैयौं गोष्ठी भए होलान्, सिन्धुकोटले त्यसलाई सुनेको छैन ।

Sindhukot, Sindhupalchok (1)

भूकम्पले सिन्धुकोटबासीका साना-साना सपना पनि टुटाएको छ । उनीहरुले बुनेका साना आशाहरु धर्मराएका छन् । तर, पनि उनीहरुले हिम्मत हारेका छैनन् । दुई महिला ९ दिनपछि भेट्दा भन्दै थिए-‘जिन्दगीले भेट्न लेखेको रहेछ है ।’

कसैले चकलेट दिदा पनि मख्ख पर्दै रमाउने साना बालबालिकाको भविष्य अब के होला ? यो कुराले मलाई दिनभर सिन्धुकोटमा बसिरहँदा पिरोल्यो । के ४ कक्षामा पढ्ने ती बालकले फेरि पनि आफ्नो पढ्ने सपना पुरा गर्लान् ? के पालभित्र खोजिएको शिक्षाले सडक पनि राम्रोसँग नपुगेको यो गाउँले देश नै चिनाउने नयाँ सन्तति जन्माउला ?

विद्यालय चिरिएको छ, तर यी बालबालिकाको भविष्य नचिरिओस् । आशाहरु डग्मगाएका छन् । तर, अठोट नटुटोस् । सकी नसकी चामलको बोरा उठाउने एक बालकले के अब आफ्नो चाहना र सपना उठाउने हात पाउलान् ? म यस्तै यस्तै कुरा मनमा बोकेर फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment