Comments Add Comment

सगरमाथाको आधारशिविर रित्तियो

२३ वैशाख, सोलुखुम्बु । विनाशकारी भूकम्पसँगै गएको हिमपहिरोले सगरमाथाको आधारशिविर रित्तिएको छ ।
everest-base-camp
सगरमाथा आरोहणका लागि ४२ समूहले अनुमति लिएको भए पनि प्रतिकूल मौसम र बाटो बिग्रिएका कारण अधिकांश आरोहीले आरोहण दल रद्द गरी आधारशिविर छाडेपछि सगरमाथाको आधारशिविर रित्तिएको हो ।

आधारशिविरमा अहिले भारतीय सेनाको आरोहण दल मात्र रहेको र उनीहरुले हिमपहिरोपछि प्रदूषित बनेको आधारशिविरको सरसफाइ गरिरहेको आरोहणमा सहभागी आङफुला शेर्पाले जानकारी दिए ।

हिमपहिरोपछि क्याम्प १ देखि क्याम्प २ सम्मको सबै भर्याङ भत्किएका छन् भने बाटो बिग्रिएको छ । बाटो बिग्रिएका कारण दुईवटै क्याम्पमा अलपत्र परेका आरोहीलाई हेलिकप्टरमार्फत आधारशिविर झारिएको थियो ।

यता बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाउने प्रयास गरे पनि सोभन्दा माथिको बाटो निर्माणका लागि अर्को एक्सपिडिसन टोलीले बाटो निर्माण गर्नुपर्ने प्रावधान भए पनि उनीहरु कोही पनि सम्पर्कमा नआएकाले बाटो अलपत्र अवस्थामा रहेको एसपिसिसीका महासचिव लाक्पागेलजेन शेर्पाले बताए ।

यसैबीच विनाशकारी भूकम्पपछि गएको हिमपहिरोमा १४ नेपाली र चार विदेशी गरी १८ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए ।

प्राकृतिक विपत्तिसँगै सगरमाथा आरोहण असुरक्षित बन्दै गएकोमा आरोहीले चिन्ता व्यक्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment