Comments Add Comment

भुइँतलाले जन्माउँछ एउटा स्टार, हामीले दर्शकको लागि के गर्‍यौ ?

salman-khan
विजय आवाज
वैशाख २५ गते शुक्रबार दिउँसो भारतीय टेलिभिजनमा आँखा लगाउँदै गर्दा बलिउडका चर्चित नायक सलमान खानको समाचारले प्रमुखता पाएको थियो । बलिउडका सर्वाधिक चर्चित मानिने न्यूज च्यानल ‘आज तक’ र ‘एबीपी न्यूज’ हेर्दा लाग्यो, सायद भारतमा कुनै पनि समाचार छैन ।

सलमान खानलाई उच्च न्यायालयले जरिवानासहित जमानत दिएको समाचार भारतका लागि सर्वाधिक चर्चित र प्रमुख थियो ।

बेलुकी अदालतमा प्रक्रिया पुरा गरेर सलमान फर्कदा करिब १ घण्टाको दुरीमा रहेको उनको घरसम्म भारतका सबैजसो न्यूज च्यानलले त्यो दृश्यलाई लाइभ देखाए । सडकमा सलमान खान घरतर्फ जाँदै गरेको दृश्य भारतीय मिडियाका लागि त्यहाँका जनताको समस्या भन्दा ठूलो थियो ।

बीच बाटामा रातो बत्तीमा रोकिँदा, सलमान खान आफ्ना फ्यानहरु माझ घेरिए । उनको गाडीको छेउछाउमा पुगेर फ्यानले तस्बीर खिचाए, सलमानले पनि गाडीको सिसा खोलिदिए । उनको घर बाहिर उनले जमानत पाएपछि फ्यानहरुले दिपावली नै मनाएका थिए ।

यो प्रसंग मैले यहाँ किन जोड्दैछु भने, बलिउडका कलाकार फ्यानहरुसँग कति लोकप्रिय र निकट छन् भन्ने हो । एउटा अदालतले ५ बर्षको  सजायँ सुनाएपछि सलमान दोषी देखिए । तर, उनका फ्यानका लागि सलमानले के अपराध गरे भन्ने कुनै गुञ्जायस नै थिएन । थियो त मात्र, उनको एक झलक हेर्ने र उसलाई सधै माया गरिरहने चाहना । यतीसम्मकी सलमानकाे गाडीले कुल्चियर अाफ्ना पतिकाे निधन हुँदा पनि उनकी श्रीमती सलमानलाइ जेल नहाेस् भनेर कामना गरिरहेकी थिइन् । याे एउटा कलाकारप्रित देखिएकाे प्रेम थियाे । सलमानलाइ यस्ताे उनकाे समाजसेवाले बनाएकाे हाे ।

भारतका समाचार च्यानल हेरेपछि नेपाली चलचित्रका बारेमा केही समय मेरो मस्तिष्क चल्बलायो । साँच्चै, यो क्रेज नेपाली चलचित्रले किन गुमाउँदैछ ? यस्तो क्रेजबाट हाम्रा कलाकार किन टाढा हुँदैछन् ।

हो, भलै बलिउड चलचित्र हेर्ने दर्शकको संख्या भन्दा हाम्रो चलचित्र हेर्नेको संख्या कम छ । तर, बजेटको हिसाबले हेर्ने हो भने हाम्रा चलचित्रले गर्ने व्यापार कमजोर होइनन् ।

सिन्धुलीमा जे देखियो
सलमान खानको विषयमा सोच्दै गरेका मेरा दिमागले वैशाख २६ गते शनिबार भने बेग्लै दृश्य देख्यो । नायक आर्यन सिग्देल सिन्धुली आउने भन्ने खबरले ५ सयभन्दा बढी युवायुवती र त्यहाँका जनता दिउँसो ३ बजेबाट नै प्रतिक्षामा रहेछन् । बेलुकी उनी पुग्दा त उनलाई घेर्नेको संख्या सयौं थियो ।

मानौं लाग्थ्यो, गाउँका सबै उल्टिएर आर्यनलाई हेर्न आएका छन् । उनीहरुको मुखमा सुनिन्थ्यो, हाम्रो ‘हिरो’ । हो, त्यो हाम्रो ‘हिरो’ भन्ने शब्द काठमाण्डौमा कम सुनिन्छ । काठमाण्डौले हाम्रो ‘हिरो’ भन्दा पनि हाम्रो ‘सलमान र साहरुख’ भन्छ । अझ हलिउडका कलाकारको नाम पनि यहाँका हजारांै दर्शकका मुखमा झुण्डिएका छन् ।

नायक आर्यन सिग्देल शनिबार बेलुकीदेखि आइतबार दिउँसोसम्म यसरी नै फ्यानका माझ घेरिएका थिए । मलाई त्यतिबेला ‘आज तक’मा सलमान रातो बत्तीमा रोकिँदा फ्यानले देखाएको मायाको दृश्य याद आयो ।
aaryan-with-fanभुँइतलाले जन्माउँछ एउटा स्टार
स्टारको जन्म भुँइतलाबाट हुन्छ । उसले त्यसमै रमाउने इच्छा पनि देखाउनु पर्छ । सिन्धुलीका केही यूवा आर्यनसँग भन्दै थिए-‘दाई यहाँ त कोही पनि कलाकार आउँदैनन्, तपाई आउँदा हामी निक्कै खुशी छौ ।’ हो, एउटा स्टारलाई कसले जन्मायो भन्ने बहसको केन्द्रमा हामी पुग्न सकेका छैनौं ।

काठमाण्डौका केही मल्टिप्लेक्स र फेसबुकमा देखिएको लाइक पेजमा नै हाम्रो दैनिकी बितेको छ । हामीलाई वास्तविक रुपमा स्टार बनाउने र माया गर्ने दर्शकको मनमा हामी पुग्यौ कि पुगेनौ, हामीले कहिले सोचेनौं । काठमाण्डौको सीटी सेन्टरको माथिल्लो तलामा बसेर पिज्जा र बर्गर खाँदै गर्दा हाम्रा कलाकारहरु त्यहाँ रमाउने सयौं दर्शकको आँखामा पर्दैनन् ।

एउटा चर्चित नायक वा नायिकाको उपस्थिति यस्ता रेष्टुरेन्ट र स्थानमा सामान्यजस्तै लाग्छ । सायद, त्यस्तो समयमा हाम्रा कलाकारको मन पनि खिन्न हुन्छ होला । तर, कहिले हाम्रा कलाकारले दुर गाउँको कुनै संसारमा पुगेर आफूलाई माया गर्ने दर्शकसँग बसेर उसिनेको आलु र सामान्य परिकारसँगै माया साट्न सकेका छन्, पक्कै पनि छैनन् ।

हामीलाई कसले जन्मायो भन्ने पहिचान गर्न नसक्दा नै नेपालमा स्टार क्रेजको अभाव देखिएको हो । एउटा स्टारलाई सामान्य नागरिकले जन्माउँछ । यसैले स्टार पनि उनीहरुसँगै पुग्न सक्नुपर्छ ।

अहिले भूकम्प आएपछि नेपालका केही कलाकार आफूलाई स्टार बनाउने दर्शकको दुखमा साथ दिइरहेका छन् । साच्चै यो एउटा सकारात्मक कदम पनि हो । तर, यो निरन्तर हुन जरुरी छ ।

हामीले कलाकार भएर के गर्‍यौ ?
काठमाण्डौमा बसेर महंगा घर र चिल्ला गाडी चढेर महंगो पारिश्रमिक लिएर चलचित्र खेल्नुबाहेक हामीले समाज र जनताका लागि के गर्‍यांै ? भारतीय अधिकांश कलाकार गरिब जनताका लागि च्यारेटी गर्छन् । उनीहरुले समाजलाई सधैं नै सकारात्मक सन्देश दिइरहेका छन् ।

यसैले त भारतमा पनि कलाकारको लोकपि्रयतामा आकाश पातलको फरक छ । हामीले आफूलाई स्टार बनाउने दर्शकका लागि के गर्‍यौं ? उनीहरुको समस्यालाई के हामीले कहिले प्रतिनिधित्व गर्ने कोशिश गर्‍यौं ? के कहिले हामी उनीहरुको सुख र दुखमा हाँस्न र रुन सक्यौं ? हामीमा देखिएको अभाव पनि यही नै हो । एउटा कलाकारले चलचित्रको पर्दाभन्दा बाहिर के गर्‍यो भन्ने समाचारले पनि उसको लोकप्रियताको मापन गर्छ ।

चलचित्र खेलेर मात्र कोही स्टार हुँदैन । भुँइतलामा बसेर हलमा, टीभीमा वा डीभीडीमा आफूलाई हेरेर कल्पना गर्ने दर्शकसम्म के हामी पुग्यौं त ? एकपटक सबैले सोच्ने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment