राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले दोहोर्याएर जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । कंसाकारले सम्हालेको निगम यतिबेला १० अर्ब ऋणमा छ ।
तर, चार वर्षको अवधिमा आफूले निगमको ऋण तिरेर, नयाँ जहाजहरु किन्नुका साथै विश्वका नयाँ-नयाँ ठाउँमा उडान भरेर टेलिकमजस्तै बोनस खाने संस्थारुपमा उकास्ने कंसाकारको महत्वाकांक्षी दाबी छ ।
महाप्रवन्धकको जिम्मेवारी औपचारिकरुपमा सम्हाल्न लागेका कंसाकारले अनलाइनखबरका लागि नविन अर्यालसँग कुरा गर्दै भने, ‘जहाज नथप्ने हो भने निगमको काम छैन ।’
नेपाल वायुसेवा निगमको नेतृत्व पुनः सम्हाल्दै हुनुहुन्छ, थला परेको निगमलाई प्रतिस्पर्धी बनाउन कस्तो योजना बनाउनुभएको छ ?
कारोबारको हिस्सा हेर्दा आन्तरिक सेवाको तुलनामा अन्तर्राष्ट्रिय सेवा महत्वपूर्ण छ । पहिला अन्तर्राष्ट्रिय सेवाका लागि दुईवटा बोइङमात्र थिए । अहिले २ वटा एयरबस थपिएर ४ पुगेका छन् । यो सकरात्मक पक्ष हो ।
तर, अहिले निगमलाई १० अर्ब रुपैयाँ ऋणको भार थपिएको छ । यो ऋणको साँवा ब्याज तिर्नुपर्ने अवस्था छ । हामीसँग भएका ४ वटा विमानलाई अधिकतम घण्टा उडाएर त्यसबाट व्यापार गर्नुपर्छ । यसैबाट भएको आम्दानीले ऋणको साँवा ब्याज तिर्ने र कर्मचारीले तलब खाने हो ।
मैले थाहा पाएसम्म अहिलेको ब्यापारबाट निगमलाई ऋणको साँवा ब्याजसमेत तिर्न समस्या परिरहेको छ । अहिले हामीसँग भएको साधन उच्चतम प्रयोग गर्न नसक्दा चाहिने जति आम्दानी हुन सकेको छैन ।
मेरो तत्कालीन प्राथमिकता भनेको हाल चालु अवस्थामा रहेका जहाजलाई अधिकतम घण्टा उडाएर आम्दानी बढाउने हो । दीर्घकालीन लक्ष्य भनेको जहाज थपेर निगमलाई विदेशी कम्पनीजस्तै प्रतिस्पर्धी बनाउने हो ।
म्यानमारको राष्ट्रिय ध्वजाबाहक सिधा जापान, अष्ट्रेलिया, कोरिया पुग्छ । तर, हामी हङकङ र दुबईभन्दा टाढा पुग्न सकेका छैनौं । निगमलाई पनि यी कम्पनीजस्तै बनाउने मेरो अधिकतम प्रयास रहन्छ ।
तत्काललाई निगमको आर्थिक अवस्था सबल बनाउन व्यवस्थापन चुस्त बनाउने, जहाज समयमै उडाउने, प्रविधिक तथा पाइलटलाई बफादारी बनाउन अभिप्रेरित गरेर अघि बढ्ने मेरो पहिलो चुनौती हो ।
अहिले निगममा प्राविधिक र पाइलटको समन्वय नहुँदा जहाज समयमा नउड्ने, पटक-पटक ग्राउन्डेड हुने गरेको छ । यो किन भइरहेको छ र कसरी समधान गर्न सकिन्छ भन्ने विषयमा खोजिनिती गरेर अगाडि बढ्छु ।
निगममा तपाईले देखेका चुनौती के-के हुन् । यस्ता चुनौती कसरी समाधान गर्दै अगाडि बढ्नुहुन्छ ?
समस्या जहाँ पनि हुन्छन्, त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्छ । अहिले निगममा इञ्जिनियर र पाइलटको ठूलो अभाव छ । ती विभागमा कर्मचारी बढाएर आवश्यक तालिम दिनुपर्छ । अर्को चुनौती हो मार्केटिङ । अहिले सरकारी संस्थामा सबैभन्दा बढी प्रतिस्पर्धा गर्नुपरेको निगमले हो ।
खर्बौं लगानी भएका २६ वटा ठूला विदेशी विमान कम्पनीसँग निगमले भिड्नु परिरहेको छ ।
नेपाल टेलिकमले २/३ कम्पनीसँग प्रतिस्पर्धा गरे हुन्छ, विद्युत प्राधिकरण र नेपाल आयल निगमसँग एकाधिकार छ ।
निगमले भने विदेशी तगडा कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्छ । तिनीहरुसँग मुकाविला गर्ने गरी मार्केटिङमा जानुपर्ने ठूलो चुनौती हो ।
हामीले जहाज किन्न डराएर बस्ने कुरा त भएन नि । जहाज नथप्ने भए निगम बन्द गरेर राखे भइहाल्यो नि
तपाईको कार्यकालमा निगम विदेशी वायुसेवा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सक्षम हुन्छ त ?
नसकिने होइन, सकिन्छ । विदेशी कम्पनीमा भन्दा निगमसँग २/३ वटा राम्रा पक्षहरु छन् । विदेशी विमान कम्पनीका कर्मचारीको तलव भत्ताको तुलनामा निगमको कम छ । यसकारण प्रतिस्पर्धा गर्दा उनीहरुको भन्दा हाम्रो सञ्चालन खर्च कम लाग्छ ।
विदेशी पर्यटक नेपाल आउँदा सबैभन्दा पहिला यहाँको जहाज कहाँसम्म आउँछ भनेर खोज्छन् । नेपालको एयरलाइन्स नभेटेपछि मात्र आफ्नो देशका एयरलाइन्स खोज्छन् रे । त्यो पनि नभएमा तेस्रो मुलुकको एयरलाइन्स खोज्ने गर्छन् । हामीले त्यहाँसम्म जहाज पुर्याउन नसक्दा बजार गुमाइरहेका छौं ।
युरोप, अमेरिका तथा जापानमा सिधा हवाइ सेवा पुर्याउन सकेको भए त्यहाँबाट आउने पर्यटकलाई हामीले ल्याउन पाउँथ्यौं । नेपाल आउनका लागि ट्रान्जिटमा ५/६ घण्टा बस्न कसैलाई पनि रहर हुँदैन ।
हामीसँग नेपालमा प्रतिस्पर्धा गर्ने अर्को कम्पनी छैन । थाई एयरलाइन्सले म काठमाडौं युरोप उड्छु भनेर पाउँदैन । त्यसो हुँदा हामी बजारमा बिना प्रतिस्पर्धा व्यापार गर्न पाउँछौं ।
यसका लागि त निगमसँग प्रयाप्त जहाज पनि त हुनुपर्यो नि ?
महत्वपूर्ण कुरा यही हो । यहाँ त चाउचाउ बनाउने फ्याक्ट्री स्थापना गरियो, तर मेसिन भएन । निगमको मेसिन भनेको त जहाज हो । प्रतिस्पर्धी क्षमता बढाउनका लागि हामीसँग जहाज थप्दै जानेभन्दा अरु उपाय छैन ।
तत्काललाई भएका ४ वटा जहाज पूर्ण क्षमतामा उडाउन सके पनि व्यापार बढाउन सकिन्छ । त्यसपछि हामीले वाइड बडी र न्यारो बडी जहाज थप्दै जानुपर्छ ।
जहाज थपेपछि पाइलट थप्नुपर्छ, इञ्जिनियर, एयर होस्टेसहरु थप्नुपर्छ । जहाज किन्नेदेखि कर्मचारी थप्नेसम्मका कामहरु तत्कालै समानान्तर रुपमा अगाडि बढाउनुपर्ने देखिन्छ । एक वर्षमा कति जहाज थप्ने, दुई वर्षमा कति थप्ने, पाँच वर्षमा कति पुर्याउने भनेर योजनागत रुपमा अगाडि बढ्नुपर्छ ।
जहाज ल्याउनुभन्दा अगाडि पाइलट, इञ्जिनियर, एयरहोस्टेस तयार पारेर राख्नुपर्छ । अहिले निगममा यही समस्या छ । जहाज भएर पनि पाइलट अभावले पूर्णरुपमा चलाउन सकिएको छैन ।
मलाई चार वर्षको समय दिइएको छ । यस अवधिमा मैले ६ देखि ८ वटा अन्तरर्राष्ट्रिय उडान गर्ने जहाज थप्ने काम गर्छु । मार्केट हेर्दा पनि प्रशस्त जहाज थप्नुपर्ने देखिन्छ ।
अहिले एउटा सिंगै जहाज दिल्लीका लागि राख्नुपर्ने देखिन्छ । बैंकक त्यस्तै छ, चाइनाको बजार वेपत्तै बढिरहेको छ । त्यहाँका मन्त्रीहरुले ८/१० वर्षमा १० लाख चिनियाँ पर्यटक पुर्याइदिन्छौं भनिरहेका छन् । अहिले चीनबाट डेढ लाख पर्यटक आउँदा त ४/४ वटा एयरलाइन्सले दिनमा ४ वटासम्म उडान भरिरहेका छन् ।
उनीहरुले पैसा कमाएको कमायै गर्ने, हामीले जहाज किन्न डराएर बस्ने कुरा त भएन नि । जहाज नथप्ने भए निगम बन्द गरेर राखे भइहाल्यो नि ।
नेपालमा जहाज खरिद गर्ने योजनाहरु सजिलै बन्छन्, तर नयाँ जहाज भित्राउन २७/२८ वर्ष कुर्नुपर्यो नि ?
संसारका ९० प्रतिशत मुलुकमा राष्ट्रिय ध्वजावाहक एयरलाइन्सलाई सरकारले पैसा दिइरहेको हुन्छ । केही समय अगाडि भारतले खर्बौं रुपैयाँ इन्डियन एयरलाइन्सलाई दियो । युरोपमा पनि राष्ट्रिय ध्वजावाहक बचाउन चाहिएजति पैसा दिएको पाइन्छ ।
तर, यहाँ सरकारले निगमका कर्मचारीलाई तलब खुवाउन पर्यो भनेर एक पैसा दिएको छैन । त्यही भएर नेपाल एयरलाइन्स घाटामा गइरहेको छ भन्ने गलत हो । निगमले आफै खर्च धानिरहेको छ, नाफामात्र नभएको हो ।
हवाइ सेवा दिने कम्पनी ग्राउन्ड हृयान्डलिङबाट चल्नुपरेको छ नि ? विमान उडाएर आएको पैसाले तलब खान पुग्दैन ?
यो संसारभरिको चलन हो । विदेशमा पनि त्यहाँको राष्ट्रिय ध्वजावाहकले ग्राउन्ड हृयान्डलिङ गर्ने चलन ५०औं वर्ष अगाडिदेखि चल्दै आएको छ । ५/७ वर्ष अगाडिदेखि मात्र कुनै कुनै मुलुकमा निजी क्षेत्रलाई दिइँदै आएको पाइन्छ ।
नेपाल एयरलाइन्सले कुनै पनि हालतमा ग्राउन्ड हृयान्डलिङ अरुलाई दिन हुँदैन । त्यो दिनेवित्तिकै कर्मचारीलाई तलब खुवाउन गाह्रो भइहाल्छ । ग्राउन्ड ह्यान्डलिङ गर्न नदिने हो भने त जहाज किनिदिनुपर्यो नि । २८ वर्षसम्म जहाज नकिनेर ग्राउन्ड ह्यान्डलिङ किन गरेको भन्न पाइन्छ ?
हवाइजहाज किनेर बिजनेसको आकार बढेपछि र अन्तर्राष्ट्रिय उडानबाट टन्न पैसा आउन थालेपछि नेपाल एयरलाइन्स आफै गएर यो ग्राउन्ड हृयान्डलिङजस्तो झ्याउ काम हामी गर्दैनौं, अरुलाई दिनुस भनेर भन्न जान्छौं । अहिले मेन बिजनेस गर्न नपाउँदा ग्राउन्ड हृयान्डलिङ गर्नुपर्ने बाध्यता भएको हो ।
हाम्रा जहाजहरु युरोप अमेरिका उड्न थालेपछि हाम्रो बिजनेस यति बढ्छ कि हामीलाई अरु काम गर्ने फुर्सद नै हुँदैन । हामी आफै गएर सरकारलाई ग्राउन्ड हृयान्डलिङ हामी गर्दैनौं, अरुलाई दिनुस् भन्नुपर्ने दिन आउँछ ।
तपाईको बिजनेस योजना के छ ?
डिटेल बिजनेस प्लान जिम्मेवारी सम्हालेपछि मात्र बनाउने हो । सरसर्ती हेर्दा अहिले निगमको बिस्तार अत्यन्त जरुरी छ । हवाइ जहाज थप्दै जानुपर्छ । नेपाल एयरलाइन्सले सही समयमा उपयुक्त कदम चाल्न नसक्दा धेरै पछाडि परिसकेको छ ।
जहाज किन्नका लागि पैसाको जरुरत पर्छ । त्यो जुटाउन पहल गर्नुपर्छ । स्कुटर, मोटरसाइकल किन्न फाइनान्सले लोन दिएजस्तै जहाज किन्न पनि लोन नै लिनुपर्छ । यो संसारभरका हवाइ कम्पनीमा चल्ने परिपाटी हो । लोन पाइसकेपछि जहाज किन्ने प्रकृया अगाडि बढाउनुपर्छ ।
बिजनेस प्लानमा अन्तर्राष्ट्रिय क्षेत्रमा सेवा थप्दै जानुपर्छ । हामीसँग अहिले भएका गन्तव्यलाई बढाउँदै लैजानुपर्छ । हामी के बुझ्नुपर्छ भने नेपालको समग्र पर्यटनको मेरुदण्ड भनेको नेपाल एयरलाइन्स हो ।
मलाई चार वर्षको समय दिइएको छ । यस अवधिमा मैले ६ देखि ८ वटा अन्तरर्राष्ट्रिय उडान गर्ने जहाज थप्ने काम गर्छु
मलेसियामा अहिले २ करोड चानचुन पर्यटक आउँछन् । किनभने मलेसियन एयरलाइन्स २०/२२ वर्ष अगाडिदेखि नै सक्षम भयो । अहिले उसँग भएका ८० वटा जहाजमा ४० वटा त वाइड बडीमात्र छन् ।
सिंगापुरमा १ करोड पर्यटन जान्छन्, सिंगापुर एयरलाइन्स विश्वकै टप भएको १० वर्ष पुग्न थालिसक्यो । थाइ एयरलाइन्स सक्षम हुँदा थाइल्यान्डमा २ करोड पर्यटक पुग्छन् । यहाँ चाहिँ ८ लाख पर्यटक पुग्दा खुशी भएर बस्नुपरेको छ ।
पर्यटकको संख्या बढाउन पनि जहाजको संख्या बढाउनुपर्ने देखिन्छ । काठमाडौं अहिले पुरै एशियामा सबैभन्दा महंगो गन्तव्य हो । २६ एयरलाइन्स भए पनि उनीहरुले महंगोमा बेच्न पाएपछि किन सस्तोमा टिकट बेच्थे र ? जबसम्म नेपाल एयरलाइन्सले सस्तो सेवा दिँदैन, तबसम्म नेपाल सस्तो गन्तव्य बन्दैन ।
निगममा इञ्जिनियरदेखि पाइलट, एयर होस्टेससम्म अभाव छ, पदपूर्ति गर्ने काम चाँडै गर्नुहुन्छ ?
त्यो त गर्नैपर्यो । तर, मान्छे भर्ना गर्ने, जहाज नकिन्ने भयो भने ओभर स्टाफिङ भएमा बर्बाद हुन्छ । अलिकति इञ्जिनियर, पाइल र एयरहोस्टेस अहिलेका विमान उडाउन पनि आवश्यक छ । मान्छे थप्ने काम सँगसँगै जहाज थप्ने काम पनि अगाडि बढ्छ ।
निगमले १० वर्षे व्यवसायिक कार्ययोजना बनाएको थियो, त्यो अहिले मन्त्रालयमा विचाराधीन छ । तपाई त्यसैलाई निरन्तरता दिनुहुन्छ कि नयाँ कार्ययोजना बनाएर अगाडि बढ्नुहुन्छ ?
पछिल्लो समय विकास भएको १० वर्ष १५ वर्षका लागि व्यवसायिक योजना बनाउने परिपाटी गलत हो । बढीमा ३/४ वर्षको मात्र योजना बनाउनुपर्छ । व्यापार बिजनेस हेर्दै, देश कतातिर गइरहेको छ, पर्यटन कता गइरहेको छ त्यो हेर्दै व्यवसायिक योजना परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
एकैचोटि १० वर्षको व्यवसायिक योजना बनाएर आनन्दसँग बसेर केही हुँदैन । मेरो सोच के छ भने २/३ वर्षको योजना बनायो, अनि बजार हेर्दै जहाजको संख्या बढाउने हो ।
उडान गरिरहेको गन्तव्यमा यात्रुको चाप बढ्यो भने तत्कालै जहाज थप्नैपर्छ, यात्रु नभई जहाज थप्ने काम भएमा डुबिन्छ ।
निगममा विमान थप्ने, व्यवस्थापन सुधार गर्ने क्रममा धेरै चुनौतीहरु सामान गर्नुपर्ने हुन्छ । यसका लागि कतिको तयार हुनुहुन्छ ? आफ्नो कार्यकाल सफल बनाउन कस्तो रणनीति अपनाउनुहुन्छ ?
असन्तुष्ट पक्षलाई लबिङ गर्दै, शिक्षित गराउँदै, काम गर्न नदिने पक्षलाई म्यानेज गर्दै जाने हो । यसमा मलाई त्यति धेरै चिन्ता छैन । आफुले राम्रो काम गर्न लागेको म्यासेज दिँदै अगाडि बढेमा कुनै पनि मन्त्री, प्रधानमन्त्रीले आफ्नो कार्यकालमा राम्रो काम नहोस् भनेर सोच्दैनन् जस्तो लाग्छ ।
हामीले व्यवस्थापन गरेर देखाइदिने र उहाँहरुलाई राम्रो सरसल्लाह दिने हो । हामीले राम्रो सल्लाह दिएर कन्भिन्स गर्न सकेमा नराम्रो हुँदैन । पहिलाको मेरो कार्यकालमा पनि १० अर्ब रुपैयाँको जहाज खरिद गर्ने काम अगाडि बढाउँदा दुरसञ्चार कम्पनीमा तत्काल बिड गर्न सफल भएका थियौं ।
त्यतिबेला शिक्षित गराउन नसक्दा अख्तियारले मुद्दा हालेपछि काम रोकिएको हो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि कन्भिन्स गरेका थियौं । उहाँले वाइड बडी जहाज नेपालका लागि आवश्यक छ भनेर बोल्नुभएको थियो ।
आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज निगमलाई घाँडो बनिरहेका छन् । निगमले चीनबाट ल्याइसकेका जहाज फिर्ता गर्ने र बाँकी जहाज पनि नल्याउन लबिङ सुरु गरिरहेको छ । तपाई चिनियाँ जहाजको विषयमा कस्तो एक्सन लिनुहुन्छ ?
अहिलेको सबैभन्दा ठूलो चुनौतीमा चिनियाँ जहाजको व्यवस्थापन पनि रहेको छ । मित्रराष्ट्रसँगको सम्बन्धको कुरा छ । अहिले आएका जहाज अनुदानका हुन् । सहुलियत ऋणका चार जहाज आउनै बाँकी छन् । मित्रराष्ट्रलाई तिमीहरुको जहाज चाहिँदैन, फिर्ता लैजाउ पनि कसरी भन्ने ?
दोस्रो कुरा, सरकार-सरकारबीच सम्झौता भएका कारण निगमको व्यवस्थ्ाापन प्रमुखले कतिसम्म हस्तक्षेप गर्न मिल्छ भन्ने कुरा आउँछ । यस विषयमा मलाई अहिले त्यति थाहा पनि छैन्, जति थाहा पाएको छु अनलाइन तथा पत्रपत्रिका पढेर हो ।
मैले सुनेअनुसार यी जहाजको इन्स्योरेन्स कष्ट पनि धेरै भयो रे । दोभाषे पाइलटको पनि समस्या भयो रे । पार्टपूर्जा भित्राउन पनि यसले समस्या भयो । अन्तर्राष्ट्रिय नियमअनुसार जहाजका पार्टपूर्जा कुनै पनि जहाजले खाली भएसम्म लैजाँदैन भन्न पाउँदैन । यूरोपबाट झिकाए पनि २ दिनमा आइपुग्छ । यस्तो बेलामा चीनबाट पार्टपुर्जा आउन हप्ता १० दिन लगाइदिनु ठूलै समस्या हो ।
निगममा कार्यभार सम्हालेपछि यस विषयमा चिनियाँ कम्पनी र हाम्रा पाइलट तथा इञ्जिनियरको कुरा बुझ्छु । त्यसपछि जहाजको समस्या बोकेर तालुक मन्त्री तथा सचिवसँग जान्छु । जहाज निगमले उडाउने कि, फिर्ता गर्ने कि अथवा अन्य कुनै प्रयोगमा ल्याउने भन्ने विषयमा नेपाल सरकारसँग तत्कालै छलफल गरेर निचोड निकाल्ने प्रयास रहन्छ ।
निगममा रणनीतिक साझेदार भित्राउने विषयमा बहस चलिरहेको छ । यहीवीचमा युरोपको लुफथान्साले निगमको म्यानेजमेन्ट सम्हाल्ने गरी प्रस्ताव पेश गरिसकेको छ । निगममा साझेदार वा व्यवस्थापक कम्पनी भित्राउने विषयमा तपाईको धारणा के छ ?
यस विषयमा निर्णय गर्ने अधिकार नेपाल सरकारको हुन्छ । हामीले यसको फाइदा यो, यसको बेफाइदा यो भनेर स्पष्ट कुरा राखिदिनुपर्छ । सरकारले फाइदा र बेफाइदा तौलिएर साझेदार भित्राउने हो । नेपाल एयरलाइन्समा विदेशी कम्पनी ल्याएर निजीकरण गर्ने बहष चलेको दशौं वर्ष भइसक्यो ।
निगममा विदेशी कम्पनी भित्राउने विषयमा नकरात्मक हुनुपर्ने कुरा केही देख्दिन । निगमलाई जेट एयर, ड्रागन एयरजस्तै उचाईमा लैजान सक्षम व्यवस्थापन र उच्चस्तरको प्रविधि आवश्यक पर्छ । यसका लागि विदेशी साझेदार आवश्यक पर्छ, किनकि हामीसँग त्यो क्षमता छैन ।
प्रविधिको कुरा गर्दा अहिलेसम्म निगममा अनलाइन बुकिङ सिष्टम छैन, त्यो भित्राउनुपर्छ । हामीलाई प्रविधिदेखि आक्रमक मार्केटिङसम्म सहयोग चाहिएको छ । हामी आफै गर्न सक्छौं भनी फुर्ती गरेरमात्र हुँदैन, विदेशीको सहयोग आवश्यक पर्छ ।
व्यवस्थापन करारमा आउन खोजेको लुफथान्साको प्रस्ताव कस्तो लाग्यो ?
मैले पत्रपत्रिकामा पढेको छु । पत्रपत्रिकामा पढ्दा उसको प्रस्ताव राम्रै लागेको छ । उसले आम्दानीको केही प्रतिशत लिने भनेको छ, यो कति सान्दर्भिक छ, अध्ययन गर्नुपर्छ ।
हाम्रो सार्वजनिक खरिद ऐन अन्तर्गत लुफथान्साको प्रस्ताव स्वीकृत गर्न मिल्छ कि मिल्दैन ? अरु विदेशी कम्पनी त्यो भन्दा राम्रो प्रस्ताव ल्याएर आउन खोज्लान् । लुफथान्सा यूरोपको राम्रो र सफल एयरलाइन्स कम्पनी हो । लुफथान्सा जस्तो सक्षम र ठूलो कम्पनी नेपालजस्तो मुलुकमा आउन इन्ट्रेष्ट देखाउनु नै ठूलो कुरा हो ।
ग्राउन्ड ह्यान्डलिङ गर्न नदिने हो भने त जहाज किनिदिनुपर्यो नि । २८ वर्षसम्म जहाज नकिनेर ग्राउन्ड ह्यान्डलिङ किन गरेको भन्न पाइन्छ ?
उसले निगमको भविष्य राम्रो देखेको स्पष्ट हुन्छ । निगमका भविष्य देखेर नै लुफथान्सा आउन खोजेको हो । नेपाल एयरलाइन्समा मार्केटिङको समस्या छैन, क्रमशः विस्तार हुँदै जाने हो भनेर आउन खोजेको हो ।
साझेदार भित्राउँदा नेपाल एयरलाइन्सको अस्तित्व नै मेटिने त होइन ?
साझेदार भित्राउँदैमा राष्ट्रिय ध्वजाबाहकको ब्रान्ड नेम कहीँ जाँदैन । नेपाल एयरलाइन्स जहिले पनि रहन्छ । हामीले ९० प्रतिशत शेयर दिएर प्राइभेट कम्पनी बनाउन खोज्यौं भने त्यहाँ आफ्नो शाख गुम्न सक्ने अवस्था आउन सक्छ ।
हामीले साझेदारलाई ५१ प्रतिशत शेयर दिने नै होइन । २०/२५ प्रतिशत शेयर दिएर पनि भित्राउन सकिन्छ । अहिले लुफथान्साले म्यानेजमेन्टमात्र हेरिदिन्छु भनेर प्रस्ताव गरेको छ । सस्तोमा सहयोग गर्छु भनेर भन्यो भने उसको सहयोग किन नलिने ?
निगमको व्यवस्थापन चुस्त बनाउन कर्मचारीतन्त्र बाधक रहेको बताइन्छ । कर्मचारीमा व्यवसायिकता भन्दा राजनीति बढी हाबी छ । यस्तो अवस्थामा निगमको व्यवस्थापन चुस्त बनाउन कसरी अगाडि बढ्नुहुन्छ ?
यो समस्या निगममा मात्र नभएर ३६ वटै सार्वजनिक संस्थानमा छ । निगममा यो कर्मचारी ठीक भएन, यसलाई हटाउनुपर्छ भनेर निर्णय गर्न नपाइने रहेछ । सरकारी नियम र श्रम ऐनले बाँधेको छ, यसलाई नकार्न सकिँदैन ।
यसका बाबजुद पनि नेतृत्वको च्यालेञ्ज भनेको ऐन, कानुन र नियमको परिधिभित्र रहेर १३ सय चानचुन कर्मचारीबाट एक्सन आउटपुट कसरी लिने भनेर लाग्छु । यहाँभित्रको गुट, राजनीतिले बिगारिरहेको हुन्छ । अहिले त्यहाँको कर्मचारीले दिनमा ४ घण्टामात्र काम गरिरहेको छ भने मैले ६ घण्टा काम गराउन सक्नुपर्यो ।
कसैलाई मोटिभेट गरेर, कसैलाई सम्झाएर, सम्झाएर नहुनेलाई तर्साएर, थर्काएर भएपनि व्यवस्थापन चुस्त बनाउनुपर्छ । व्यवस्थापक डेमोक्र्याटिक हुनुपर्छ, त्यसले काम गरेन भने धेरै कठोर निर्णय पनि लिन सक्नुपर्छ ।
तपाई निगमलाई कर्पोरेट ढाँचामा चलाउनुहुन्छ कि, पुरानै ढाँचामा ?
व्यवस्थापकको नजरबाट हेर्ने हो भने नेपाल एयरलाइन्सलाई कर्पोरेट ढाँचाबाटै चलाउने हो । तर, नियम कानुन र ऐनको परिधिमा रहेर । ऐन कानुन प्रधानमन्त्री मन्त्रीले त परिवर्तन गर्न सक्दैन, हामीले कसरी सक्छौं ? ऐन संसदबाट मात्र परिवर्तन गर्न सकिन्छ ।
तर पनि कर्मचारीको ‘वर्क कल्चर’ ऐनले गाइडेड हुँदैन, यो ऐनमा बाँधिएको पनि हुँदैन । यसमा व्यापक परिवर्तन गर्न सकिन्छ । मैले पहिला ३ कर्मचारीको ऐन नियमभित्र रहेर घटुवा पनि गरिदिएको छु ।
परेका बेलामा फकाउन पनि जान्नुपर्छ । डण्डा पनि हान्नुपर्छ । भोलि निगम राम्रो भयो भने त बोनस खान पाइन्छ नि । नेपाल टेलिकमले बोनस खान थालेको ३०औं वर्ष भइसक्यो ।
तपाईको कार्यकालमा बोनस खान पाउने अवस्था सिर्जना होला ?
मलाई ४ वर्षको कार्यकाल दिइएको छ । यस अवधिमा बोनस खाने स्थितिमा लैजान सकिन्छ कि भन्ने विश्वासमा छु । आम्दानी बढाएपछि बोनस खान पाइहाल्यो नि ।
नेपाल एयरलाइन्सले प्रदान गर्ने सेवाप्रति उपभोक्ताको व्यापक गुनासो छ । तपाईले आफ्नो कार्यकालमा सेवामा सुधार गरि उपभोक्ताको विश्वास जित्न सक्नुहोला ?
सेवा र गुणस्तर भन्ने कुरा निरन्तर सुधार गर्दै जाने हो । व्यवस्थापन निरन्तर प्रकृया हो । मैले राजनीति र कर्मचारीलाई दोष दिएर हात बाँधेर बस्दिँन । निगमको सेवा चुस्त बनाएर उपभोक्ताले गुनासो गर्न नपाउने वातावरण बनाउनेतर्फ मेरो ध्यान केन्दि्रत हुन्छ ।
पाइलट, इञ्जिनियर, एयरहोस्टेसहरुले निजी एयरलाइन्स छोडेर नेपाल एयरलाइन्समा जागिर खाने दिन आउला ?
४/५ वर्ष पहिला ६ वटा जहाज किन्ने निर्णय हुँदा झण्डै त्यो अवस्था आइसकेको थियो । वाइड बडी जहाज आउने भयो भनेर निजी एयरलाइन्समा काम गर्ने पाइलट आउन खोजेका थिए ।
निजी एयरलाइन्सको पाइलट धनगढी जाने र नेपाल एयरलाइन्सको पाइलट लन्डन जाने भएपछि त त्यसै पनि यहाँ आकर्षण बढिहाल्छ । हाम्रो अन्तर्राष्ट्रिय सेवा विस्तार हुँदै गएपछि त्यो अवस्था आइहाल्छ । निजी क्षेत्रमा तलब बढी भए पनि निगममा चार्मिङ देखेर कर्मचारी आउँछन् ।
तस्वीर/भिडियो : कविन अधिकारी/अनलाइनखबर
प्रतिक्रिया 4