Comments Add Comment

मास्टरसाप, विद्यालय त भत्कियो, कसरी चलाउने होला ?

Prachanda

१७ जेठ, गोरखा । “मास्टरसाप, तपार्इंले नै पढाउनुभएको धेरै दुःखले खडा गरेको विद्यालय आज भग्नावशेषमा परिणत भयो, विद्यार्थीका लागि बस्न योग्य छैन । गत वैशाख १२ को भूकम्पले घर भत्कियो, विद्यालय भत्कियो, तपार्इं त विश्वले चिनेको ठूलो मान्छे, लौ न विद्यालयलाई पूर्ववत् अवस्थामा फर्काउन सहयोग गरिदिनुपर्यो ।”

यो भनाइ गोरखा आरुघाटका भुवनप्रसाद श्रेष्ठको हो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भीमोदय उच्च माध्यमिक विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहँदा उनको घरबेटी रहेका श्रेष्ठले गरेको पुकार हो यो ।

‘गोरखा भूकम्प’ले ध्वस्त पारेको आरुघाट बजार र भीमोदय उमाविको स्थलगत अवलोकनका लागि आएका प्रचण्डलाई देख्नेबित्तिकै श्रेष्ठले अरु ठूलो माग राखेनन्, आफैंले पढाएको विद्यालयलाई पूर्ववत् हालतमा पुर्याइदिन आग्रह गरे ।

विसं २०३३ मा प्रचण्ड श्रेष्ठको घरमा बसेका थिए । आफ्नो घरमा डेरा गरी बस्ने एमाओवादी अध्यक्ष प्रचण्ड,विद्यालयका प्रधानाध्यापक एवम् पूर्व मन्त्री रामकुमार श्रेष्ठ र कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संयुक्त रुपमा पसिना बगाएको विद्यालय अहिले खण्डहर भएको छ ।

आरुघाटवासीले अध्यक्ष प्रचण्डसँग ठूलो अपेक्षा गरेनन् । बस्ने घर छैन, खाने अन्न छैन, तर उनीहरुले घरभन्दा ठूलो विद्यालय मानेका छन् । उनीहरु घर त विस्तारै बनाउँदै जाउँला भन्ने सोचमा छन् । तर, विद्यालयलाई पहिलो प्राथमिकतामा राखेका छन् । शिक्षकका रुपमा तत्कालीन समयमा कार्यरत प्रचण्ड पिन विद्यालयको अवस्था देखेर एकछिन भावुक भए ।

अर्का पूर्व शिक्षक गणेशकुमार श्रेष्ठ पनि विद्यालयलाई तत्कालै पूर्ववत् अवस्थामा पुर्याउन आग्रह गर्छन । “हामीलाई अरु केही आवश्यक छैन, विद्यालय बनाइदिनुपर्यो,तपाईंले पहल गर्नुभयो भने केही हुन्छ”–श्रेष्ठले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलार्इ भने । उनको भनाइ भुइँमा खस्न नपाउँदै प्रचण्डले भने–“सानो सहयोगका रुपमा ५१ बन्डल जस्तापाता ल्याएको छु । आगामी दिनमा थप सहयोग उपलब्ध गरौँला, धन्दा नमान्नुस् । विद्यालय पूर्ववत् अवस्थामा फर्कन्छ ।”

आरुघाटका अर्का स्थानीयवासी भरतप्रसाद श्रेष्ठ पनि ढलेको घर र भत्किएको आशाभन्दा ज्ञानको मन्दिर उजाडिएकामा चिन्तित छन् । “डेढ घन्टा परको जङ्गलमा गएर हामीसँगै काठ काट्न गएको सरलाई याद छ नि” ? श्रेष्ठले सवाल तेस्र्याउन नपाउँदै प्रचण्डले भने–“लौ, दाइ पनि काँधमा गएको खाला अझै बिसेक भएको छैन, कति दुःख गरिएको थियो त । तपाईं आफैं जानकार हुनुहुन्छ नि ?”

प्रचण्डकै प्रेरणामा स्थापना गरिएको भीमोदय उमावि नजिकैको अर्को विद्यालय श्री जनशक्ति निमावि पनि भग्नावशेषमा परिणत भएको छ ।

विद्यालयका प्रधानाध्यापक हरिहर श्रेष्ठ पनि अध्यक्ष प्रचण्डलाई पूरानै प्रश्न तेर्स्याए –“सर, यो विद्यालय पनि तपाईंकै देन हो ? भैँचालोले भत्काइदियो, अब के गर्ने होला ?” प्रचण्डले भने–“५१ बन्डल जस्तापाता ल्याएको छु । आधा भीमोदयलाई वितरण गरिन्छ, आधा तपाईंहरुले लिनुभए हुन्छ ।”

भीमोदय उमाविका प्रधानाध्यापक मनप्रसाद बन्जराका अनुसार विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत छन् । स्थानीय साधन स्रोत प्रयोग गरेर भीमोदय बहुमुखी क्याम्पस पनि सञ्चालन गरिएको छ । क्याम्पसमा दुई सय विद्यार्थी अध्ययनरत छन् ।

कुल २९ वटा कक्षाकोठामध्ये २१ वटा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । बाँकी कक्षा पनि अध्यापनका लागि योग्य छैनन् । विद्यालयको अस्थायी टहरा निर्माणका लागि हाल एमाओवादी नेता जनार्दन शर्माको नेतृत्वमा एक हजार पाँच सय नेता तथा कार्यकर्ता परिचालित छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment