Comments Add Comment

स्वयंसेवी बनेर पहाड चढेकी देविका मितिनी बनेर फर्किन्

Apsara Sapkota and Debika Darnalमात्रिका पौडेल
२५ जेठ, धादिङ (थाक्रे) । सुनसरी हाँसपोसाकी देविका दर्नाल भूकम्प पीडितका लागि अस्थायी घर बनाउन भनेर १५ दिनअघि धादिङ आएकी थिइन् । तर, अब फर्किंदा उनले धादिङमा सधैंका लागि एउटा स्थायी नाता गाँसेर जाँदै छिन् ।

सुनसरीबाट धादिङ आउने १७ वर्षीया देविका एमालेको स्वयंसेवक टोलीकी एकमात्र महिला सदस्य हुन् । उनी करले होइन, रहरले आएकी थिइन् पहाड हेर्न भनेर । तराईबाट पहाड चढेकी देविकाले धादिङको थाक्रेमा अजम्बरी नाता गाँसिन्, सोही ठाउँकी अप्सरा सापकोटासँग मित लगाएर ।

देविका थाक्रेका भूकम्प पीडितहरुलाई अस्थायी घर बनाउने अभियानमा थिइन् । उनले सोचिन्-यति टाढा अनकन्टार डाँडामा आइ त सकियो, एउटा नाता किन नगाँस्ने ? अघिपछि आउने बाटो पनि त हुन्छ ।

अभियान चलिरहेकै बेला उनकै जस्तो अनुहारकी अप्सरा सापकोटा भेटिइन् । एमालेको कोशी अञ्चलको उनी सम्मिलित टोलीले अप्सराको घर बनाइदियो । अनि यी दुईजनालाई मितिनीको नाता पनि गाँसिदियो ।

मितिनीले धेरै पढुन्

नौबिसेबाट अलि माथि त्रिभुवन राजपथ छाडेर उकालो लागेपछि पुगिन्छ थाक्रे । थाक्रे गाविस वडा नम्बर १ को महांकालेश्वरी उच्च माविमा १० कक्षामा पढ्ने अप्सरा सापकोटा सुनसरी हाँसपोसाकी देविका दर्नालसँग मितिनी बन्न पाउँदा दंग थिइन् ।

देविकाले पढेकी छैनन् । तर, अप्सराले धेरै पढुन् भन्ने चाहान्छिन् । ‘आफू त गरिव दलित परिवारमा जन्मिएर पढ्न पाइँन, मेरी मितिनीले धेरै पढेर ठूली मान्छे भएको देख्न चाहान्छु’ मितिनीसँग टाउको जोडाउँदै देविकाले भनिन् ।

कहिल्यै पहाड नचढेकी देविकाले स्वयंसेवक अभियानका क्रममा धादिङका धेरै डाँडाकाँडा पैदल नै चढिन् । अब पहाडसँग कहिल्यै नटुट्ने साइनो जोडेकी छन् ।

‘अब पहाड आउने साइनो गाँसियो, बेला बेलामा मितिनीलाई भेट्न आउँछु’ उनले भनिन् ।

जातभन्दा ठूलो साइनो

मित लाउनुअघि देविकाले पार्टीका नेताहरु समक्ष प्रस्ताव राखिन् । उनीहरुले अप्सराको परिवारको राय खोजे । अप्सराको परिवार ब्राम्हण, देविका दलित । कतै अवरोध हुने पो हो कि भन्ने आशंका थियो । तर, अप्सराका परिवार पनि तराईबाट आएकी स्वयंसेवीलाई मित छोरी बनाउन तयार भए ।

‘हाम्रो सम्बन्धलाई जात धर्म र भूगोलले अवरोध गरेन’ देविकाले भनिन् ‘हाम्रो पार्टीले मान्छेका दुई जात मात्र हुन्छन् भनेको छ, महिला र पुरुष’ । अप्सरा पनि आफ्नी मितिनी अब परिवारको सदस्य भएको भन्दै जातको कुरा कतै नआउने बताउँछिन् ।

मित लगाइसकेपछि अप्सराको परिवारले देविकालाई घरभित्रै राखेर खानपिन गराए ।

यी दुईको मित सम्बन्धको साक्षी बनेका कोशी अञ्चलका एमालेका युवा नेता बाबुराम थापाले भने-हामी भूकम्प पीडित जनतालाई सघाउन आएका थियौं, देविकाले सधैं सम्झिने साइनो गाँसिन् ।

नाम बन्द, सपिङ गोप्य

देविकाले थाक्रेबाट एक घण्टा तल झरेर नौबिसेमा मितिनीका लागि सपिङ गरिन् । अप्सराले पनि गच्छे अनुसारको सपिङ गरिन् । मित लाउँदा उपहार साटासाट गर्ने प्रचलन हुन्छ । उपहार के दियौ त ? दुबैजनाले लजाउँदै भने-यो त गोप्य हो ।

मित लगाएपछि अब दुबैले एक अर्कालाई नामले बोलाउन मिल्दैन । मितिनीलाई फोटो खिच्न बोलाउन विद्यालयको कक्षा कोठामै पुगेकी देविकाले नाम नलिई भनिन्-मितिनी बाहिर आउनुस् त ।

कहिल्यै तराई नदेखेकी अप्सरा पनि अब मितिनीको घर हेर्न चाँडै नै सुनसरी जाँदैछिन् । उनी भन्छिन्-अरु नाता स्वार्थका हुन्छन्, त्यसैले हाम्रो मितिनीको नाता निस्वार्थी र अजम्बरी हुनेछ ।

देविकाको टोलीले भूकम्प पीडित थाक्रेबासीलाई बनाइदिएका अस्थायी घर टहरा केही महिना वा वर्षपछि फाट्नेछन् तर देविकाले थाक्रेमा लाएको साइनो कहिल्यै फाट्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment