Comments Add Comment

एघार जिल्लाका साढे १६ सय होटल क्षतिग्रस्त (सूचिसहित)

२८ जेठ, काठमाडौं । विनाशकारी महाभूकम्पले होटल क्षेत्रमा १८ अर्ब बढीको क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ । राजधानीसहित ११ जिल्लाका साढे १६ सय होटल, लज र होम स्टेमा क्षति पुगेको छ ।

क्षति हुनेमा अधिकांश साना होटल तथा गेष्ट हाउसहरु रहेको पर्यटन विभागका निर्देशक केशव विमलीले बताए । पर्यटकलाई लक्षित गरी सञ्चालन गरेका अधिकांश होटलहरु सुरक्षित रहेको उनको भनाइ छ ।

hotels-1

पर्यटन विभागले होटल संघ नेपाल, नेपाल माउन्टेनियरिङ संघ, टान, होमस्टे एशोसियसन लगायतका निजी क्षेत्रका संघ-संस्थासँग सहकार्य गरी भूकम्प प्रभावित क्षेत्रका होटल तथा लजहरुको तथ्यांक संकलन गरेको हो ।

सबैभन्दा बढी काठमाडौंमा रहेका होटल तथा गेष्ट हाउसमा क्षति पुगेको छ । विभागका अनुसार काठमाडौंमा ३ सय होटल तथा गेष्ट हाउसहरु क्षतिग्रस्त भएका छन् । जहाँ तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । भत्किनेमा गोंगबुस्थित नयाँ बसपार्कमा सञ्चालित गेष्ट हाउस धेरै छन् ।

‘काठमाडौं उपत्यकामा सञ्चालित ९० प्रतिशत पर्यटकस्तरीय होटलहरु सुरक्षित रहेको भेटिएको छ’ निर्देशक केशवले विमलीले भने- ‘यो क्षेत्रमा अधिकांश साना होटल तथा गेष्ट हाउसहरुमा क्षति पुगेको छ ।’

ललितपुरमा ५० होटलहरु भत्किएको प्रारम्भिक अध्ययनमा देखिएको छ । जहाँ एक अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । भक्तपुरमा एक सय ११ होटल तथा लज भत्किँदा एक अर्ब ८८ करोड रुपैयाँको क्षति पुगेको छ ।

भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा रहेका केही पर्यटकीय होटलहरु भूकम्पले भत्किएका छन् । भक्तपुरको उपत्यका क्षेत्रमा भने साना होटल तथा गेष्ट हाउसहरु बढी क्षतिग्रस्त भएको विभागको भनाइ छ ।

काठमाडौंमा सञ्चालित ८ वटा पाँचतारे होटलमध्ये एभरेष्ट होटलमा रातो स्टिकर लगाइएको छ । अन्नपूर्ण होटलमा रहेको अन्ना क्यासिनोले पनि रातो स्टिकर पाएपछि भत्काउने काम भइरहेको छ । हायत होटलको तारा क्यासिनोको छत चर्किएपछि पँहेलो स्टिकर लगाइएको छ । यो भवन मर्मतपछि सञ्चालनमा ल्याउन मिल्छ ।

सातवटा पाँचतारे होटल पूर्ण रुपमा सुरक्षित रहेको विभागले जनाएको छ । ठमेलमा रहेको बिजनेश होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ठमेलमै रहेको काठमाडौं गेष्ट हाउसको हेरिटेज ब्लकमात्र बस्न अयोग्य ठहरिएको छ । पाँचवटा ब्लक भएको गेष्ट हाउसमा तीनवटामा हरियो स्टिकर टाँसिएको छ भने एउटामा पँहेलो स्टिकर लगाइएको छ ।

काठमाडौंको मुलपानीमा रहेको गोकर्ण फरेष्ट रिसोर्टको हन्टर ब्लक पनि भत्किएपछि रातो स्टिकर लगाइएको छ । अरु सबै ब्लक सुरक्षित पाइएको निर्देशक केशव विमलीलले बताए ।

काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा रहेका पर्यटक बस्ने होटलहरु सुरक्षित रहेका छन् । पर्यटकीय क्षेत्र ठमेलका सबैजसो होटलहरु बस्न योग्य देखिएका छन् । बस्न नहुने भनिएका होटलमा पनि रेक्ट्रोफिट गरेपछि बस्न योग्य हुने अनुमान गरिएको छ ।

काभ्रे जिल्लामा पनि धुलिखेलमा रहेको एउटा होटलको ब्लकले रेड स्टिकर पाएको छ । अन्य पर्यटकीय होटलहरुमा पनि सामान्य क्षति भएको बताइन्छ । यस क्षेत्रमा पनि साना होटल तथा लजमा बढी क्षति पुगेको नेपाल होटल संघको दाबी छ ।

काभ्रेमा ५० वटा होटलमा क्षति पुगेको संघले जनाएको छ । जहाँ एक अर्ब बढीको क्षति भएको छ । काभ्रेको धुलिखेल क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । काभ्रे भूकम्पको बढी प्रभाव पर्ने जिल्ला हो ।

रसुवा, सोलुखुम्बु, सिन्धुपाल्चोक, गोरखा, दोलखामा भने ट्रेकिङ लजहरु धेरै भत्किएको बताइएको छ । ट्रेकिङका लागि प्रख्यात मानिएका मनास्लु, लाङटाङ, खुम्बु, रोल्वालिङ, दोलखा-सिन्धुपाल्चोक हेलम्बु क्षेत्रमा रहेका लजहरु भत्किएका हुन् ।

विभागका अनुसार रसुवामा ३ सय ६७ होटल तथा लजमा क्षति पुगेको छ भने सोलुखुम्बुमा २१०, सिन्धुपाल्चोकमा सय, गोरखामा एक सय १४, दोलखामा एक सय ३० र तनहुँमा सय होटलमा क्षति पुगेको छ । त्यस्तै, धादिङमा एक २७ होटलमा क्षतिग्रस्त छन् ।

प्रारम्भिक अध्ययन अनुसार रसुवामा १ अर्ब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने सोलुखुम्बुमा २ अर्ब १० करोड, धादिङमा १ अर्ब ६२ करोड, सिन्धुपाल्चोकमा २ अर्ब, गोरखामा ५३ करोड ९३ लाख, दोलखामा १ अर्ब ४४ करोड र तनहुँमा २० करोडको क्षति भएको छ ।

भूकम्प प्रभावित क्षेत्र लमजुङबाट भने अहिलेसम्म कुनै तथ्यांक नआएको विभागका निर्देशक केशव विमलीलले बताए । भूकम्प प्रभावित १४ जिल्लाका ३ सय ४४ होम स्टेमा क्षति पुगेको छ ।

विभागले होम स्टेमा एक अर्ब ७२ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । तर, होम स्टे एशोसियसनले भने ७ अर्ब रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको उनले बताए ।

प्रमुख पर्यटकीय गन्तव्यहरु पोखरा, चितवन र लुम्बिनी-भैरहवा क्षेत्रमा रहेका होटल तथा लजमा भने कुै क्षति नपुगेको होटल संघ नेपालले जनाएको छ । संघका अनुसार पोखरामा ४५०, चितवनमा २०० र लुम्बिनीमा १५० होटलहरु दर्ता भएर सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment