Comments Add Comment

वैदेशिक रोजगारीमा हुनुहुन्छ ? यहाँ लगानी गर्नुहोस्

पुष्प दुलाल

२९ जेठ, काठमाडौं । रोजगारको शिलसिलामा विदेशी भूमिमा रहेर पनि नेपालमा सुरक्षित लगानी गर्न चाहनेहरुका लागि सुवर्ण अवसर । आकर्षक व्याजदर दिने गरी नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०७७’ जारी गर्दैछ ।

आगामी असार ६ देखि १९ गतेसम्म बिक्री खुल्ला हुने यो बचतपत्रमा ९ प्रतिशत व्याज दिने राष्ट्र बैंकले जनाएको छ ।

bachatpatraबैदेशिक रोजगार बचतपत्रमा सरकारले दिने यो व्याज हाल बैंकहरुले निक्षेपमा दिने व्याजभन्दा दोब्बर बढी हो । सरकारले अान्तरिक ऋणमा दिएको सबैभन्दा बढी व्याजदर पनि हो । केही दिनअघि जारी भएको नागरिक बचतपत्रमा ८ प्रतिशत व्याज दिएको थियो ।

त्यसैले बैदेशिक रोजगारीमा रहेकाहरुका लागि यो आकर्षक र सुरक्षित लगानीको अवसर हो । यो बचतपत्र नेपाल सरकारको प्रमिसनरी नोट भएकाले यसमा गरिएको लगानी शतप्रतिशत सुरक्षित हुन्छ ।

छरिएर रहेको पुँजीलार्इ एकत्रित गरि विकास निर्माणका काममा लगाउने उदेश्यले सरकारले बचतपत्र निस्काशन गर्न लागिएको राष्ट्र बैंकको अान्तरिक ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशन नरबहादुर थापाले अनलार्इनखबरलार्इ जानकारी दिए ।

‘खरिदकर्ताहरूको बचत गर्ने बानीको विकास पनि हुन्छ, उहाँहरूले अाकर्षक व्याज पनि पाउनुहुन्छ’ थापाले भने – यो पैसा सरकारले पनि विकास निर्माणका काममा खर्च गर्छ । रेमिटान्सको अधिकांस रकम उपभोगमा खर्च भएको र त्यसलार्इ एकत्रित गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने विज्ञहरूले बताउँदै अाएका छन् ।

प्रत्येक ६/६ महिनामा व्याज भुक्तानी गरिने यो बचतपत्रमा लगानी गर्नेले पाँच वर्षपछि सावाँ रकम फिर्ता पाउनेछन् । एक व्यक्तिले कम्तीमा ५ हजार रुपैयाँदेखि बढीमा ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

परिवारले पनि किन्न पाउँछन् 

बैदेशिक रोजगारीमा बहाल रहेको, बैदेशिक रोजगारबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक वा एनआरएनले आफू वा आफ्नो परिवारका नाममा यो बचतपत्र खरिद गर्न सक्नेछन् ।

जग्गा जस्तै हो

बचतपत्र खरिदकर्तालाई पैसाको आवश्क परेको खण्डमा बचतपत्रको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन पाइन्छ । त्यसैले यो जग्गा, सुन र सेयरजस्तै हो । सुरक्षाका हिसाबमा भने जग्गा, सेयर वा सुनभन्दा बढी सुरक्षित हो ।

के-के चाहिन्छ ?

बचतपत्र खरिदकर्ताले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको समयावधि ननाघेको भिषाको फोटोकपी, दुईप्रति पासपोर्ट साइजका फोटा, विदेशी मुद्रा सटहीको कागजात, बैंक खाताको विवरणसमेत पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कुन देशमा कुन एजेन्ट ?

मुलुकभित्र राष्ट्र बैंकका कार्यालबाट आवेदन फारम पाइन्छ । मुलुक बाहिरका लागि भने राष्ट्र बैंकले ६ वटा एजेन्टलाई इजाजत दिएको छ । अावेदन फारम लिँदा वा भरेर बुझाउँदा कुनैपनि अतिरक्त शुल्क नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।

आइएमइः मलेसिया, दुबई, साउदी अबर, कतार, अमेरिका, बेलायत, जापान, बहराइन, रसिया, अष्ट्रेलिया, इजरायल र कुबेतमा इन्टरनेसलन मनी एक्सप्रेस (आइएमइ)का शाखा तथा एजेन्टमार्फत आवेदन फारम भर्न सकिन्छ ।

प्रभू मनी ट्रान्सफर : मलेसिया, कतार बहराइन, साउदी अरब र अमेरिकामा रहेका प्रमू मनी ट्रान्सफरका कार्याल तथा एजेन्टमार्फत पनि आवेदन फारम लिन सकिनेछ ।

प्रभू बैंक : त्यस्तै, अमेरिका, मलेसिया र कतारमा रहेका प्रभू बैंकका कार्यालय तथा एजेन्टबाट आवेदन फारम भर्न सकिनेछ ।

सिटी एक्सप्रेसः त्यसैगरी, जापान, मलेसिया, कतार र अमेरिकामा रहेका सिटि एक्सप्रेस मनी ट्रान्सफरका शाखा तथा एजेन्टहरुमार्फत आवेदन फारम र्झन सकिनेछ ।

सेञ्चुरी बैंक : त्यस्तै, कतार, दुबई, कुबेत, साउदी,बहराइन, मलेसिया, अष्ट्रेलिया, इजरायल, अमेरिका र बेलायतमा रहेका सेञ्चुरी बैंकका शाखा तथा एजेन्टमार्फत आवेदन फारम लिन सकिनेछ ।

सनराइज बैंक – दुबइ, कतार, इजरायल र ओमनमा रहेका सनराइज बैंकका शाखा तथा एजेन्टमार्फत आवेदन फारम भर्न सकिनेछ ।

चालू अार्थिक वर्षको बजेटमा सरकारले ५२ अर्ब ७५ करोड रूपैयाँ अान्तरिक ऋण उठाउने उल्लेख गरेको थियो । सरकारसँग खर्चगर्ने रकम पर्याप्त भएकाले अार्थिक वर्षको १० महिना बितेसम्म अान्तरिक ऋण उठाएको थिएन । तर, बिनासकारी भूकम्पले क्षति पुर्याएका संरचनाहरूको पुननिर्माणमा मोटो रकम खर्च गर्नु पर्ने भएकाले सरकारले अान्तरिक ऋण उठाएको हो ।

सरकारले ३५ अर्ब विकास ऋणपत्र, १८ अर्बको ट्रेजरी बिल, २ अर्ब ५० करोडको नागरिक बचतपत्र, २५ करोडको बैदेशिक रोजगारपत्र गरी यो वर्ष ५२ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यक्रम राखेको थियो ।

यो पनि पढ्नुहोस्- महिना दिनभित्र ४८ अर्बको आन्तरिक ऋण उठाउँदै सरकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment