Comments Add Comment

यी हुन् विश्वका उत्कृष्ट १० एयरलाइन्स

etihad-airways

६ असार, काठमाडौं । हवाई यात्रा गर्ने सवैको रहर हुुन्छ विश्वकै उत्कृष्ट एयरलाइन्समा यात्रा गर्ने । राम्रो खाना, उत्कृष्ट सत्कार र नयाँ नयाँ सुविधाले नै कुनै पनि एयरलाइन्सलाई यात्रुका नजरमा उत्कृष्ट बनाउँछ ।

काठमाण्डौमा समेत उडान भरिरहेका विश्वका केही चर्चित एयरलाइन्सहरु यस बर्षको उत्कृष्ट एयरलाइन्समा पर्न सफल भएका छन् ।

पेरिसमा यसै साता सम्पन्न स्काईट्रयाक्स अवार्ड कार्यक्रममा यी उत्कृष्ट एयरलाइन्सको सूची सार्वजनिक गरिएको हो । जसमा कतार एयरलाइन्स विश्वकै नम्वर एक एयरलाइन्स घोषित भएको छ ।

१. कतार एयरवेज

qatar-airways

पछिल्लो पाँच वर्षमा कतार एयरवेजले तेस्रो पटक विश्वको उत्कृष्ट एयरलाइन्स अवार्ड जितेको छ । साथै पहिलो पटक विजजेश क्लास सिटको विधामा पनि कतार एयरवेज उत्कृष्ट घोषित भएको छ । कतार एयरवेजले नेपालमा हरेक दिन तीनवटा उडान भर्दै आएको छ ।

२. सिंगापुर एयरलाइन्स

singapore-airlines-2

दोस्रो स्थानमा सिंगापुर एयरलाइन्स छ । अघिल्लो बर्ष तेस्रो स्थानमा रहेको सिंगापुर एयरले यो बर्ष एक स्थान माथि उक्लिएर बिश्वकै दोस्रो उत्कृष्ट एयरलाइन्सको उपाधि जितेको छ । सिंगापुर विजजेश क्लास सिटको विधामा पनि दोस्रो भएको छ । सिंगापुर एयरको भगिनि ब्राण्ड सिल्क एयरले नेपालमा पनि उडान भर्छ ।

३. क्याथे प्यासिफिक

cathay-pacific-airways

सन् २०१४ मा बिश्वको नम्बर एक एयरलाइन्स बन्न सफल क्याथे प्यासिफिक यो बर्ष तेस्रो स्थानमा झरेको छ । तर, बेष्ट एयरलाइन्समा ट्रान्स प्यासिफिकको अवार्ड भने  क्याथे प्यासिफिक एयरवेजले जितेको छ । यसअघि २०११ र २०१३ मा पनि क्याथेले यो अवार्ड जितेको थियो । क्याथे प्यासिफिकको भगिनि ब्राण्ड ड्रागन एयरले नेपालमा पनि उडान भर्छ ।

४. टर्किस एयरलाइन्स

turkish-airlines

विश्वका उत्कृष्ट एयरलाइन्सको सूचीमा टर्किस एयरलाइन्स चौथो नम्बरमा परेको छ । विजनेश क्लास लाउन्ज र विजनेस क्लास लाउन्ज डाइनिङमा पनि टर्किस उत्कृष्ट बनेको छ । स्तानबुलमा रहेको बिजनेस क्लास लाउन्जले एकैपटक १ हजार ग्राहकलाई सेवा दिन सक्छ । टर्किसले नेपालमा नियमित उडान गर्दै आएको छ ।

५. इमिरेट्स एयरलाइन्स

emirates-airlines

इमिरेट्स एयरलाइन्स पाँचौं स्थानमा छ । यो गत वर्षको भन्दा एक स्थान तल झरेको हो । तर, इमिरेट्सले पेरिसमा उत्कृष्ट इन फ्लाइट इन्टरटेन्टमेन्ट अवार्ड हात पारेको छ । यो विधामा कतार एयरेवेज दोस्रो स्थानमा छ ।

६. इत्तेहाद एयरवेज

etihad-airways

संयुक्त अरब इमरेट्सको इत्तेहाद एयरवेज तीन स्थानमाथि उक्लिएर विश्वको उत्कृष्ट एयरलाइन्सको सूचीमा छैटौं नम्बरमा छ । नयाँ उत्पादन र सेवाको नयाँ अवधारणाले इत्तेहादलाई फेरि उत्कृष्टको होडमा ल्याएको छ । इत्तेहादले पनि नेपालमा नियमित उडान गर्दै आएको छ ।

७. एएनए जापान

ana-all-nippon-airways

जापानको अल निपोन एयरवेज सातौं स्थानमा छ । यो अघिल्लो वर्ष भन्दा एक स्थान तल झरेको हो । तर, अल निप्पोन एयरले यो बर्ष पनि बेष्ट एयरपोर्ट सर्भिसको अवार्ड हात पारेको छ । यसको मतलव एयरपोर्टमा चेक इन देखि, अराइभल र ट्रान्सफरसम्मका सेवामा अल निप्पोन एयरका कर्मचारी विश्वमै उत्कृष्ट ठहरिएका छन् ।
८. गरुडा इण्डोनेसिया

garuda-indonesia-airlines

इन्डोनेसियाको गरुडा एयर अघिल्लो बर्षभन्दा एक स्थान तल झर्दै आठौं स्थानमा पुगेको छ । तर,  गरुडाले उत्कृष्ट क्याविन कर्मचारीको अवार्ड लगातार दोस्रो वर्ष जितेको छ । कुनै पनि एयरलाइन्सले यो अवार्ड लगातार दोस्रो पटक जितेको यो पहिलो पटक हो । यही विधामा कोरियाको एशियाना एयरलाइन्स दोस्रो र सिंगापुर एयरलाइन्स तेस्रोमा परेको छ ।

९. इभीए एयर, ताइवान

eva-airways

ताइवानको अन्तराष्ट्रिय विमान सेवा इभीए एयर नवौं स्थानमा परेको छ । अघिल्लो बर्ष १२ औं स्थानमा रहेको इभीए एयर विश्वका उत्कृष्ट एयरलाइन्सहरुको सूचीमा चार स्थानमाथि उक्लिदै पहिलोपटक उत्कृष्ट १० मा पर्न सफल भएको हो ।  साथै उसले सबैभन्दा सफा एयरलाइन्सको अवार्ड समेत पाएको छ । यो विधामा दोस्रो स्थानमा सिंगापुर एयरलाइन्स र तेस्रोतमा जापानको एएनए एयरलाइन्स रहेको छ ।

१०. क्वान्टास एयरवेज

qantas-airways

दशौं नम्बरमा क्वान्टास एयरवेज छ । अष्ट्रेलियाको यो एयरलाइन्सले अष्ट्रेलिया/प्यासिफिकमा भने उत्कृष्टको अवार्ड पनि हात पारेको छ । कतारलाई पछि पार्दै क्वान्टासले वेष्ट विजनेश क्लास कम्र्फट एमिनिटिसको अवार्ड पनि जितेको छ ।

बजेट एयरलाइन्समा एयर एसिया उत्कृष्ट

उत्कृष्ट बजेट एयरलाइन्सको अवार्ड भने सातौं वर्ष पनि मलेसियाको एयर एसियाले जितेको छ । एयर एशियाले नेपालमा पनि सातामा पाँच उडान गर्दै आएको छ । दोस्रो नम्बरमा भर्जिन अमेरिका छ भने तेस्रोमा नर्वेजियन एयर रहेको छ । त्यसपछि क्रमशः इस्ट जेट, जेटस्टार एयरवेज, एयर एसिया एक्स, इण्डिगो, वेष्ट जेट, जेटस्टार एसिया र स्कोट छन् ।

Air-Asia-2

नेपाल उडान गर्ने अरु कति नम्बरमा ?

नेपाल उडान भर्दै आएको ड्रागन एयर १८ नम्बरमा परेको छ भने थाइ एयरवेज १९ नम्बरमा । मलेसियन एयरलाइन्स २४ नम्बरमा छ भने एयर एशिया २५ नम्बरमा ।

ओमान एयर ३५ नम्बरमा छ भने चाइना साउदर्न ३६ नम्बरमा परेको छ । यसैगरी कोरियन एयर ३८ नम्बरमा परेको छ भने सिल्क एयर ४२, एयर एशिया एक्स ४३, इन्डिगो एयर ४४, जेट एयरवेज ७६, चाइना इस्टर्न ८५ र स्पाइस जेट ९४ औं स्थानमा परेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment