१० असार, ललितपुर । ऐतिहासिक र पुरातात्विक रुपमा महत्वपूर्ण ललितपुर शहरमा निजी घरहरु धेरै भत्किएपछि पर्यटकीय महत्वका संरचनामा महाभूकम्पको वितण्डा देखिएन ।
पर्यटकहरु दिन दिनै डुल्ने पाटन संग्रालय, बंगलामुखी, गोल्डेन टेम्पल, मच्छिन्द्र बहाल र रुद्रवर्ण महाविहारमा पनि कुनै संरचना भत्केका छैनन् । अहिले दरवार परिसरको मुलचोक र सुन्दरीचोक, भण्डारखालचोक, सिद्धिपोखरी र सप्निल बगैचा उत्तिकै सुन्दर र सुरिक्षत छ ।

पाटन दरबार क्षेत्रका धातुकला, काष्ठकला र प्रस्तरकलाको अनुपम नमूना अहिले पनि दुरुस्तै छन् । यहाँका मन्दिरहरुका टुँडाल चौकोस र आँखीझ्यालहरुमा भत्केका छैनन् भने बहाल, विहार र स्पुतामा पनि क्षति छैन, न त मूर्तिहरु नै फुटेका छन् ।
पाटन दरवार स्क्वायर परिसरको सम्पदा क्षेत्रका शंकरनारायण र चार नारायण मन्दिर पूर्ण क्षति भयो । पाटन क्षेत्रकै बंगलामुखी, तलेजु र देउ तलेजुको गजुरमा आंशिक क्षति बाहेक अरु सम्पदाहरुमा गम्भीर ठूला दुर्घटना भएनन् ।
भूकम्पपछि अन्य ठाँउ भन्दा ललितपुरका शहरी क्षेत्र तुलनात्मक रुपमा सुरक्षित देखियो । लतितपुरका शहरमा पिलर घरहरु उति साह्रो ढलेका देखिएनन । बजारका पुराना बस्ती ध्वस्तको अनुपात पनि ज्यादै कम छ । भूकम्पको कारण मृत्यु भएको संख्या अतिप्रभावित सबै जिल्ला भन्दा कम १८६ मात्रै छ ।
सरकारले भूकम्पपछि बन्द पाटन दरवार स्क्वायरलगायत ललितपुरका सबै पर्यटकीय क्षेत्र भर्खरै खोलेको छ । भूकम्पपछि ललितपुर शहरका सुन्दर पर्यटकीय क्षेत्र कस्ता भए होला ? एकपल्ट आफै घुमेर हेर्दा कसो होला ?
यो पनि पढ्नुस्
प्रतिक्रिया 4