Comments Add Comment

यार्सा टिप्न गएका ४ जना सेती नदीमा वेपत्ता

१४ असार, चैनपुर । बझाङमा यार्सागुम्बा टिपेर घर फर्किने क्रममा सेती नदीमा बगेर ४ जना वेपत्ता भएका छन् । सैपाल हिमालमा यार्सा टिपेर घर फर्किन लागेका कैलास गाविसका बासिन्दा नदीमा वेपत्ता भएका हुन् ।

Seti-Rever

जिल्लाको कैलास गाविस १ का २५ वर्षीय महेस सिंह, सोही गाउँका ४० वर्षीय सुन्ते शाही, कैलास ४ का २८ वर्षीय सुवन सिंह र कैलाश ६ का ४० वर्षीय डम्बरबहादुर सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

कैलास गाविसको २१ जनाको टोली गत महिना बहुमूल्य जडिबुटी यार्सागुम्बा खोज्न गएको थियो । घर फर्किने क्रममा श्यामबन र चाल्लाबनको बीचमा पर्ने सेती नदीमा काठको साँघु हाल्ने क्रममा चार जना खसेका थिए ।

घटना आइतबार दिउँसो साढे ३ बजेको भए पनि प्रहरीले सोमबार विहान साढे ८ बजेमात्रै थाहा पाएको थियो । २१ जनाको समुहकामध्ये स्थानीय सुरेशबहादुर सिंहले सिमा प्रहरी चौकी धुलीमा सोमबार विहान जानकारी दिएपछि खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरी चौकी धुलीका इन्चार्ज प्रहरी नायव निरीक्षक नारायणबहादुर चन्दको नेतृत्वमा ७ जनाको टोली घटनास्थलतर्फ गएको छ । वेपत्ताको खोजीमा सदरमुकामसहित वरपरका सबै प्रहरी चौकीबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी धुलीबाट १२ घण्टाको पैदल दुरीमा पर्दछ । अविरल बर्षाका कारण सन्चार सेटले काम नगरेको र नदीमा पानीको बहाव बढेकाले वेपत्ता भएकाहरुको खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment