Comments Add Comment

रौतहटमा एक प्रतिशत मात्रै रोपाईं

Rautahat

  • धान रोप्न जमिन ठिक्क पारिए पनि पानी नपरेपछि बाँझै रहेको रौतहटको जमिन

गौतम श्रेष्ठ
१५ असार, रौतहट । असारको आधा महिना बितिसक्दा पनि पर्याप्त पानी नपरेका कारण रौतहटमा एक प्रतिशत मात्रै रोपाईं भएको छ ।

मानो रोपेर मुरी फलाउने दिन १५ असारलाई राष्ट्रिय धान दिवसकारुपमा देशैभरी मनाइरहँदा रौतहटमा रोपाईं नभएर अधिकांश किसानका खेत बाँझै छन् ।

कुल १ लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको रौतहटमा झण्डै ४९ हजार ३ सय हेक्टरमा धान खेती गरिन्छ । धान खेतीका लागि आकाशे पानीको भर पर्दा समयमै रोपाईं हुन नसकेको जिल्ला कृषि विकास कार्यालय रौतहटका वरिष्ठ कृषि विकास अधिकृत मोहन महतोले बताए ।

‘वर्षाको भरमा खेती गर्ने चलन भएकाले र नहरमा पनि पानी अहिलेसम्म नछाडिएकाले १ प्रतिशत भन्दा बढी रोपाईं हुन सकेको छैन,’ वरिष्ठ अधिकृत महतोले भने, ‘मनसुनको अब पनि शुरु नभए रौतहटमा यस वर्ष धान खेतीमा ह्रास आउन सक्छ ।’

गत वर्ष रौतहटमा ९८ हजार ४ सय ४० मेटि्रक टन धान खेती भएको थियो । जिल्लाको उत्तरी भेगमा बागमती सिंचाई आयोजनाको नहरले सिचाई सुविधा उपलब्ध गराए पनि दक्षिणी भेगमा किसानहरु पूर्णरुपमा अकाशे पानीमा निर्भर रहनु पर्ने बाध्यता छ । चर्को गर्मीका कारण खेतहरु सुकेर चिरा पर्न थालेका छन् भने जोतेर ठिक्क पारिएको खेतमा पनि पानी अभावका कारण रोपाईं हुन सकेको छैन ।

मनसुनी वर्षा कुरेर बसेका किसानले समयमा पानी नपरेपछि खेती गर्न गाह्रो भएको बताएका छन् । आर्थिक रुपमा सबल भएका केही किसानले बोरिङ र पम्पसेटहरुबाट पानी हालेर रोपाईं गरे पनि धेरै किसानका खेतहरु बाँझै छन् । पम्पसेटहरुबाट पानी हाल्दा प्रति घण्टा चार सय रुपैयाँ लाग्ने भएकाले पनि महङ्गो रोपाईं गर्न सक्ने क्षमता सबै किसानमा छैन ।

किसान चिन्तित

तराईलाई अन्नको भण्डार भनिए पनि कृषिमा सरकारी चासो कम हुनु, किसानलाई चाहिने सिचाईंको व्यवस्था नभएकाले प्रशस्त उब्जनी गर्न सक्ने जमिनहरु पनि बाँझो रहेको किसानको गुनासो छ ।

सरकारले यस वर्ष ‘धान खेतीमा यान्त्रीकरण, उत्पादन लागतमा न्यूनीकरण’को नारा दिएर धान दिवस मनाइरहँदा रौतहटका किसान भने पानी हाल्ने यन्त्रको महङ्गो लागत खर्च धान्न नसकेर आकाश हेरेर बसीरहेका छन् । आकाशमा बादल देखिए पानी पर्ने आशमा रहने किसान ढीलो मनसुनी वर्षाका कारण यस वर्ष आफ्नो गुजारा चलाउन नै गाह्रो हुने चिन्तामा छन् ।

यो पनि पढ्नुस्

असार १५ सम्म ८ प्रतिशत मात्रै रोपाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment