+
+
Shares

झाडापखाला बारे जान्नैपर्ने ५ तथ्य

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १७ गते ११:०७

Diarrhea

दुषित खाना तथा पानीका कारण लाग्ने रोग झाडापखाला बालमृत्युको प्रमुख कारक तत्वको रुपमा रहँदै आएकेा छ विकाशोन्मुख देशहरुमा । नेपालमा पनि झाडापखालाजन्य रोगका कारण वर्षमा झण्डै १५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ । विश्वमा हुने कुल बाल मृत्युमध्ये एक चौथाइ झाडापखालाकै कारण हुने गरेको बताइन्छ ।

अहिले वर्षातको समय छ । यो समय झाडापखालाले सबैभन्दा धेरै सताउने वा महामारीकै रुप लिने समय पनि हो । तर यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने झाडापखाला सजिलैसँग उपचार गरेर निको पार्न सकिने रोग हो । समयमै यसका लक्षण पहिचान गर्नेहो भने सामान्य औषधि तथा जिवनजलकै सेवनले समेत यो रोग निको हुन्छ । अलिक जटिल अवस्थामा सुइ मार्फत पनि सरीरमा तरल पदार्थ तथा औषधि आपूर्ति गर्नुपर्छ । तर यदि झाडापखाला लाग्दा हेलचेक्राइ गरियो भने यसले ज्यानै लिन बेर लगाउँदैन । त्यसैले झाडापखाला रोगको बारेमा जान्नैपर्ने केही तथ्यहरु छन्, जुन यस्ता छन्-

१. वास्तवमा झाडापखाला आफैमा रोग होइन, लक्षण हो । विभिन्न रोगका कारणले झाडापखाला लाग्नसक्छ । सामान्य अवस्थामा भन्दा धेरै पटक दिसा भयो र दिसा पातलो भयो भने त्यसलाई झाडापखालाको रुपमा लिइन्छ । त्यसका साथै पेट दुख्ने, ज्वरो आउने, भोक नलाग्ने तथा वान्ता आउने यसका लक्षण हुन् । त्यसैले झाडापखाला लागेपछि चिकित्सककोमा उपचारका लागि जानुपर्छ ।

२. प्रायः जिवाणु, विषाणु तथा परिजिवी लगायतको संक्रमणले गर्दा झाडापखाला लाग्दछ, तर कतिपय अवस्थामा संक्रमण विनानै पनि झाडापखाला लाग्नसक्छ । कतिपय अवस्थामा औषधि सेवन, खानाको एलर्जी, अन्य रोग तथा खानेकुराको अपचका कारण पनि झाडापखाला हुनसक्छ । खासगरी खानेकुरामा हुने ल्याक्टोज, चिल्लो तथा कार्बोहाइड्रेटको अपच हुँदा पनि झाडापखला लाग्न सक्छ भने कतिपय अवस्थामा केवल खानपिनको गडबडीले मात्र नभै तनावका कारण पनि पाचन क्रिया असन्तुलित भएर पखाला लाग्नसक्छ ।

३. झाडापखाला लाग्दा दिसा पातलो हुने वा धेरैपटक लाग्ने मात्र होइन, पिसाब निकै कम लाग्ने हुन्छ । पेट बटारिने, दुख्ने, वाकवाकी लाग्ने लगायतका समस्या पनि देखिन्छन् । यदि ४८ घण्टासम्म पनि झाडापखला निको भएन र ज्वरो पनि घटेन भने डाक्टरकोमा गएर परामर्श लिइहाल्नु पर्छ, किनकी यो निकै कडा खालको झाडापखलाको संकेत हो ।

४. झाडापखालाको उपचारको आधारभुत उद्धेश्य भनेको दिसा हुने प्रक्रियालाई सामान्य अवस्थामा ल्याउनु नै हो । औषधि खाँदा पनि पखाला रोकिएको छैन भने घरेलु जडिबुटी लगायतको सेवन गर्ने तथा पर्याप्त पानी तथा झोलिलो पदार्थ खाएर पानीको कमी हुनबाट बच्नुपर्छ । तर यसो गर्दा डाक्टरको परामर्शमै गर्नुपर्छ । झाडापखालाको बेलामा सरीरमा जलवियोजन भयो भने मृगौला फेल हुने तथा सरीरमा इलेक्ट्रोलाइटहरुको असन्तुलन भएर विभिन्न खाले समस्या उत्पन्न हुने जोखिम रहन्छ ।

५. झडापखाला खाना तथा पानीबाट सर्ने रोग हो । त्यसैले स्वस्थ जिवनशैली तथा आनीवानी र स्वस्थ आहार विहारले यो रोग लाग्न तथा फैलिनबाट जोगाउँछ । खाना बनाउनुअघि, खानुअघि तथा दिसा धोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने गर्नुपर्छ । खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरु राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?