Comments Add Comment

नेपाली किशोरलाई म्यानचेस्टर युनाइटेडमा प्रशिक्षणको अवसर

१७ असार, काठमाडौं । नेपालका एकजना किशोरलाई युरोपको विश्वविख्यात फुटबल क्लब म्यानचेस्टर युनाइटेडमा फुटबल प्रशिक्षणको दुर्लभ अवसर प्राप्त भएको छ ।

भर्खरै १३ वर्षमा उक्लिएका झापाका डेनियल डेभिड कटुवाललाई त्यस्तो अवसर प्राप्त भएको हो । यसअघि नेपालीले त्यस्तो अवसर पाएका थिएनन् ।

आठ दिनको छोटो तर कडा प्रशिक्षण (म्यानचेस्टर समर क्याम्प) मा सहभागी हुन उनी बुधबार लन्डन प्रस्थान गरेका छन् । क्याम्पमा प्रवेश पाएपछि डेनियलले आठै दिन त्यहाँ कडा प्रशिक्षण लिनुपर्नेछ ।

उनी चर्चित हेयर स्टाइलिस्ट निल डेभिड कटुवालका पुत्रसमेत हुन् । झापा घैलाडुब्बा–९ लक्ष्मीपुरका डेनियलले गत वर्ष २०१४ मा थाइल्यान्ड पुगेर फुटबलको प्रशिक्षण लिएका थिए । डेनियलले थाइल्यान्डको बैंककमा प्रिमियर एकेडेमीमा दुई महिना लामो फुटबल प्रशिक्षण लिएका थिए ।

उनलाई स्कटल्यान्डका कोच केभिनले प्रशिक्षण दिएका थिए । उनी बैंककमै भएको क्रिसमस ट्रफी प्रतियोगितामा समेत सहभागी भएका थिए । प्रतियोगितामा डेनियलले उत्कृष्ट खेल प्रदर्शन गरेर प्रशिक्षक केभिनको मन जितेकाले केभिनले उनको खेलको प्रशंसा गरेका थिए । डेनियल हाल भने फुटबलर राजु शाक्यबाट नेसनल फुटबल एकेडेमी बानेश्वरमा प्रशिक्षण लिइरहेका थिए ।

उनी हाल राजधानीमा बसेर ताहाचलस्थित रुपिज इन्टरनेसनल स्कुलमा कक्षा ८ मा अध्ययन गरिरहेका छन् । ‘फुटबल मेरो लाइफकै सबैभन्दा ठूलो सपना हो । म भविष्यमा फुटबलमै करियर बनाउन चाहन्छु । त्यसका लागि अहिलेदेखि नै अभ्यास गरिरहेको छु । जस्तोसुकै कडा परिश्रम गरेर भए पनि फुटबलमा इतिहास रचेर देशको नामलाई उँचो राख्नेछु’– डेनियल भन्छन् ।

पिता निल डेभिडका अनुसार डेनियलले आगामी डिसेम्बर महिनामा इटालीको एक विश्वविख्यात फुटबल एकेडेमीबाट पनि फुटबल प्रशिक्षण लिनेछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment