Comments Add Comment

चीन र भारतलाई तीन घण्टामै यसरी जोड्न सकिन्छ

पुष्प दुलाल

१८ असार, काठमाडौं । चीन र भारतलाई तीनघन्टाको सडक यात्रामा जोड्न सकिने एक प्राविधिक अध्ययनले देखाएको छ ।  चितवनको ठोरीदेखि रसुवाको सीमानाका हुँदै चीनको केरुङ जोड्ने लोकमार्ग निर्माण अभियानको अग्रसरतामा डा. राजन सुवालले यस्तो अध्ययनले यस्तो देखाएको हो ।

Thori Kurung Lok marga

उनको टोलीले गरेको प्राविधिक अध्ययनमा उत्तरी सीमानामा रहेको केरुङदेखि भारतको सीमानामा रहेको ठोरीसम्म १ सय ६८ किलोमिटर लामो सडकले जोड्न सक्ने सम्भाव्यता देखिएको छ । सडकमा घुम्तीहरु कम हुने गरी अध्ययन गरिएकाले सजिलैसँग प्रतिघण्टा ६० देखि ७० किमीको गतिमा सवारी साधन कुदाउन सकिने सुवालको प्रतिवेदनमा उल्लेेख छ ।

३० अर्ब लाग्ने

यो मार्ग बनाउनका लागि ३० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । ३.५ किलोमिटर सुरुङमार्ग निर्माण गर्न १४ अर्ब रुपैयाँ र बाँकी बाटो बनाउन १५/१६ अर्ब रुपैयाँ लाग्ने सुवालले बताए ।

कूल १ सय ६८ किलोमिटरमध्ये ४० देखि ५० किलोमिटर मात्रै नयाँ बाटो बनाउनुपर्ने र बाँकी रहेको केही सडक स्तरोन्नति गरे पुग्ने प्रस्ताव गरिएको छ । केरुङ र ठोरी दुबै व्यापारिक नाका हुन् । रसुवाको रसुवागढीदेखि चीनको व्यापारिक नाका केरुङ पुग्न २५ किलोमिटर लाग्छ भने चितवनको ठोरीदेखि भारतको व्यापारिक शहर नरकटिमागञ्ज पुग्न १२ किलोमिटर छ ।

Chitwan-kerung-thori-marga
ठोरी-केरुङ लोकमार्गको चितवन राष्ट्रिय निकुञ्ज भित्र प्रस्ताव गरिएको सडकको नमूना

केरुङमा सन् २०२० सम्म रेल सेवा सञ्चालन हुँदैछ भने नरकटिमागञ्जमा हाल पनि रेल सेवा सञ्चालन छ । ठोरी केरुङ सडक सञ्जाल विस्तारसँगै दुबै देशको रेलमार्गसम्म नेपालको पहुँच सहज हुनेछ ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सुवालले प्राविधिक अध्ययनको प्रारम्भिक प्रतिवेदन सार्वजानिक गर्दै यो बाटो निर्माण भए दुई देशबीच व्यापार गर्न सहज हुने र त्यसको प्रत्यक्ष आर्थिक तथा सामाजिक फाइदा नेपाललाई पुग्ने बताए । ‘हामीले गरेको अध्ययन गरी प्रस्ताव गरेको यो लोकमार्गमा घुम्तीहरु अत्यन्तै कम छन्’ सुवालले भने- ‘यो सडकमा प्रतिघन्टा आरामसँग ६० देखि ७० किमीको गतिमा सवारी साधन कुदाउन सकिन्छ । जसअनुसार तीनघण्टामै चीन र भारत जोडिनेछ ।’

केरुङबाट रसुवाको रसुवागढी, नुवाकोट, धादिङ र चितवन हुँदै भारतको ठोरीसम्म पुग्नेछ । बीचमा ३.५ किलोमटिर सुरुङमार्गको प्रस्ताव गरिएको छ । अहिले पनि रसुवागढीदेखि ठोरीसम्म २ सय ५७ किलोमिटर लामो बाटो छ । तर, यो बाटो लोकमार्ग नभई विभिन्न बाटोहरु हुँदै जानुपर्छ । लोकमार्ग बनाउँदा सय किलोमिटर दुरी घट्ने डा. सुवालले बताए ।

लम्बाइ घटाउँदा पाँचवर्षमा जोगिने इन्धनको खर्चले सडक निर्माण हुने उनले दाबी गरे ।

राष्ट्रिय निकुञ्जभित्र सडकका बीचबीचमा कल्भर्ट बनाएर जनावर आवत जावत गर्न सहज बनाउने प्रस्ताव गरिएको उनले बताए । ‘कल्भर्ट बनाइयो भने कम लागतमै लोकमार्ग सम्पन्न हुन्छ’ सुवालले भने, होइन भने निकुञ्जको जंगलभरि आकाशे पुल बनाउन प्रस्ताव गरिएको छ । तर, यसो गर्दा खर्च चाहीँ बढ्छ ।’

चितवनको नारायणघाटबाट हुँदै ठोरीसम्म पुग्न निकुञ्जको जंगल पार गर्नुपर्छ । निकुञ्जबाट सडक लान नदिएका यो सडकको लम्बाइ १ सय ९० किलोमिटर पर्छ ।

द्रुतमार्ग जत्तिकै महत्वको सडक

चितवन क्षेत्र नं. ३ का सभासद कृष्णभक्त पौडेलले यो लोकमार्ग सरकारले बनाउन लागेको दु्रत मार्गजतिकै महत्वपूर्ण भएकोे बताए । उनले यो मार्गलाई आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न दबाब दिने प्रतिवद्धता व्यक्त गरे ।

सुरक्षित र छोटो बाटो

यो बाटो बनेपछि नेपालको बाटो हुँदै चीन र भारतले सुरक्षित र छिटो आफ्नो व्यापार विस्तार गर्न सक्ने अभियानका संयोजक तारा पौडेलले बताए । ‘हाम्रो भूमिको बाटो हुँदै व्यापार बढेपछि नेपाललाई ठूलो फाइदा हुन्छ ।’ उनले भने ।

हालैमात्र भा रत र चीनका सरकार प्रमुखले लिपुलेकको बाटो हुँदै व्यापार गर्ने सम्झौता गरेका छन् । तर, नेपालीहरुले भने उक्त सम्झौताको विरोध गरिरहेका छन् । विश्वका शक्तिशाली दुई महाराष्ट्रको पुलको काम यो लोकमार्गले गर्ने भएकाले उनीहरुले पनि यो सडक निर्माण गर्न सहयोग गर्ने पौडेलले बताए ।

सरकारले आगामी वर्षको बजेटमा यो आयोजनालाई राष्ट्रिय प्राथमिकताको आयोजना बनाएर विस्तृत अध्ययन थाल्ने उनको विश्वास छ ।

‘हामीले भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई भेटेर यो लोकमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आग्रह गरेका छौं ।’ पौडेलले भने- उहाँहरु निकै सकारात्मक हुनुहुन्छ । विश्वास आगामी बजेटमा यो मार्ग प्राथमिकताका साथ उल्लेख हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment