Comments Add Comment

रौतहटका तीनवटै नगरपालिका र जिविस बन्द

Rautahat-Strike

गौतम श्रेष्ठ
२० असार, रौतहट । गौर नगरपालिकाका कार्यकारी अधिकृत सुनिल यादवलाई सदभावना पार्टीका जिल्ला अध्यक्षले अपशब्द प्रयोग गर्दै हातपात गरेको भन्दै कर्मचारीहरुले रौतहटका तीन नगरपालिका र जिविस कार्यालय अनिश्चितकालका लागि बन्द गरेका छन् ।

सदभावना पार्टीका रौतहट जिल्ला अध्यक्ष शेष जमसेद सहितका केही व्यक्तिहरुले शनिवार बेलुका नगरपालिकाका कार्यकारी अधिकृतलाई दुर्व्यवहार गरेको भन्दै स्थानीय निकाय कर्मचारी संघ र नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको आह्वानमा आइतबारदेखि अनिश्चितकालीन गौर, गरुडा र चन्द्रपुर नगरपालिका कार्यालय बन्द गरिएको हो । कर्मचारीहरुले जिल्ला विकास समिति रौतहटको कार्यालय पनि ठप्प पारेका छन् ।

काम बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

आर्थिक वर्षको अन्त्यतिर सदभावना जिल्ला अध्यक्ष जमशेदले गौर नगरपालिकालाई बलपूर्वक तीन लाखको कार्यादेश दिन दवाव दिएपछि कार्यकारी अधिकृत यादवले मानेका थिएनन् । ‘जमशेदले जबरजस्ती ३ लाखको कार्यादेश र २० वटा शौचालय माग गर्दार् मैले दिन नसक्ने बताएँ,’ कार्यकारी अधिकृत यादवले भने, ‘उनलाई भने बमोजिमको कार्यादेश दिन नमाने पछि कोठामा भएको कुर्सीलाई लात्तीले हान्दै गाली गलौज र हातपात समेत गरे ।’

जमशेदले आफूलाई कुट्न खोज्दा कार्यालयका केही कर्मचारीले जोगाएको यादवले बताए ।

राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरेको विरोधमा आज विहान कर्मचारी मिलन केन्द्रमा बसेको स्थानीय निकाय कर्मचारी संघ र नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको संयुक्त बैठकले दोषीलाई स्थानीय प्रहरी प्रशासनले कारवाही नगरेसम्म आइतवारदेखि अनिश्चितकालिका लागि तीनवटै नगरपालिका र जिल्ला विकास समितिको कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

‘बिदाको दिन समेत कार्यकारी अधिकृतको कोठामा गई जबरजस्ती काम माग्ने र हातपात गर्ने काम भएकोले हामीले अनिश्चितकालीन समयका लागि सेवा अवरुद्ध पारेका हौं,’ नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ अध्यक्ष विनोद पासवानले भने, ‘कार्यालय भित्रै को कुनबेला कुटिने हो ठेगान छैन । सुरक्षाको ग्यारेन्टी र काम गर्ने वातावरण नभएसम्म हामी काम गर्दैनौं ।’

गल्ती गरेको छैन : जमशेद

सदभावना जिल्ला अध्यक्ष शेष जमशेदले भने आफूले कुनै गल्ती नगरेको र नगरक्षेत्रका बिजुली खम्बाहरुमा बत्ति लगाउन अनुरोध गर्दा नमानेकाले चर्काचर्की बहस मात्रै भएको बताए । उनले आफूले हातपात नगरेको बताए ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गौर नगरपालिकाका कार्यकारी अधिकृत यादवलाई दुर्व्यवहार गरेको भन्ने विषयमा स्थानीय प्रशासनले छानविन गरिरहेको र दोषि पाइएमा जमशेद लगायतका व्यक्तिहरुलाई कारवाही गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment