Comments Add Comment

हाम्रो पार्टी कम्युनिष्ट नै भन्न नमिल्ने भइसक्यो : प्रचण्ड

prachanda (1)

२७ असार, काठमाडौं । राष्ट्रिय नाचघरमा एमाओवादी कार्यकर्ताहरु खचाखच थिए । ड्यासमा बसेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माणमा सहमतिको औचित्य प्रष्ट्याइसकेपछि अर्का नेता डा. बाबुराम भट्टराईले पार्टीलाई नयाँ बनाउनुपर्ने वैचारिक आधारहरु राखे ।

कार्यकर्ताले थप्पडी बजाएर नेतालाई हौसला दिए । प्रमुख अतिथि रहेका पार्टी अध्यक्ष प्रचण्ड पनि के कम । उनले आफ्नो पालो आएपछि भने- ‘हाम्रो पार्टी कम्युनिष्ट पार्टी नै भन्न नमिल्ने जस्तै भइसकेको छ, स्थार्थै स्वार्थले भरिएको गुटजस्तो भएको छ पार्टी ।’

एमाओवादी पार्टी बिगि्रएको स्वीकारोक्तिसहित प्रचण्डले भने- ‘पार्टीमा समानान्तर गुटहरु छन्, एउटा हैन, दुईवटा हैन, तीनवटा, चारवटा पनि हैन, ८/९ वटासम्म समानान्तर कमिटीहरु छन्, एउटा जिल्लामा । यसलाई करेक्सन नगर्ने हो भने पार्टीलाई विघटन हुनबाट कसैले रोक्न सक्दैन ।’

बुर्जुवाहरुको भनाइ र गराइमा एकरुपता नहुने भन्दै प्रचण्डले कार्यकर्तालाई सोधे-‘म, बाबुरामजी र नारायणकाजीजीलाई मात्रै नसोध्नोस्, के तपाईहरुको पनि भनाइ र गराइमा एकरुपता छ ?’

prachanda (5)

आफ्नो पार्टीभित्र भनाइ र गराईमा एकरुपता हुन छाडेको प्रचण्डले गुनासो गरे । उनले भने- ‘हामी नयाँ नयाँ भन्दै हिँडेका छौं, समानान्तर कमिटी बनाइरहेका छौं । नयाँ भनेको के हो ? समानान्तर कमिटी हो ? नयाँ भनेको गुटबन्दी हो ?’

डा. बाबुराम भट्टराई समूहले अघिल्लो साता काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमतर्फ लक्षित गरेजस्तो गरी प्रचण्डले भने-‘कार्यदिशा एउटै छ, तर गुट बनाउन छाडेका छैनौं, के हो यो ?’

शान्ति प्रक्रियामा आएपछि सामन्त दलाल र बुर्जुवाहरुसँग उठबस गर्ने क्रममा आफ्नो पार्टी थाहै नपाई बुर्जुवाजस्तो बनेको प्रचण्डले दुखेसो पोखे ।

समस्याको समाधान २५ बुँदे

एमाओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा आफूले प्रस्तुत गरेको २५ बुँदे प्रस्ताव नै समस्याको समाधान भएको बताए । आफूले बाबुराम र नारयणकाजीसँग लामो छलफल गरेर २५ बुँदे प्रस्ताव तयार पारेको उनले बताए ।

‘मैले मंसिरमा २५ बुँदे प्रस्ताव पेश गरेको हुँ, त्यसपछि पार्टीभित्र सकारात्मक माहौल बनेकै हो,’ प्रचण्डले कार्यकर्तालाई भने,’त्यो प्रस्ताव लगत्तै संविधानसभा भित्र र बाहिर ३० दलको आन्दोलन गर्नुपर्‍यो, त्यसपछि भूकम्प गयो, छलफलै गर्न पाइएन ।’

पार्टी पुनर्निर्माणको प्रस्तावमाथि केन्द्रीय समितिमा कम्तिमा १५ दिन छलफल गरिनुपर्ने प्रचण्डले बताए । अहिलेसम्म राजनीति र संविधान निर्माणको कामले छलफल गर्न नभ्याएको भन्दै उनले यसमा आफ्नो या अरु कुनै नेताको नियतका कारण छलफल नभएको भनेर नबुझ्न उनले कार्यकर्तालाई सम्झाए । अब यो प्रस्तावमा छलफल गरिने उनले बताए ।

अब पहलकदमी एमाओवादीकै हातमा

एमाओवादी अध्यक्ष प्रचण्डले अब देशको राजनीतिक पहलकदमी एमाओवादीको हातमा आउन लागेकाले पार्टीमा सबै एकतावद्ध हुनुपर्ने बताए ।

‘कांग्रेस र एमालेले एकलौटी संविधान बनाउँछौं भनेका थिए, हामीले रोक्यौं,’ प्रचण्डले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘केहीले हिन्दु राष्ट्र फर्काउने र नाति राजा बनाउने कुरा गर्न थालेका थिए, हामीले हिम्मतका साथ सहमति गरेर संविधान आउने वातावरण बनायौं ।’

अब वामपन्थीहरुवीच ध्रुवीकरण हुने र चाँडै नै एमाओवादीका हातमा राजनाीतिक पहलकदमी आउने र फेरि एकपटक एमाओवादीले देखको नेतृत्व गर्ने प्रचण्डले दाबी गरे ।

प्रचण्डको अभिव्यक्तिले अब फेरि एमाओवादी पार्टी देशको ठूलो दल बन्न सक्ने दाबी प्रस्तुत गरिहरेको स्पष्ट बुझ्न सकिन्थ्यो ।

माओ भन्नुहुन्थ्यो- गल्तीबाट नडराऊ

आफ्नो मन्तव्यको सुरुमा एमाओवादी अध्यक्ष प्रचण्डले गल्तीबाट सिक्नुपर्छ भन्दै नैतिक शिक्षा मिश्रति मन्यत्व दिए । ‘गल्ती नगर्ने कोही पनि हुँदैन, हामीले गल्तीबाट सिक्नुपर्छ,’ प्रचण्डले कार्यक्रममा भने, ‘माओले भन्नुहुन्थ्यो, गल्तीदेखि नडराऊ । हामी गल्तीबाट डराएको भए जनयुद्ध पनि हुँदैनथ्यो र शान्ति सम्झौता पनि हुँदैनथ्यो ।’

भिडियो

तर, अब गल्ती सच्याउने नाममा बुर्जुवा, वा उग्रवादी जस्तो नभई मार्क्सवादी तरिकाले गल्ती सच्याउनुपर्ने प्रचण्डले बताए ।

प्रचण्डले आफूहरुले उमेरमा देशका लागि सकेजति गरेको भन्दै अब युवापुस्ताले गर्नुपर्ने बताए । उनले फेरि माओलाई सम्झिए-‘माओले एक ठाउँमा भन्नुभएको थियो, देश युवाहरुको हो, हुन त हामो पनि हो, तर अन्तिममा तपाई युवाहरुकै हो । भविश्य तपाई युवाहरुकै हातमा छ ।

विद्यार्थीले जुराएको साइत

पछिल्लो समय एमाओवादी पार्टीभित्र विवाद बढ्न थालेको मिडियामा चर्चा आउन थालिरहेका बेला अखिल क्रान्तिकारीले आइतबार नाचघरमा पार्टीका तीन शीर्ष नेतालाई एकै ठाउँ उभ्याएको हो ।

भूकम्पको पुनर्निर्माणमा खटिएका राष्ट्रिय श्रम अभियानका योद्धालाई सम्मान गर्ने एवं प्रशिक्षण कार्यक्रमको ब्यानरमा तीनशीर्ष नेता कार्यक्रममा उपस्थित भएका थिए ।

पार्टीले २५ बुँदले प्रस्तावबारे छलफल सुरु नगर्दै विद्यार्थीले यसमा बहसको अवसर जुटाइदिएको भन्दै कार्यक्रममा प्रचण्डले विद्यार्थीहरु संगठनका नेतालाई धन्यवादसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment