Comments Add Comment

हिजो नेपालको साह्रै खराब दिन : पारस खड्का

२९ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आयरल्यायण्डविरुद्धको खेलमा टस हार्नुसित खराब ब्याटिङको कुनै सम्वन्ध नरहेको बताएका छन् ।

टी-२० विश्वकप छनोटमा घरेलु टोलीसँग लज्जास्पद हार व्यहारर्नुलाई उनले ‘एउटा एकदमै खराब दिन’ को संज्ञा दिएका छन् ।
Parash-Khadka
सोमबार राति घरेलु टोली आयरल्याण्डविरुद्ध टस हारेर व्याटिङको निम्तो पाएको नेपाल आफ्नो अहिलेसम्मकै र टी-२० इतिहासकै दोस्रो न्यून ५३ रनमा अलआउट भएको थियो । उक्त खेल आयरल्याण्डले ८ विकेटले जितेको छ ।

क्रिकइन्फोसँगको कुराकानीमा कप्तान पारसले आयरल्याण्डसितको खेललाई बिर्सेर नेपाल अघि बढ्नुको विकल्प नभएको बताएका छन् । ‘हामीले १३०-१४० रनसम्म बनाएको भए उनीहरुलाई दबावमा राख्न सक्थ्यौं । तर, ब्याटिङमा हामीले सहजै घुँडा टेक्यौं’ खड्काले भने ।

नेदरल्याण्ड्ससित चार खेल खेल्दा र आयरल्याण्डमा १० दिन बिताउँदा नेपाली टोलीले त्यहाँको माहोलमा अभ्यस्त भएको धारणा खड्काले राखे । ‘फरक कन्डिसनहरुमा खेल्न हामीले आफूलाई प्रमाणित गर्न सक्नुपर्छ’ उनले भने-‘यदि हामीले एकदिवसीय मान्यता पाउने लक्ष्य राखेका छौं भने यी सबै टिमहरुलाई टक्कर दिने क्षमता विकास गर्नैपर्छ । कन्डिसनलाई बहाना बनाउनु बेकार छ ।’

उनले फरक ठाउँहरुमा फरक कन्डिसनको सामना गर्नु नै क्रिकेटको सुन्दरता भएको बताए । कप्तान पारसले भनेका छन्, ‘आयोजक देश बाहेक अरु सबैका लागि त्यहाँको कन्डिसन फरक नै हुन्छ । हामीले सकारात्मक मनस्थितिका साथ अबका म्याचहरुमा भिड्नुपर्छ ।’

उपकप्तान ज्ञानेन्द्र मल्ललाई ३ नम्बरबाट झारेर ५ नम्बरमा खेलाउने निर्णयको उनले प्रतिरक्षा गरेका छन् ।
तर, उनले टिमले बनाएको रणनीति सफल हुन नसकेको स्वीकार गरे । ‘हामीले सुरुमा अलिकति आक्रमक ढंगले खेलेर आयरल्याण्डलाई दबावमा राख्ने रणनीति बनाएका थियौं । तर, हाम्रो रणनीति सफल भएन’ उनले भने-‘कुनै पनि ब्याट्सम्यानले यही नम्बरमा खेल्नुपर्छ भन्ने नियम छैन । जूनसुकै पोजिसनमा पठाउँदा पनि पर्फम गर्न सक्ने खुबी ब्याट्सम्यानमा हुनैपर्छ ।’

लज्जास्पद हारका बाबजुद कप्तान खड्का नेपाल टी-२० विश्वकपमा छनोट सम्भावनाबारे सकारात्मक छन् ।
त्यसका लागि बाँकी खेलमा सतप्रतिशत प्रदर्शन गर्नुपर्ने उनको धारणा छ । खड्काले भने-‘अहिलेसम्म सबै टोलीको सम्भावनाका ढोका खुल्ला छ । हामीले आफ्नो एकाग्रता गुमाउनु हुँदैन । जितको भोक देखाउनुपर्छ । जति भोक देखायो, त्यति नतिजा आफ्नो पक्षमा आउँछ ।’

३ खेलबाट ३ अंक जोडेको नेपाल समूह ए को चौथो स्थानमा छ र अब हङकङ, पपुवा न्यूगिनी र जर्सीसँग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment