Comments Add Comment

चिनियाँ पत्रकारले सुरु गरे ‘नेपाल जाऔं’ अभियान

Chinese-Tourist-at-Sauraha

  • लेट्स गो नेपाल अभियानमा सहभागी चिनियाँ टोली चितवनको सौराहामा

राजेन्द्र आचार्य
२९ असार, सौराहा । भूकम्पका कारण प्रभावित बनेको नेपालको पर्यटन क्षेत्रलाई उकास्न चिनियाँ पर्यटकहरुले नेपाल जाऔं अभियान (लेट्स गो नेपाल) अभियान सुरु गरेका छन् ।

चिनियाँ संस्था ईताउचोले ‘लेट्स गो टुगेदर’ कार्यक्रम अन्तर्गत ‘नेपाल जाऔं’ अभियान सुरु गरेको हो ।

मंगलबार चितवनको सौराहामा आयोजित कार्यक्रममा एवम् अभियानका सदस्य एवम् चिनियाँ पत्रकार हाओ होले भूकम्पबाट सुरक्षित चितवन, पोखरा, लुम्विनी, काठमाडौं लगायतका बिभिन्न पर्यटकीय क्षेत्र भ्रमण गराइने बताए ।

‘नेपाल-चीन सम्बन्धको ६० औं बर्षसँगै चीन सरकारले नेपालका विकासका लागि विभिन्न योजनाहरु अघि सारेको छ,’ उनले भने, ‘भूकम्पले नेपालको पर्यटन क्षेत्र प्रभावित भएको खबर थाहा पायौं । पनि गर्न सक्छौं की भनि स्थलगत अध्ययन गरी पर्यटन प्रर्वद्धनका लागि नेपाल आएका हौं ।’

नेपालको प्रत्यक्ष अवलोकन गरी नेपाल जाऔं भन्ने अभियानका लागि चिनियाँ पत्रकारसहित २० जनाको टोली नेपाल आएको छ । टोलीमा बेइजिङ, सांघाई, चेन्दो, हङकङलगायत शहरका पत्रकार छन् ।

Chinese-Tourist-at-Sauraha
चिनियाँ पत्रकारहरुसँगको अन्तरक्रियामा सहभागीहरु

नेपालका पर्यटन क्षेत्र सुरक्षित छन् भन्ने सन्देशका लागि विभिन्न श्रव्य दृश्यसहित पत्रपत्रिकामा समाचार प्रकाशित गरी नेपालमा चिनियाँ पर्यटक भित्राउने उनीहरुले बताए ।

चितवनका मुख्य पर्यटकीय क्षेत्र सौराहा, पटिहानी, जगतपुर लगायतका ठाउँहरु अवलोकन गरेपछि सौराहास्थित होटल जंगल क्राउनमा मंगलबार चिनियाँ पत्रकारहरुको टोलीले अन्तक्रिया गरेको छ ।

अन्तर्क्रियामा स्थानीय पर्यटन व्यवसायीहरुले भूकम्पपछि चितवनको पर्यटकीय क्षेत्र सुरक्षित रहेको सन्देश चीनसम्म पुर्‍याइदिन चिनियाँ टोलीलाई आग्रह गरे ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष एवं होटल जंगल क्राउनका अध्यक्ष डा. तिलचन्द्र भटराईले चितवनसहित नेपालका पर्यटकीय क्षेत्रहरु सुरक्षित रहेको बताए । ‘भूकम्पले काठमाडौं उपत्यका केही प्रभावित भए पनि दोश्रो र तेश्रो पर्यटकीय क्षेत्र सौराहा तथा पोखरा सुरक्षित छन्,’ उनले भने ।

कार्यक्रममा होटल जंगल क्राउनका महाप्रबन्धक सन्तोष गिरीले ‘वातावरणमैत्री सौराहामा पर्यटन’ भन्ने विषयमा श्रव्यदृष्य सहितको कार्यपत्र प्रस्तुत गर्दै सौराहा सुरिक्षत भएको बताएका थिए ।

यसैगरी होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडी, होटल गि्रन पार्कका म्यानेजर राधा श्रेष्ठ, होटल ईडेन गार्डेनका प्रबन्ध निर्देशक लोईस श्रेष्ठ, चराविद टिका गिरीलगायतले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको यथार्थ सन्देश प्रवाह गरिदिने विश्वास व्यक्त गरे ।

८ दिन नेपालमा बिताएको चिनियाँ पत्रकारहरुको टोलीले विभिन्न सामाग्री तयार पारी चीनमा प्रचार प्रसार गर्ने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment