Comments Add Comment

आयल निगमले ३४ हजार मेट्रिकटन क्षमताको ग्याँस भण्डारण डिपो बनाउने

३१ असार, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि आफै ग्यास भण्डारण गर्ने भएको छ । यसका लागि मुलुकका विभिन्न पाँच स्थानमा ३५ हजार मेट्रिक टन क्षमताको ब्लक भण्डारण टयांक निर्माण गर्ने निगमले जनाएको छ ।

Nepal Oil Corporation (NOC)

अहिलेसम्म निगमको आफ्नै ग्यास भण्डारण एवं बोटलिङ प्लान्ट छैन । निगमले निजी क्षेत्रका बोटललिङ प्लान्टलाई ग्यासको पीडीओ बिक्री गर्दै आइरहेको छ । करिव ५५ वटाको संख्यामा रहेका बोटलिङ प्लान्टसँग पनि जम्मा ६ हजार मेट्रिक टनमात्र भण्डारण क्षमता रहेको छ ।

‘अहिले नेपालमा गर्मी याममा २०/२१ लाख मेट्रिक टन र जाडो याममा २८/२९ हजार मेट्रिक टन ग्यासको खपत हुन्छ’ निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भने- ‘मुलुकभित्र ग्यास प्रयाप्त भण्डारण गर्न नपाउँदा सानो कारणले पनि ठूलो अभाव सिर्जना हुने गरेको छ ।’

नेपालमा ३४ हजार मेटि्रक टन ग्यास भण्डार गर्न सकेमा केही गरी एक महिना ग्यास नआउँदा पनि धान्न सकिने खड्काको भनाई छ । अहिले निजी क्षेत्रका बोटलिङ प्लान्टको भण्डारले करिव ५ दिनको खपतमात्र धान्न सक्छ ।

हरेक वर्ष ग्यासको खपत १५ प्रतिशतका दरले वृद्धि भइरहेको हुँदा व्यवस्थित गर्न निगमलाई चुनौती बन्दै गइरहेको छ । ग्यासको आपूर्ति व्यवस्थालाई भरपर्दो र विश्वसनिय बनाउन निगमले भण्डारण ट्यांक निर्माण प्रकृया आगामी आर्थिक वर्षदेखि सुरु गर्ने जनाएको छ ।

भण्डारण गरिने स्थान

निगमले जनकपुर, काठमाडौं उपत्यका, मेची-कोशी क्षेत्र, पश्चिमाञ्चल क्षेत्र, मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ग्यास भण्डारण ट्यांक बनाउने तयारी गरिरहेको छ ।

‘जनकपुर र महेन्द्रनगरमा ग्यास भण्डारण डिपो बनाउन हामीसँग जग्गा छ’ कार्यकारी निर्देशक खड्काले भने- ‘त्यहाँ डिपो १० हजार मेट्रिक टन क्षमताको डिपो बनाउन प्रकृया सुरु गरिहाल्छौं ।’ त्यहाँ प्लान्ट निर्माण गर्न ३ देखि ४ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ ।

काठमाडौं उपत्यका आसपासमा २ सय रोपनी क्षेत्रफलमा १० हजार मेट्रिक टन, मेची-कोशी क्षेत्रमा १० विगाहा जग्गामा ५ हजार मेट्रिक टन, पश्चिमाञ्चल क्षेत्रमा १० विगाहा जग्गामा ५ हजार मेट्रिक टन, मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा १० विगाहा जग्गामा ५ हजार मेट्रिक टन क्षमताका प्लान्ट बनाउने निगमको योजना छ ।

पेट्रोलियम भण्डारण क्षमता बढाइने

निगमले मुलुकका विभिन्न स्थानमा १२ हजार किलोलिटर पेट्रोलियम भण्डारण क्षमता बढाउने भएको छ । यसमा डिजेल, पेट्रोल र हवाइ इन्धन पर्छन् ।

निगमका कार्यकारी निर्देशक खड्काले चारआली कार्यालयबाट पेट्रोल ८० किलो लिटर र डिजल २०० किलोलिटर बिक्री भइरहेको बताउँदै उक्त ठाउँमा उपयुक्त भण्डारण सुविधा सहितको इन्धन डिपो निर्माण गर्ने जानकारी दिए । त्यहाँ निगमको आफ्नै करिव ५ विगाहा जग्गा छ ।

एयरपोर्टहरुमा हवाइ इन्धन डिपो

यसैगरी आयल निगमले मुलुकका व्यस्त रहने विमानस्थलहरुमा हवाइ इन्धन डिपो बनाउने भएको छ ।

निगमले आगामी आर्थिक वर्षमा भद्रपुर विमानस्थलमा आधुनिक सुविधाको हवाइ इन्धन डिपो निर्माण गर्ने भएको छ । निगमले ५/६ वर्ष अगाडि नै करिव ३० कठ्ठा जग्गा डिपो निर्माण गर्नका लागि खरिद गरे पनि नगद अभावका कारण बनाउन सकेको थिएन ।

निगमले रामेछापको मन्थलीमा ट्रायल वेसिसमा २ वटा रिफ्यूलर राखेर दुई वर्ष अगाडिदेखि हवाई इन्धन बिक्री गर्दै आएको थियो । त्यहाँ स्थायीरुपमा हवाइ इन्धन डिपो राख्ने जनाएको छ । भूकम्पपछिको उद्धार एवं राहतमा त्यहाँको रिफ्युलिङ सुविधाले उल्लेखनीय सेवा पुर्‍याएको निगमको ठहर छ ।

बाराको विमानस्थलमा दैनिक ५/६ फ्लाइट भइरहेको र काठमाडौंको वैकल्पिक एयरपोर्ट समेत भएकाले त्यहाँ केही बढी भण्डारण सुविधासहितको हवाइ इन्धन डिपो राख्ने निगमले जनाएको छ ।

रक्सौल-अमलेखगञ्ज पाइपलाइनकै रुटमा पर्ने बारा विमानस्थलमा भविष्यमा पाइप लाइनबाट हवाई इन्धन ढुवानी एवं भण्डारण गर्न समेत सहज हुने हुँदा त्यहाँ आधुनिक डिपो एवं भण्डार सुविधा मिलाउने कार्यकारी निर्देशक खड्काले जानकारी दिए ।

यसैगरी निगमले जनकपुरको एयरपोर्टमा सिभिल एभियसन वा अन्य कुनै निकायबाट जग्गा लिएर हवाई इन्धन डिपो राख्ने जनाएको छ । यहाँ सिभिल एभियसनबाट पनि रिफ्युलिङ स्टेशन राख्न आग्रह भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई इन्धन डिपोको पनि क्षमता बढाइने भएको छ । हाल करिव १२/१५ दिनलाई धान्ने हवाई इन्धन भण्डारण गर्न सकिन्छ । यसलाई बढाएर १ महिनासम्म धान्ने बनाउन हालको भण्डारण क्षमतामा ४ हजार किलोलिटर क्षमता बढाउने निगमले जनाएको छ ।

भैरहवास्थित निगमको एकमात्र पेट्रोल पम्पलाई आधुनिकी करण एवं क्षमता विस्तार गरिने भएको छ । भैरहवा विमानस्थलमा करिव ३५ सय किलोलिटर क्षमताको हवाइ इन्धन स्टेशन निर्माण गर्ने निगमले जनाएको छ ।

पोखराको हवाइ इन्धन डिपोमा करिव १५० किलोलिटर भण्डारण क्षमता विस्तार गर्ने, फाप्लु विमानस्थलमा त्यहाँको अवस्था अध्ययन गरी हवाइ इन्धन स्टेशन राख्ने निगमको योजना छ ।

दाङमा पनि हवाई इन्धन डिपो निर्माण गर्ने योजनामा रहेको निगमले धनगढी डिपोलाई शहरबाट बाहिर सारेर सुविधा सम्पन्न डिपो बनाउने निगमले बताएको छ । साथै, अहिलेको क्षमता समेत विस्तार गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment