Comments Add Comment

सिंगल लाइफ नै रमाइलो छ : प्रसन्न पौडेल

Prasanna-Poudel

३ साउन, काठमाडाैं । अहिले चल्तीका म्युजिक भिडियो निर्देशक हुन् प्रशन्न पौडेल । हालसम्म ५ सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका उनी अहिलेका सर्वाधिक व्यस्त नायिका प्रियंका कार्की र केकी अधिकारीका ‘गडफादर’ पनि हुन् ।

पौडेलले आफ्नो करिअर र नेपालको मोडलिङ क्षेत्रबारे आफ्नो अनुभूति अनलाइनखबरसित यसरी सेयर गरे :

म त मादलको तालसँगै जन्मेको मान्छे । बुवा चतुर्भूज आशावादी संस्कृतिविद हुनुहुन्थ्यो । आमा पनि कला क्षेत्रमै सक्रिय हुनुहुन्थ्यो । म बच्चामै डान्स गर्न खप्पिस भएँ । तीन वर्षको उमेरमा स्टेजमा उत्रेको थिएँ । डान्स गर्दा गर्दै ड्रामातिर पनि लागेँ । स्कुल लाइफमा कलाकारितामा निकै व्यस्त रहेँ ।

एसएलसीपछि यो फिल्डमा लाग्दिँन भन्ने सोचाइ आयो । पढाइतिर फोकस गरेँ । म्यानेजमेन्टबाट मास्टर्स सकेपछि टिचर भएँ । एक दिन के सुरले टेलिभिजन छिरेँ । त्यहाँ क्यामरा, लाइट्स देखेपछि पुरानो दिनको याद आयो ।

मेरा मामा मनोहरी थापा एनटीभीमा काम गर्नुहुन्थ्यो । उहाँले टेलिभिजनमा काम गर्ने हो ? भन्नुभयो ।

मामासित सल्लाह गरेर मैले संगीत सन्ध्या भन्ने प्रोग्राम ‘एज अ कोअर्डिनेटर’ चलाएँ । पछि प्रोड्यूसर भएँ । म अनस्क्रिन भन्दा ‘बिहाइन्ड दि क्यामरा’ मा बस्न मन रुचाउने मान्छे । नेपाल टेलिभिजनबाटै म्युजिक भिडियो बनाउन थाल्यौं, साथीहरुसित मिलेर । मैले निर्देशन गरेको पहिलो म्युजिक भिडियो चाहिँ  मौसमी गुरुङको परेलीमै छौ कि कसो भन्ने हो ।

फिक्स रेट छैन
म्युजिक भिडियोमा व्यस्त हुन थालेपछि मैले टिचिङ पेशा चटक्कै छाडिदिएँ । ०६४ सालदेखि भने मैले एनटीभी पनि छाडेर फूलटाइम डाइरेक्टर बनेँ । ठ्याक्कै त भन्न सक्दिँन । तर, अहिलेसम्म ६-७ सय वटा भिडियो गरेँ होला । मैले कहिले सित्तैमा पनि काम गरेको छु भने कहिले एउटा भिडियोको डेढ दुई लाखसम्म पनि लिएको छु । मेरो फिक्स रेट छैन ।

म एउटा भिडियो कम्प्लिट गर्न सामान्यतया १ हप्ता लगाउँछु । गीत सुन्छु । कुनै गीत त एक सय चोटिसम्म सुन्छु ।

हरेक बिटहरु याद गर्छु । शब्दहरुलाई मनन गर्छु । जुन गीतको काम गर्छु, हरदम त्यही गीत मेरो मनले गुनगुनाइरहेको हुन्छ । त्यसपछि म्युजिक भिडियोको कन्सेप्ट निकाल्छु । कहिले एकै छिनमा कन्सेप्ट फुर्छ । कहिले महिनौं पनि लाग्छ । कहिले फुर्दै फुर्दैन । कन्सेप्ट नै नफुरेर केही गीतहरु फिर्ता गरेको पनि छु ।

मैले ल्याएका बिमलेस र केकी
मैले थुप्रै आर्टिस्टहरुलाई इन्ट्री गराएको छु । त्यसमा अहिले चलेको मोडेल बिमलेश अधिकारी पनि एउटा हो । सुरुमा उसलाई मैले भेट्दा निकै दुब्लो थियो । उ मोडलिङमा इच्छुक देखेपछि मैले तौल बढाउन सल्लाह दिएको थिएँ ।

Prasanna-Poudel1त्यसपछि डेढ दुई वर्ष ग्याप भयो । त्यसपछि एउटा प्रोग्राममा भेट भयो । म अलिकति नजर तिम्रो बोलको गीतका लागि मेल आर्टिस्टको खोजीमा थिएँ । मैले विमलेसलाई त्यसमा फिट हुने देखेँ । मैले उसलाई भोलि आफूसित भेट्नलाई भनेँ । बिमलेशलाई लिएर भिडियो तयार भयो ।

त्यतिबेला उ एड एजेन्सीमा ग्राफिक्स डिजाइनरको काम गरिरहेको थियो । मैले उसलाई जागिर छाडेर आउ, अब भिडियोमा तिमी छाउँछौ भनेपछि ऊ उत्साहित भयो । नभन्दै जागिर छोडे पनि । उनको पर्फमेन्स राम्रो छ । तर, सुरुदेखि नै सेन्टिमेन्टलमा आएकाले मान्छेलाई यूज्ड टु भइसक्यो । हि इज गुड एक्टर । मेहनत गर्न खोज्छन् । स्टाइल गेटअपमा पनि ध्यान दिन्छन् । डान्स भने कमजोर छ । डान्स क्लास लिँदैछन् भन्ने सुनेको छु ।

केकीको परिवारसित मेरो पहिल्यैदेखि चिनजान थियो । मैले उनलाई मिङमा शेर्पाको भिडियोका लागि अफर गरेँ । उनले परिवारमा सोध्नुपर्छ भनिन् । अनुमति लिएर गरिन् । मैले उनीसित १८-१९ वटा भिडियो गरेको छु । केकीलाई फिल्ममा भित्र्याउने पनि मै हुँ । मैले निर्देशन गरेको फिल्म स्वरमा उनी नायिका थिइन् ।

केकीको एक्सप्रेसन, डान्स राम्रो छ । सबैभन्दा राम्रो कुरा, एजुकेटेड छ । माइनस प्वाइन्ट भनेको उसलाई क्यारेक्टर रोल मात्र सुहाउँछ । उसलाई सोचेर स्टोरी बनाउनुपर्छ । अहिले फिल्ममा बढी बिजी छ । हामी पहिलेदेखि राम्रो साथी हौं । हाम्रो सम्वन्धलाई लिएर थुप्रै गसीपहरु बनाइए । त्यसलाई मैले कहिल्यै सिरियसली लिइँन ।

टस गरेर प्रियंकालाई हिरोइन बनायौं
प्रियंका कार्कीलाई नायिका बनाउने पनि मै हुँ । त्योबेला मैले निर्देशन गर्न लागेको फिल्म मेरो बेस्ट फ्रेण्डमा झरना बज्राचार्यलाई नायिका बनाउने तय भएको थियो । तर, उनी लण्डन हिँडिन् । उनी फर्किन ६ महिना लेट हुने भयो । हामीले तत्काल सुटिङ सुरु गर्नुपर्ने भएपछि सिक्किमबाट एक नायिकासित कुरा भयो । उसलाई तयार गरेको अवस्थामा जण्डिस भएर आउन पाइनन् । त्यसपछि हाम्रो नजरमा दुई नायिका थिए, एक रुपा उपाध्याय र अर्की प्रियंका कार्की । प्रियंका यूएसमा थिइन् । हामीले रुपालाई लिँदा फाइदा हुन्थ्यो, किनकि उनी नेपालमै थिइन् ।

दुईमध्ये कसलाई रोज्ने भनेर अन्यौल भयो । त्यसपछि हामीले टस गरेर निर्णय लिने सोच बनायौं । फिल्मका दुई नायकलाई टस गर्न लगाइयो । सुरुमा दिवसजीले टस गरे प्रियंका आइन् । त्यसपछि रेसजीले टस गरे, प्रियंका नै आइन् ।

त्यसपछि मैले पनि टस गरेँ, प्रियंका नै आयो । तैपनि हामीले प्रियंकालाई अमेरिकाबाट झिकाउनु महंगो पर्न जान्थ्यो । त्यसैले फेरि हामीले सिनेमाटोग्राफर विदुर पाण्डेलाई टस गर्न लगायौं उहाँले गर्दा पनि प्रियंका नै आयो । ४-४ जनाले गर्दा पनि प्रियंका नै आएपछि हामीले सोच्यौं कि उनलाई लिनु नै हाम्रो भाग्यमा छ ।

त्यसपछि मैले उनलाई अमेरिकामा फोन गरे । उनले आफू तयार रहेको बताइन् । मैले टिकट पठाइदिएँ र उनी आइन् । अहिले उनी नेपाली चलचित्र उद्योगकै सर्वाधिक चर्चित नायिकाको रुपमा स्थापित भएको देख्दा मलाई खुशी नलाग्ने कुरै भएन ।

प्रियंका वास्तवमै ‘हिरोइन मेटरियल’ हो । ग्ल्यामर, डान्स र अभिनयको कम्बिनेसन राम्रो छ । उनी एउटा कम्प्लिट प्याकेज हुन् । एक्टिङ चैं जहिले पनि एउटै जस्तो लाग्छ ।

तीन मिनेटको भिडियो पठाउनुस्
मलाई मोडल बन्न चाहने युवायुवतीहरु धेरैले सम्पर्क गर्नुहुन्छ । सबैलाई म भन्छु कि आफ्नै मोबाइलबाट ३ मिनेटको भिडियो खिचेर मलाई पोष्ट गर्नुस् । त्यसैमा आफूले जानेको अभिनय, डान्स सबै राख्नुस् । म त्यसैका आधारमा मूल्यांकन गरेर चित्त बुझे आफैं बोलाउँछु । म फेस टु फेस भेट्दिन कसैलाई ।

मैले मोडेल छान्दा तीनवटा कुरालाई ध्यान दिन्छु । सबैभन्दा पहिलो एजुकेसन । एजुकेसनले मान्छेलाई सभ्य बनाउँछ । दोस्रो कुरा, दक्ष र तालिमप्राप्त हुनुपर्‍यो । तेस्रो कुरा अपडेट हुनुपर्‍यो । फेसनदेखि सबै कुराको । म सुन्दरतालाई महत्व दिन्न ।

मलाई मन परेका भिडियो
बसन्त चौधरी अंकलले लेखेको, सत्यराजले गाएको गीत थियो । त्यसको कन्सेप्ट निकाल्दा नै मेरो आँखामा आँशु आएको थियो । बियोगान्त इन्डिङ थियो । उषा रजक र बिमलेसले राम्रो गरेका थिए । तर, एल्बमको थिम पोजिटिभ भएकाले पछि चेन्ज गरेर इन्डिङ पनि पोजेटिभ बनाइयो । मलाई भने पहिलेकै इन्ड निकै मर्मस्पर्शी लागेको थियो । यद्यपि त्यो म्युजिक भिडियो पनि मन पराउनुभो दर्शकले ।

यस्तै नरेन्द्र प्यासी ज्यूको माया हो माया भन्ने गीतको भिडियोबाट पनि सन्तुष्ट छु । अरु पनि छन्, जसमा मैले राम्रो गरेँ जस्तो लाग्छ । शिव परियारको धेरैचोटि मरे म त, सुगम पोखरेलको स्कुल पाठशाला, रामकृष्ण दाईको पहाडको छुकछुके रे, । आस्थाको मलाई पुगेन पुगेन लगायत गीतका म्युजिक भिडियोहरु चित्तबुझ्दो बनेका छन् भन्ने लाग्छ ।

सिंगल लाइफ नै रमाइलो
म अहिले सिंगल छु । जीवनको एक वर्ष दाम्पत्य जीवन पनि बिताएँ । ०६४ देखि ०६५ सालको को त्यो अवधि मेरो जीवनको ब्ल्याक आउट हो । त्यसलाई अहिले सम्झिन पनि चाहन्नँ । अहिले सिंगल लाइफ नै इन्जोइ गरिरहेको छु । सिंगल लाइफमै मोज छ नी । स्वतन्त्रता छ । फ्लर्ट गर्न पाइन्छ ।

बिहेका लागि कुनै योजना बनाएको छैन । तर, बाँकी जीवन पनि एक्लै बिताउँछु भन्ने होइन । यदि त्यस्तो अफर आयो भने त पक्कै सोच्ने नै छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment