Comments Add Comment

मौसम र कृषिसम्बन्धी सूचना अब मोबाइलमै

विनोद घिमिरे

३ साउन, काठमाडौं । घरबाट काममा बाहिर नस्किँदा पानीले भिजेर स्वास्थ्य बिग्रिने हो कि ? वा काटेर खेतमै राखिएको बाली उठाउनै नपाई असीनाले चुटेर बर्बाद पार्ने पो हो कि भन्ने चिन्तामा तपाईं हुनुहुन्छ भने अब चिन्ता लिनुपर्दैन ।

mobile sms

किनकि कतिबेला पानी पर्छ, कतिबेला असिना झर्छ वा हावाहुरी आउँछ भन्ने पूर्वसूचना तपाईंले अब आफ्नै मोबाइलमा पाउनुहुन्छ र सोही अनुसार पूर्वतयारी गर्न सक्नुहुन्छ । अब पानी पर्छ कि पर्दैन भनेर तपाई किसानहरुले ब्राह्मणलाई पात्रो हेर्न लगाउनै पर्दैन, आफ्नै मोबाइलको एसएमएस हेरे पुग्छ ।

जल तथा मौसम विज्ञान विभागले देशभरका मोबाइल प्रयोगकर्तालाई बाढीको जोखिमबारे मोबाइलमार्फत् खतराको पूर्वजानकारी दिने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

‘जलस्तर खतराको संकेत भन्दा माथि पुग्यो भने प्रभावित क्षेत्रका बासिन्दाको मोबाइलमा अटोमेटिक एसएमएस जान्छ,’ विभागका महानिर्देशक ऋषि शर्माले अनलाइनखबरसँग भने, ‘ताकी उनीहरु समयै सुरक्षित स्थानमा जान सकुन् ।’

यो सेवा सुरु गर्नका लागि गृह मन्त्रालय, सन्चार मन्त्रालय, दुरसंचार प्राधिकरण लगायतसँग उच्चस्तरीय बैठकको तयारी गरिएको छ । ‘सम्भवत शुक्रबार बैठक बसेर निर्णय गर्छौं र काम पनि सुरु गर्छौं,’ शर्माले भने ।

त्यसका लागि नेपाल टेलीकम, एनसेल, युटिएललगायत ६ वटा मोबाइल सेवा प्रदायक कम्पनीसँग निःशुल्क सेवा दिन छलफल चलाएको र उनीहरु सकारात्मक रहेको शर्माले जानकारी दिए ।

कृषि सूचना पनि मोबाइलमै

जयकुमार गुरुङ, कार्यकारी निर्देशक, नेपाल विकास अनुसन्धान प्रतिष्ठान
जयकुमार गुरुङ, कार्यकारी निर्देशक, नेपाल विकास अनुसन्धान प्रतिष्ठान

मौसम विभागले सुरु गर्न लागेको एसएमएस सेवा जस्तै नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले किसानहरुलाई कृषि सूचना दिने गरेको छ जुन परीक्षणमा सफल मानिएको छ ।

प्रतिष्ठानले मौसमको पूर्वसूचनादेखि कृषि बालीमा कति विषादि कसरी प्रयोग गर्ने, कस्तो खालको बीउ र मलखाद कसरी प्रयोग गर्ने भन्ने जानकारी पनि एसएमएसमार्फत् दिन्छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक जयकुमार गुरुङले भने, ‘हाम्रो यो प्रयास एकदमै सफल भएको छ । मोबाइलमा आउने सूचना अनुसार किसानहरुले पूर्वतयारी र सावधानी अपनाउन पाएका छन् ।’

प्रतिष्ठानले पाइलट प्रोजेक्टका रुपमा धनुषाका सिंगरजोरा र बननियाँ गाविसका करिब २ हजार ५ सय किसानमा यसको प्रयोग गरेको थियो । ती किसानहरुलाई गहुँ, चैते धान, आलु र मुसुरो खेती गर्नुपूर्व, बाली लगाइएको बेलादेखि थन्क्याउने बेलासम्मको मौसम अनुसारको कृषि सल्लाह मोबाइलमा म्यासेज मार्फत पठाइएको थियो ।

मोबाइल भएका किसानहरुलाई मलखाद, सिंचाईं, विषादी र बीउको प्रयोग लगायतका विषयमा स्थानीय भाषामा म्यासेज मार्फत जानकारी पठाइएको थियो भने मोबाइल नभएका किसानलाई सूचना प्रिन्ट गरेर दिइएको थियो ।

‘आज पानी पर्छ है, बाली नकाट्नू भनेर हामीले म्यासेज पठाएपछि किसानहरुले काटेनन् । एक-दुई पानी पर्दैन, बाली थन्काउँदा हुन्छ भनेपछि त्यही अनुसार गरे,’ अनलाइनखबरसँग गुरुङले भने, ‘त्यतिमात्रै होइन, मलखाद र बालीमा कस्तोखालको रोग लाग्यो, के औषधि कसरी प्रयोग गर्ने भनेर किसानहरुले सोधेपछि हामीले एसएमएसमार्फत् जानकारी दिन्छौं र त्यही अनुसार गर्छन् ।’

‘एसएमएसले उत्पादन बढायो’

देशका सबै जिल्लाका किसानहरुलाई यसरी नै जानकारी दिनसकिएमा उत्पादकत्वमा वृद्धि हुने कृषि वैज्ञानिकको धारणा छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ वैज्ञानिक डा. आनन्द कुमार गौतमले यो विधिको प्रयोगले किसानहरुलाई फाइदा पुगेको बताए । यसबाट किसानहरु लाभान्वित भएको र उत्पादन बढाउन पनि सफल भएको उनको भनाइ छ ।

‘यसबाट कृषिमा प्रयोग हुने आवश्यक सामाग्रीको प्रयोगमा सहजीकरण भएको छ भने कृषि बालीमा विषादि प्रयोगको समय, मात्रा, सिंचाई तथा मलखाद व्यवस्थापन गर्न सहज भएको छ,’ गौतमले भने, ‘समग्रमा भन्नुपर्दा प्रतिष्ठानले नेपालमा पहिलोपटक किसानहरुमा गरेको अनुसन्धानबाट किसानहरुलाई लाभ मात्रै पुगेको छै कि कृषि उत्पादन पनि बढेको छ ।’

प्रतिष्ठानको यस काममा नेपाल कृषि अनुसन्धान परिषद (नार्क), जल तथा मौसम विज्ञान विभाग र युएसएआईडीको सहयोगमा भारतको स्काईमेट वेदर सर्भिसले प्रतिष्ठानलाई सहयोग गरेका छन् ।

कसरी पठाइन्छ म्यासेज ?

प्रतिष्ठानले किसानलाई कृषि सम्बन्धी जानकारीका लागि एग्रोपोर्टल मार्फत सूचना पठाउने गरेको छ । स्काईमेट वेदर सर्भिस मार्फत आएका मौसमसम्बन्धी सबैखाले जानकारी र सूचना एग्रोपोर्टलमा जम्मा हुने व्यवस्था मिलाइएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद नार्कका बैज्ञानिकहरुले कृषकलाई आवश्यक पर्ने सूचना तयार गर्छन् । यसका लागि क्रप क्यालेण्डर (बाली क्यालेण्डर) का आधारमा क्लस्टर तोकेर कृषि सूचना पठाउने प्रक्रिया तय गरिएको छ । यसरी दिइने सूचनामा सिंचाई गर्ने वा नगर्ने, विउ राख्ने वा नराख्ने, कति विषादी, कुन विषादि प्रयोग गर्ने, वाली लगाउने वा नलगाउने सम्बन्धी सूचना हुन्छ ।

त्यसरी तयार गरिएको मौसम सम्बन्धी सूचना किसानहरुको मोवाईलमा म्यासेज जान्छ । धनुषामा गरिएको अनुसन्धानमा किसानलाई मैथली र नेपाली भाषामा पठाएको थियो । मोवाईल नभएका किसानका लागि स्थानीयस्तरमा काम गर्ने सहजकर्ता मार्फत इमेलमा आएका सामाग्र्री प्रिन्ट गरेर किसानलाई दिने व्यवस्था गरिएको प्रतिष्ठानका निर्देशक गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment