Comments Add Comment

युनिसेफले भूकम्प प्रभावितलाई डेढ अर्ब नगद बाँड्ने

९ साउन, काठमाडौं । युनिसेफले भूकम्प प्रभावित जिल्लामा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका समूहलाई आपतकालीन नगद वितरणका लागि १ करोड ५० लाख अमेरिकी डलर -करीव १ अर्ब ५३ करोड रुपैंयाँ) वितरण गर्ने भएको छ ।

Unicefयुनिसेफले भूकम्पबाट सबैभन्दा प्रभावित भनेर घोषणा गरिएका १९ जिल्लाका सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिहरुलाई नगद सहयोग गर्न लागेको हो ।

१९ जिल्लाका ४ लाखभन्दा धेरै व्यक्तिले नियमित रुपमा प्राप्त गर्ने रकममा प्रति व्यक्ति तीन हजार रुपैंयाँ थप प्रदान गर्न लागिएको हो । यी १९ जिल्लाहरुमा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ र लमजुङ छन् ।

पहिलो नगद वितरण गत असार २४ गते सिन्धुपाल्चोकबाट शुरु भएको छ । बाँकी केही जिल्लाहरुमा पनि नगद वितरण शुरु भइसकेको र बाँकी जिल्लाहरुमा पनि चाँडै नै यो क्रम शुरु हुनेछ ।

थप रकम भूकम्प प्रभावित १९ जिल्लाका दलित बालबालिका, अशक्त/अपांगता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक र लोपोन्मुख आदिवासी/जनजातिका मानिसहरुले प्राप्त गरिरहेका छन् । भूकम्पले गरेको क्षतिका कारण थप गरिवीमा धकेलिनसक्ने जोखिममा रहेका करीव तीन लाख ३० हजार परिवारमा चार लाख ५० हजार बालबालिका रहेको अनुमान गरिएको छ ।

‘बैशाख १२ र २९ गते गएका भूकम्पहरुले हजारौं मानिसको ज्यान मात्र गएन, सम्पत्ति र जीवनयापनका स्रोतलाई पनि नोक्सान पुर्‍यायो । यसले विशेष गरी जोखिमपूर्ण अवस्थामा रहेका मानिसहरुको घरायसी आम्दानीको स्रोत पनि घटाएको छ’ युनिसेफका नेपाल प्रतिनिधी टोमो होजुमी भने ।

छुट्टै संरचना सिर्जना नगरी तत्काल र प्रभावकारी रुपमा राहत उपलब्ध गराउनका लागि युनिसेफले सरकारको विद्यमान संरचनाको प्रयोग गरी कार्यक्रमको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि सहायता उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment