Comments Add Comment

विदेशको प्रवेशाज्ञा त्यागेर तरकारी खेतीमा

१३ साउन, पाल्पा । काम र दामको खोजीमा विदेशमा रगत र पसिना बगाउन जाने युवाको आकर्षण बढिरहेकै बेला रामपुरका मिनु थापालाई भने जापानको प्रवेशाज्ञा (भिसा) त्यागेर व्यावसायिक तरकारी खेतीमा मन जागेको छ ।

जापानको प्रवेशाज्ञा लगाउनुभएका थापा वैदेशिक रोजगारी छाडेर अहिले व्यावसायिक तरकारी खेतीतर्फ लागेका छन् ।

नेपाल सरकाले युवालाई लक्षित गरी आफ्नै गाउँ ठाउँमा रोजगारीको अवसर सिर्जना गर्ने नीति तथा कार्यक्रम ल्याएपछि जिल्ला कृषि विकास कार्यालयमार्फत वैदेशिक रोजगारीको प्रवेशाज्ञा छाडेर व्यावसायिक खेतीतर्फ आकर्षित भएका युवा कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गर्न लागेपछि युवाको कृषिमा थप आकर्षण बढेको हो ।

युवा कृषक थापा भन्छन्, गाउँका सबै युवा विदेशतिर लागेको देख्दा मलाई पनि प्रवेशाज्ञा बनाउन मन लागेर  बनाए, जापानलाई प्रवेशाज्ञा लगाए, प्रवेशाज्ञा पनि आयो तर मलाई गाउँ छोडेर विदेश जान मन लागेन ।” विदेश जाने साथीको कथा व्यथा सुनेँ, मलाई पनि विदेशप्रतिको मोह कम हुँदै गयो र यही बसेर केही गरे पनि विदेशमा कमाइ गर्ने दाम हात परिहाल्छ भन्ने सोच बनाएर अहिले तरकारी व्यवसाय नै सुरु गरेको उनले बताएका छन् ।

सोही ठाउँका अर्का युवा रिमबहादुर श्रेष्ठको पनि दुबइको प्रवेशाज्ञा आइसकेको थियो, उनलाई प्रवेशाज्ञा आए पनि खाडी मुलुकमा रगत र पसिना बगाउन पटक्कै मन परेन । “प्रवेशाज्ञा झर्यो, विदेश जाने दिन निश्चित भयो, कमाएर आउने हो कि रित्तै खाली हात आउने हो दोधारमा परेँ” प्रवेशाज्ञा त्यागेर कृषि व्यवसाय सुरु गरेको उनले भनेका छन् ।

मिनु र रिमबहादुरमात्र होइन रामपुरकै सन्तोष पौडेल,गोविन्द नेपाली,भेषराज अर्यालले पनि विदेशको अनुभव लिएका छन् । पाँच वर्षसम्म सिङ्गापुरमा काम गरेर स्वदेश फर्कनुभएका सन्तोष पौडेलले आफ्नै करिब १९ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।

कृषिमा क्रान्ती नगरी उन्नति हुँदैन भन्ने सोच राख्ने युवा उद्यमी पौडेलले आफू जस्तै थुप्रै विदेशीको पैसामा मोह जगाउने युवा साथीका लागि उन्नति र प्रगति गर्नुछ भने कृषिमा लगानी गरी स्वदेशमै बस्नुपर्छ भन्ने सन्देश दिँदै आएका छन् । उनले दैनिकजसो ५० देखि ६० किलो तरकारी उत्पादन गर्दै आएका छन् ।

एक्लै व्यवसाय सञ्चालन गर्न समस्या परेपछि पाँच जनालाई रोजगारी दिएका छन् । ४० देखि ५० रोपनी जग्गामा तरकारी लगाउने सोच रहेको पौडेलले सुनाए ।

रोजगारीको सिलसिलामा विदेशको अनुभव लिनुभएका चिदिपानीका कृषक देवबहादुर कुँवरले पनि १० रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेका छन् । उनी वर्षमा पाँचदेखि सात लाखसम्मको आम्दानी लिन सफल भएका छन् । विदेशमा गरेको दुःख सम्झिँदा आफूलाई यो व्यवसाय गर्न गाह्रो नभएको बताउँदै विदेशमा कमाइ गरेको आम्दानीको तुलनामा तरकारी व्यवसायबाट नै बढी आम्दानी भएको कुँवरको अनुभव छ ।

विदेश जान लागेका र विदेश गएर फर्केका युवालाई कृषि व्यवसायमा आकर्षण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयबाट युवालक्षित कार्यक्रममा छनोट कृषकलाई ४० हजार नगद साथै बीउबिजन निःशुल्क रुपमा उपलब्ध गराएपछि युवा विदेशको प्रवेशाज्ञा छाडेर गाउँमै बसी तरकारी खेतीमा लागेका हुन् । युवालक्षित छनोटमा परेका कृषकलाई अनुदान रकम, निःशुल्क बीउबिजन तथा प्राविधिक ज्ञान दिएपछि जिल्लामा तरकारी उत्पादनमा वृद्धि भएको छ ।

दोभानका कृषक धनबहादुर सोमैले सात रोपनी जग्गामा तरकारी लगाएर अहिले विदेशको पीडालाई भुल्दै छन् । उनले विदेशमा बगाएको रगत र पसिना स्वदेशकै माटोमा बगाउनसके यही सुन फूलाउन सकिन्छ भन्ने मनसायले व्यवसाय सुरु गरेको बताए । वार्षिक रुपमा तीनदेखि पाँच लाखसम्म आम्दानी लिने गरेको कृषक सोमैले बताएका छन् । विदेशीको मोहले गर्दा युवाविहीन भएका गाउँ बस्तीमा विस्तारै युवाको चहलपहल सुरु भएको छ ।

बाँझो रहेका खेतबारीमा तरकारी फल्न थालेका छन् । कृषि प्रधान देशमा वार्षिक रुपमा अर्बौं रुपैयाँ कृषिजन्य वस्तुको खरिदमा बाहिरिने गर्दछ । बाहिरबाट स्वदेश भित्रने वस्तुको निर्यातमा कम गर्न कृषिजन्य वस्तुको उत्पादनमा नेपाल आत्मनिर्भर हुनेगरी सरकारले कृषि नीति तथा कार्यक्रम ल्याउनु जरुरी छ ।

जिल्लामा ९८ जना कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् । यी कृषकका लागि जिल्ला कृषि विकास कार्यालयले युवालक्षित कार्यक्रमअन्तर्गत व्यावसायिक खेती गर्न अनुदान स्वरुप प्रतिव्यक्ति ४० हजार उपलब्ध गराएको कृषि प्रसार अधिकृत वैकुण्ठनाथ खनालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment