Comments Add Comment

जाजरकोटमा कामै नगरी १० लाख भुक्तानी

बी.बी गिरी
१४ साउन, जाजरकोट । जिल्ला विकास समिति जाजरकोटले सडक निर्माणको नाममा रकमको चरम दुरुपयोग गरेको रहस्य खुलेको छ । आर्थिक केन्द्र जोड्ने गाविस पहुँच मार्ग शीर्षकको १० लाख रुपैयाँ कामै नगरिकन भुक्तानी गरिएको छ ।

Jajarkot,-Wikimapiya

पाँचकाटिया-ढिमे-पैंक सडकको अरु दुई शीर्षकको बजेटबाट काम भएका योजनाको नाममा रकम भुक्तानी गरिएको रहस्य खुलेको हो ।

ढिमे पैंक ब्याउली ढुंगा सडक निर्माण उपभोक्ता समिति र सडक डिभिजन कार्यालय चौरजहारी मार्फत प्रकृति निर्माण सेवा जाजरकोटले खनेको सडक मूल्यांकन गरेर आर्थिक बर्षको अन्त्यमा १० लाख रुपैयाँ भुक्तानी भएको छ ।

उपभोक्ता समितिले खनेको ४ सय मिटर र डिभिजन कार्यालय चौरजहारी मार्फत खनेको ६०० सयमिटर गरी एक किलोमिटर सडकको मूल्यांकन गरिएको जिल्ला प्राविधिक कार्यालय प्राविधिक कर्णबहादुर सिंहले बताए । कार्यालय प्रमुख इन्जिनियर जयराम श्रेष्ठले निर्देशन दिएपछि अरुले नापेर ल्याएको आधारमा आफूले मूल्यांकन गरेको सिंहको भनाइ छ ।

इन्जिनियर श्रेष्ठले भने नाप्ने प्राविधिकले के गरेका हुन् आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

उक्त रकम ढिमे पैंक ब्याउली ढुंगा सडक निर्माण उपभोक्ता समितिको खातामा हालेर भुक्तानी दिइएको छ । स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेल र इन्जिनियर श्रेष्ठको संलग्नतामा रकम दुरुपयोग गरिएको उपभोक्ता समितिका एक सदस्यले जानकारी दिए ।

कामै नगरी पाएको १० लाख रुपैयाँ कार्यालय र अन्य ३ जनाले भागबण्डा लगाएको उपभोक्ता समितिका ति सदस्यको दाबी छ ।

कार्यालयमा १ लाख ९२ हजार रुपैयाँ बुझाएको भन्दै अरु रकम सचिव सिंहसहित ३ जनाले बाँडेको उनले बताए । ‘यो रकम समितिको नाममा मात्र आएको हो । काम नगरेका कारण तिमीहरुको लाग्दैन भनेर समितिका अन्य सदस्यलाई २८ हजार खर्च भनेर दिइयो,’ उनले भने ।

यता प्रकृति निर्माण सेवाका प्रोपाइटर बुद्धिबहादुर खत्रीले भने आफूले गरेको कामको मूल्यांकन जिविसले गरेर र अरुलाई नै भुक्तानी गरेकोमा आश्चर्य व्यक्त गरे । उनले भने, ‘मैले खनेको ६ सय मिटर सडक नापियो । यस्तो नक्कली काम जिविसले गर्न थालेपछि कसको के लाग्छ र ?’

आफूले सडक डिभिजन कार्यालय मार्फतको काम गर्ने क्रम जारी रहेको खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment