१४ साउन, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘२१ औं प्रकाश मानवअधिकार पुरस्कार २०७१’ बाट सप्तरीका बैद्यनाथ झालाई सम्मान गर्ने निर्णय गरेको छ ।

इन्सेक कार्यसमिति सदस्य डा. पुष्पा कर्णको संयोजकत्वमा सदस्यद्वय कुन्दन अर्याल र टीकाराम भट्टराई सम्मिलित पुरस्कार सिफारिश समितिले झाको नाम छनोट गरेको हो ।
झा चार दशकदेखि मानवअधिकार अभियान र पत्रकारितामा क्रियाशील छन् ।
इन्सेकका पाँचै क्षेत्रीय कार्यालयबाट सिफारिस भएका नामहरूमध्येबाट पुरस्कार सिफारिस समितिले अन्तिम निर्णय गर्ने गर्दछ ।
यसअघि सप्तरीका स्वर्गीय रमानन्दप्रसाद सिंहलाई यस पुरस्कारबाट सम्मान गरिएको थियो ।
यही साउन १६ गते राजविराजमा हुने कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको हातबाट झालाई सम्मान गरिने इन्सेकले जनाएको छ । पुरस्कारको राशी ५० हजार नगद र सम्मानपत्र छ ।
इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा ०५१ सालमा ‘प्रकाश मानवअधिकार पुरस्कार’ स्थापना गरिएको थियो । यो पुरस्कारबाट यसअघि २० जना सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया 4