इन्टरनेट जाएन्ट गुगलले भाषा अनुवाद सम्बन्धि आफ्नो चर्चित सेवा गुगल ट्रान्सलेटको मोबाइल एपमा थप २० वटा भाषा समावेश गरेकोे छ । यो सँगै गुगल ट्रान्सलेट एपमा २७ वटा भाषालाई एकबाट अर्कोमा अनुवाद गर्न सकिनेछ ।
गुगलको यो अनुवाद एप्लिकेसनले कुनै एक भाषाको टेक्स्टलाई पढेर तुरुन्तै चाहिए अनुसारको भाषामा अनुवाद गरिदिन्छ ।
यसअघि यो एपले सुरुवातदेखि नै ७ वटा भाषा मात्र सपोर्ट गर्नेमा अब थप २० वटा भाषा पनि सपोर्ट गर्ने बताइएको छ । इन्टरनेट नहुँदा पनि यो एपले भाषा अनुवादको काम गर्ने जानकारी गुगलले दिएको छ ।
गुगलका अनुसार भ्वाइस ट्रान्सलेसनलाई समेत ‘फास्ट तथा स्मूथ’ बनाउने दिशामा पनि काम भैरहेको छ । उक्त एपले कुनै संकेत, सामाग्रीको सूचि, निर्देशिका म्यानुअल लगायतका सामाग्रीहरुका टेक्स्टलाई समेत एक भाषाबाट अर्को भाषामा अनुवाद गर्न सक्दछ ।
गुगल ट्रान्सलेट मोबाइल एप्लिकेसन अंग्रेजी, फ्रेन्च, जर्मन, इटालियन, पोर्चुगिस, रसियन र स्पेनिश गरी ७ भाषामा सुरु गरिएको थियो ।
अब त्यसमा बुल्गेरियन, क्याटालन, क्रोएसियन, चेक, डेनिस, डच, फिलिपिनो, फिनिस, हंगेरियन, इण्डोनेसियन, लिथुआनियन, नर्वेजियन, पोलिस, रोमानियन, स्लोभाक, स्विडिस, टर्किस तथा युक्रेनियन भाषा थपिएको गुगलले आफ्नो आधिकारिक ब्लगमा जनाएको छ ।
यसका अलावा अंग्रेजीबाट हिन्दी तथा थाइ भाषामा एकतर्फी अनुादको सुविधा पनि उपलब्ध रहेको छ ।
गुगलको पिक्चर मोड ट्रान्सलेसन जसका लागि टेक्स्टको स्न्यापसट अर्थात् तस्वीर आवश्यक पर्दछ, त्यो ३७ भाषामा उपलब्ध रहेको छ ।
कन्भोल्यूसनल न्युरल नेटवर्क विकाश गर्ने क्रममा गरिएको विस्तृत अनुसन्धानको नतिजाको रुपमा यो प्रविधिको विकाश गरिएको गुगलले स्पष्ट पारेको छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट अक्षर तथा शव्दहरु पहिचान गरिन्छ र पृष्ठभूमि फिल्टर गरिन्छ ।
गुगलका प्रडक्ट लिटर बाराक ट्युरोब्स्कीले भनेका छन्, ‘हामीसँग अझैपनि गर्नका लागि थुप्रै काम बाँकी छन् । इन्टरनेटमा भएका आधाभन्दा बढि सामाग्रीहरु अंग्रेजीमा हुने गरेका छन् जबकी विश्वका केवल २० प्रतिशत मानिस मात्र अंग्रेजी बोल्दछन् । अबको यो अपडेटबाट भाषामा रहेको केही अवरोध पार हुनेछ र जसबाट तपाइँले राम्रो संचार गर्न पाउनुहुनेछ र आफुलाई आवश्यक पर्ने जानकारी पनि प्राप्त गर्न सक्नुहुनेछ ।’
प्रतिक्रिया 4