प्रविधि क्षेत्रको अग्रणी कम्पनी एप्पलले आफ्ना प्रमुख कार्यकारी अधिकृत टिम कुकको सुरक्षामा कति खर्च गर्ला ? दुनियाको सबैभन्दा मूल्यवान कम्पनीका हाकिम भनेपछि सुरक्षा चुनौति बढि नै हुने भयो । त्यसैले होला, एप्पलले आफ्ना सिइओको सुरक्षामा वाषिर्क झण्डै ७ लाख अमेरिकी डलर अर्थात् ७ करोड रुपैयाँ भन्दा बढि खर्च गर्ने गरेको छ ।
- टिम कुक
अमेरिकी सेक्युरिटीज एण्ड एक्स्चेन्ज कमिसनमा एप्पलले बुझाएको सुरक्षा खर्च प्रतिवेदनले यस्तो खुलासा गरेको हो ।
७ खर्ब डलर मूल्य भएको कम्पनी एप्पलले आफ्ना सिइओ कुकको आवास तथा व्यक्तिगत सुरक्षाका लागि मोटो रकम खर्चिएको स्विकार गर्दै कुकको व्यक्तिगत सुरक्षाको विषय निकै महत्वपूर्ण रहेको जनाएको छ ।
फर्च्युन म्यागेजिनका लागि इक्विलरले तयार पारेको रिपोर्ट अनुसार पछिल्लो समयमा विभिन्न कम्पनीहरुले निर्माण गर्ने ड्रोनहरुका कारण चर्चित सिइओहरु इस्लामिक आतंकवादीको निसानामा पर्नसक्ने जोखिम बढेकाले विश्वका धनाढ्य कम्पनीहरुले आफ्ना हाकिमहरुको सुरक्षा सतर्कता बढाएका छन् ।
टिम कुक मात्र होइन विश्वका अन्य चर्चित कम्पनीले समेत आफ्ना सिइओको सुरक्षामा मोटो रकम खर्चिने गरेको पाइएको छ । सुरक्षामा सबैभन्दा धेरै खर्च गर्नेमा अमेजनका सिइओ जेफ बेजोस तथा ओर्याकलका सिइओ ल्यारी इलिसन रहेका छन् । सन् २०१३ मै बेजोसको वाषिर्क सुरुक्षा खर्च १६ लाख डलर तथा इलिसनको वाषिर्क सुरक्षा खर्च १५ लाख डलर रहेको थियो र अहिले त्यो अझै वृद्धि भएको हुनसक्छ ।
- जेफ बेजोस
अमेजनका प्रवक्ताले हाल आफ्ना सिइओको सुरक्षामा भैरहेको खर्चका विषयमा बोल्न नचाहेका फर्च्युनले जनाएको छ ।
हाकिमको सुरक्षामा धेरै खर्च गर्नेमा डिज्ने कम्पनी चौथो स्थानमा रहेको छ । सिइओ बब इगरको सुरक्षामा डिज्नेले वाषिर्क ५ लाख ८४ हजार डलर खर्चिने गरेको छ भने अर्बपति वारेन बफेटको सुरक्षामा उनको कम्पनी बर्कशायर हाथावेले वाषिर्क ३ लाख ८५ हजार डलर सुरक्षा खर्च सहित पाँचौ स्थानमा रहेको छ ।
रिपोर्ट अनुसार विश्वका सबैभन्दा चर्चित १ सय वटा कम्पनीका सिइओहरुको सुरक्षामा वाषिर्क औषतमा २८ हजार ६ सय १८ डलर खर्च हुने गरेको छ ।
विश्वमा उत्कृष्ट १ सय सिइओमध्ये आफ्नो सुरक्षामा सबैभन्दा कम खर्चिने सिइओमा फिलिप्स कम्पनीका सिइओ ग्रेग गार्ल्याण्ड रहेका छन् । उनको वाषिर्क सुरक्षा खर्च केवल २८४ डलर रहेको छ । सबैभन्दा कम सुरक्षा खर्च गर्ने पुछारका पाँच सिइओमा ग्रेग सँगै आर्चर डायिनल्स मिडल्याण्डका पि वर्ट्ज (४८८ डलर), कार्डिनल हेल्थका जर्ज ब्यारेट (८९३ डलर), जोन्सन एण्ड जोन्सनका एलेक्स गोर्स्की (९७० डलर) र जनरल मोटर्सका ड्यानियल एकर्सन (१७ सय डलर) रहेका छन् ।
प्रतिक्रिया 4