Comments Add Comment

दाङलाई प्रादेशिक राजधानी बनाउन दवाव सुरु

Dangनिमुसंगम घर्ती
२९ साउन, घोराही । एकीकृत राप्ती र प्रादेशिक राजधानी दाङ हुनुपर्ने माग गर्दै दवाव अभियान सुरु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा शुक्रबार घोराहीमा दवाव र्‍याली र कोणसभा गरिएको छ ।

र्‍याली पछि आयोजित कोणसभामा बक्ताहरुले प्रदेशको सीमांकन गर्दा राप्तीलाई टुक्राउन नहुने र प्रदेश नम्बर पाँचको राजधानी दाङ हुनुपर्ने माग गरे । प्रदेश नम्बर पाँचको केन्द्र र हरेक दृष्टिले दाङ प्रादेशिक राजधानी बन्न उपयुक्त भएको दाबी उनीहरुको छ ।

प्रदेशको सीमांकन गर्दा सल्यान पूरै र रुकुमको आधा भाग प्रदेश नम्बर ६ मा राखिएकोमा बिरोध गर्दै दाङका नागरिकहरुले एकीकृत राप्ती हुनुपर्ने माग समेत गरेका छन् ।

नेपाली कांग्रेसका घोराही नगर सभापति किशोरचन्द्र गौतमले एकीकृत राप्ती र प्रादेशिक राजधानी दाङलाई बनाउन बलियो एकता हुनुपर्ने बताए ।

त्यसैगरी नेकपा एमालेका जिल्ला सदस्य विवेक श्रेष्ठ र एकीकृत नेकपा माओवादी दाङका जिल्ला सदस्य बिश्वराज आचार्यले दाङ प्रादेशिक राजधानी बन्नका लागि भूगोल, सुरक्षा, वातावरण, हावापानी, आर्थिक, सामाजिक दृष्टिले उत्तम रहेको धारणा राखे । साथै विकास र सेवा प्रवाहमा प्रदेश नम्बर पाँचको केन्द्र पनि दाङ पर्ने भएकाले एकीकृत दवाव आवश्यक पर्ने उनीहरुको भनाइ छ ।

दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष माधवप्रसाद शर्माले एकीकृत राप्ती र प्रादेशिक राजधानी दाङ बनाउने अभियानमा लाग्न सबैलाई आह्वान गरे ।

यसैबीच प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाउनुपर्ने माग गर्दै एक प्रतिनिधिमण्डल काठमाडौं पुगेको छ । प्रादेशिक राजधानी सरोकार दवाव समितिले सभासद, पूर्वसभासद र नेताहरुसँग छलफल सुरु गरेको छ । दाङलाई प्रादेशिक राजधानी बनाउन तथा सल्यान र रुकुमलाई नटुक्राइ ५ नम्बर प्रदेशमा राख्न दवाव समितिले नेताहरुको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment