Comments Add Comment

दाङलाई राजधानी बनाउन राप्तीका नेताले जनाए साझा प्रतिबद्धता

Dang-regional-capital,-dema

३१ साउन, काठमाडौं । दाङलाई प्रदेश नम्बर ५ को राजधानी गराउन राप्ती अञ्चलबाट प्रतिनिधित्व गर्ने सभासद र नेताहरुले साझा प्रतिबद्धता जनाएका छन् ।

नेता तथा सभासदहरुले राप्तीका कुनै पनि जिल्ला नटुक्राउने, कैलालीलाई समेत ५ नम्बर प्रदेशमा ल्याउन पहल गर्ने र दाङलाई प्रादेशिक राजनधानी बनाउने प्रतिबद्धतापत्रमा सामुहिक हस्ताक्षर समेत गरे ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले दाङलाई प्रादेशिक राजधानी बनाउन दवाव अभियान सञ्चालन गर्दै आएको छ । हाल राजधानी काठमाडौंमा रहेको समितिले राप्तीका सबै सभासद र नेताहरुलाई एकैठाउँ राखेर छलफल आयोजना गरेको थियो । छलफलमा सहभागीहरुले दाङ प्रदेशको राजधानी मात्र नभइ वैकल्पिक केन्द्रीय राजधानी बनाउन सकिने दाबी गरे ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, एमाओवादी महासचिव कृष्णबहादुर महरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी लगायतले राप्ती अञ्चलका कुनै पनि जिल्ला टुक्राउन नहुने र दाङलाई प्रादेशिक राजधानी बनाउनुपर्ने बताए ।

उनीहरुले रुकुमलाई टुक्राइएको अहिलेको सीमांकन गलत भएको बताए । त्यसका लागि सबैभन्दा पहिले राप्तीका जिल्ला अखण्ड बनाउन पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाओवादी नेता तथा सार्बजनिक लेखा समितिका सभापति जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश नम्बर ५ को केन्द्र लुम्बिनीलाई बनाउने षडयन्त्र भैरहेको बताए । दाङ राजधानी हुने ग्यारेन्टी नभएकाले रुकुमले विद्रोह गर्ने र सुर्खेतलाई राजधानी मान्न तयार हुने प्रभाकरले बताए ।

‘दाङमा मेरो घर नभए पनि घरको आँगन जस्तै हो, सुर्खेत खेतबारी जस्तै हो र लुम्विनी भनेको त कोरिया जस्तै हो । रुकुमेली जनता लुम्बिनी धाउँदैनन्,’ प्रभाकरले भने, ‘सकेसम्म दाङ नभए सुर्खेत राजधानी बनाउनुपर्छ । यसलाई नकारात्मक रुपमा नलिएर रुकुमले सकारात्मक विद्रोह गरेको भनेर बुझ्नुपर्छ ।’

एमाले नेता तथा अर्थसमितिका सभापति प्रकाश ज्वालाले भूगोल, भौतिक पूर्वाधार, हावापानी लगायत हरेक दृष्टिले दाङ प्रादेशिक राजधानी बनाउन उपयुक्त हुने बताए ।

यस्तै रोल्पाका एमाओवादी नेता नन्दकिशोर पुन ‘पासाङ’ले ५ नम्बर प्रदेशको सीमांकनमा अवध, मगरात र थारुवानको पहिचान समेटिएको भन्दै ति सबैको राजधानी दाङ नै हुनुपर्ने बताए ।

डोल्पालाई समेत मिसाउन सुझाव

नेपाली कांग्रेसकी सभासद मिठु मल्लले डोल्पालाई समेत मिसाएर उत्तरमा चीनको सीमाना र दक्षिणमा भारतको सीमाना छुने गरी ५ नम्बर प्रदेश बनाउनुपर्ने धारणा राखिन् । उनले रुकुम टुक्राइएकोमा असन्तुष्टि व्यक्त गर्दै अखण्ड राप्तीको पक्षमा दाङका सभासद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पार्टीमा कुरा नउठाएको आरोप लगाइन् ।

रुकुमका सभासद गणेशमान पुनले दाङलाई पाँच नम्बर प्रदेशको मात्र नभइ नेपालकै वैकल्पिक राजधानी बनाउन उपयुक्त हुने बताए । उनले थारु बाहुल्य कैलालीलाई समेत ५ नम्बर प्रदेशमा ल्याउन पहल गर्नुपर्ने र दाङलाई राजधानी बनाउनुपर्नेमा जोड दिए । उनले रुकुम टुक्राएर सीमांकनको खाका आउँदैछ भन्ने जानकारी पाएलगत्तै शीर्ष नेताहरुको बैठकमा गएर विरोध गरेको जानकारी समेत गराए ।

प्रतिबद्धता पत्रमा हस्ताक्षर

CA-Member-of-Rapti-committe

कार्यक्रमको अन्तमा राप्तीका १५ जना सभासदहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे । कार्य व्यस्तताको कारण देखाउँदै प्रभाकर र प्रकाश ज्वाला आफ्नो धारणा राखेलगत्तै कार्यक्रमस्थलबाट बाहिरिएकाले प्रतिबद्धतापत्रमा हस्ताक्षर भने गरेनन् ।

हस्ताक्षर गर्नेहरुमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, एमाओवादीका महासचिव कृष्णबहादुर महरा र कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी रहेका छन् । यस्तै एमाओवादीकी सचेतक रेखा शर्मा, गणेशमान पुन, राजु खनाल, पार्वती डिसी चौधरी, अनिता देवकोटा, बुद्धिराम भण्डारी, भागवत विश्वासी, धनबहादुर रायमाझी, शारदा विश्वकर्मा, अनारकली मिया, पुनाराम थापा र मिठु मल्लले पनि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रभावशाली नेता अनुपस्थित

कार्यक्रममा प्युठानबाट निर्बाचित एमाले उपाध्यक्ष बामेदव गौतम र दाङ घर भएका एमाले सचिव शंकर पोख्रेल भने सहभागी थिएनन् । तर उनीहरुले दाङलाई राजधानी बनाउन प्रतिबद्ध रहेको आफूहरुलाई जानकारी गराएको दाङ प्रादेशिक राजधानी सरोकार समितिका संयोजक तथा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले बन्जाडेले जानकारी दिए ।

दाङका एमाओवादी नेता निर्मल आचार्यले  दाङलाई प्रादेशिक राजधानी बनाउन सबै पक्षलाई सकारात्मक दवाव सिर्जना गर्न तथा नेता र सभासदहरुलाई आ-आफ्ना दलभित्र प्रभावकारी भूमिका खेल्न सुझाव दिए । आफूहरु बन्द हड्ताल लगायतका आन्दोलनको पक्षमा नरहेकाले अरु जिल्लाको तुलनामा दाङ शान्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment