गायक कमलीकान्त भेटुवाललाई धेरैले ‘झम्के-गुलेली’का गायक भनेर चिन्छन् । संचारमाध्यममा यो गीत खुबै धेरै बज्ने गरेको छ । कमलीकान्तले आफ्नै स्वर तथा संकलनमा पहिलो पटक ‘झम्के-गुलेली’ बोलको गीत बजारमा ल्याएका थिए । यो गीत हिट भएपछि उनी विभिन्न कार्यक्रममा पनि व्यस्त बने ।
धेरैलाई थाहा नहुन सक्छ, उनै कमलीकान्तको ‘झम्के-गुलेली’ एल्बममा ९ वटा गीत समावेश छन् । तर, उनलाई एल्बमको शिर्ष गीतले नै चिनायो ।
उनले केही अवार्ड पनि जितेका छन् । तर, सांगीतिक क्षेत्रमा लागेर मात्र जीवन चलाउन सजिलो कहाँ छ र ? कहिलेकाही देशभित्रैबाट अफर आउने स्टेज कार्यक्रम त छदै छ । एल्बम पनि निरन्तर निकाल्न सक्ने कुरा भएन । यसैले उनी शिक्षण पेशामा पनि लागेका छन् ।
कमलीकान्तले यसपछि ‘झम्के गुलेली’ नामममा भाग १, २ र ३ बजारमा ल्याइसकेका छन् । आफ्नै स्वर तथा संकलनमा उनले बजारमा ल्याएका ३ एल्बमको पनि चर्चा भयो । तर, पनि उनलाई ‘झम्के गुलेली’ले नै आजसम्म चिनाएको छ ।
उनले बजारमा ल्याएका अन्य ३ वटा एल्बममा देउसी, किसानी, असारे गीतदेखि जुहारी, दोहोरी गीत पनि समावेश गरिएको छ । अहिले पनि आफूलाई ‘झम्के गुलेली’ बोलको गीतकै कारण कार्यक्रममा अफर आउने कमलीकान्तको भनाई छ । उनले आफू नेपाली लोक गीतको संरक्षण र विस्तारका लागि सधै लागिपर्ने बताए ।