काठमाडौं । सेक्स र हाँसो सामान्यतया एकैसाथ आउँदैनन् । तर, पछिल्लो समय नेपालमा बनिरहेका लोकगितका म्युजिक भिडियोमा यस्तो प्रयोग भइरहेको छ । यो प्रयोगलाई दर्शकले रुचाएको पनि देखिन्छ ।
लोकगितको म्युजिक भिडियोमा हाँस्यकलाकारलाई समावेश गर्ने प्रचलन पछिल्लो दुई वर्षयता बढेको हो । हाँस्यकारसँगै एउटी ग्ल्यामरस मोडल राखिदिएपछि सूनमा सुगन्ध हुने ठान्छन् म्युजिक भिडियो निर्देशकहरु । नभन्दै यस्ता म्युजिक भिडियो यूट्यूवमा रातारात चर्चित पनि हुने गरेका छन् । यद्यपि, लोकसंगितमा यौनलाई मिसाएर विकृति फैलाउन खोजेको भन्दै आलोचना गर्नेहरु पनि कम छैनन् ।
पछिल्लो समय मूलधारका हास्यकलाकारहरु म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । मेरी बास्सैका माग्ने बुढा, सुन्तली, बल्छी ध्रुवे, प्याकुली भाइरसदेखि भद्रगोलका पाँडे, जिग्री, बले र कक्रोचसम्मलाई विभिन्न म्युजिक भिडियोमा देख्न सकिन्छ । त्यस्ता म्युजिक भिडियोमा गितको मर्म एकातिर हुन्छ भने उनीहरुको अभिनय अर्कोतिर । प्रायः गितका शब्द र म्युजिक भिडियोका दृष्यमा तालमेल पाइदैन । हास्यकलाकारहरुलाई आफ्नै मौलिक शैली र भेषभुषमा देखाइन्छ ।
लाइकको ओइरो
लोकगीतमा हाँस्य कलाकारलाई अभिनय गराइएका भिडियोले युटुबमा धेरै लाइक पाउने गरेको छ । हास्यकलाकारको कमेडीसँगै मोडेललाई यौनिक ढंगले पेस गरिने भएकाले पनि लाइक धेरै आउने गरेको हो ।
तीजको गीत ढाडे बिरालोमा ज्योती मगर सहित बले र कक्रोजलाई अभिनय गराएकी श्रीदेबी देबकोटाले अर्को गीतमा पनि हाँस्य कलाकारलाई नै अभिनय गराएकी छिन् । खचोर बिरोलो पल्क्यो गीतमा माग्ने बुढा र सुन्तलीलाई अभिनय गराइएको सो गितको भिडियो ६ लाखभन्दा बढीले हेरेका छन् ।
मीना बोहोरा, प्रकाश कटुवाल सम्झना लामिछाने, मीना थापा गंगा पुन लगायत दर्जनौ गायक-गायिका छन् । जसले हाँस्य कलाकारकै सहारामा चर्चा पाए ।
अश्लिल गीतमा काम गर्दिनः माग्नेबुढा
म्युजिक भिडियोहरुमा हाँस्यरससँगै यौन मिसिएको गुनासो हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा)ले पनि सुनेका छन् । तर, आफूले त्यस्तो नपाएको उनी बताउँछन् । ‘यस्तो भयो भन्ने सुनेको छु तर, हेर्न पाएको छैन,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।
हरेक भिडियोको सुटिङ गर्नुअघि पूरा गीत सुन्ने गरेका छन् उनले । चोर बिरालो पल्क्योलाई हल्का ब्यङ्ग्य मिसिएको गीत भन्न चाहने माग्ने बुढा अश्लिल गीतमा कहिल्यै मोडलिङ नगर्ने बताउछन् ।
भद्दा हुन हुँदैनः कुमार बस्नेत
बरिष्ठ लोक गायक कुमार बस्नेत लोकगितमा अलिकति उत्तलाउलोपन स्वभाविक भए पनि त्यो भद्दा हुन नहुने बताउँछन् । आमाभन्दा छोरी तरुनी जस्तो चर्चित लोकगितका गायकले अश्लिल शब्दले लोकसंगितलाई बदनाम बनाउने धारणा राखे ।
बाबुआमा नभएको बेला छोरीले घरमै ब्याईफ्रेण्ड बोलाएर भेटघाट गरेको, लोग्ने बाहिर गएको बेला प्रेमीलाई घर बोलाएको जस्ता प्रसंग धेरै भिडियोमा देखिने गरेको छ । गायक बस्नेतको भनाई अनुसार यतिसम्म देखाइनु सामान्य नै हो ।