२ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीब ढाउने नीति सार्वजानिक भएको २३ कार्यदिनमै नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ ।
०६५ भदौ १५ गतेको ११७५ को रेकर्ड तोड्दै बुधबार नेप्से ११९२ अंकमा पुगेको छ । त्यसबेला डा. चिरञ्जीबी नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए भने हाल उनी राष्ट्र बैंकका गभर्नर छन् ।
बुधबारको समुहगत सबै उपसूचकहरु बढेका छन् । बुधबार नेप्सेमा १ सय ३९ कम्पनीको १२ लाख २३ हजार कम्पनी कित्ता सेयर ६६ करोड ७७ लाख रुपैयाामा किनबेच भयो ।
राष्ट्र बैंकले गत साउन ७ गते आगामी दुइवर्षभित्र बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी चार गुणाले बढाउनु पर्ने व्यवस्थासहितको मौदि्रक नीति सार्वजानिक गरेको थियो । जसअनुसार ०७४ सम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने छ ।
चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता, केही सातामै नयाँ संविधान आउने आशा र आर्थिक वर्ष २०७१/०७२ को बैंक तथा वित्तीय संस्थाहरुको सन्तोषजनक नाफा रहेको वित्तीय विवरणले नेप्से बढाएको हो ।
पुँजी बढाउनु पर्ने बाध्यताले बैंक तथा वित्तीय संस्थाले बोनस सेयर दिने अपेक्षामा सेयर बजार उछालिएको विश्लेषकहरु बताउँछन् । यो वर्ष थोरै चुक्ता पुँजी भएका र नाफा धेरै भएका बैंकहरुले ५० प्रतिशतसम्म बोनस सेयर दिनसक्ने आँकलन गरिएको छ ।
त्यस्तै, अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७१/०७२ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । प्रकाशित वित्तीय विवरणमा बैंकहरुको नाफा सन्तोषजनक नै पाइएको छ । नाफामा भूकम्पले असर गर्ने अनुमान गरिए पनि ०७२ असार मसान्तमा भने खासै असर पुर्याएको देखिएन । सामान्य अवस्थामा पनि संस्थाहरुले वित्तीय विवरण चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशति गर्ने समयमा सेयर बजार बढ्ने गर्थ्यो ।
लामो समयदेखि बन्न नसकेको नयाँ संविधान आगामी केही सातामा घोषणा गर्ने दलहरुबीच सहमति भएपछि त्यसको प्रभाव पुँजी बजारमा देखिएको विश्लेषण गरिएको छ । तर, अहिलेको पुँजी बजारकेा वृद्धि दीर्घकालसम्म नरहने विश्लेषकहरुको तर्क छ ।
प्रतिक्रिया 4