६ भदौ, ताप्लेजुङ । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको दुईदिने बन्दको प्रभाव ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पनि आइतबार बिहानैदेखि परेको छ । संविधानको नयाँ मस्यौदाको विरोध गर्दै महासंघले आइतबार र सोमबार दुई दिनका लागि बन्द आह्वान गरेको हो ।
बन्दका कारण ताप्लेजुङबाट बाहिरिने लामा तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा समेत बन्द छन् । अत्यावश्यकीय सवारीसाधनलाई भने बन्दमा चल्न दिइने महासंघले जनाएको छ ।
विगतमा सरकारले आदिवासी जनजातिसँग गरेको सहमति र अन्तरिम संविधानको भावनाविपरीत नयाँ संविधान ल्याउन लागिएको भन्दै विरोधस्वरुप महासंघले बन्द आह्वान गरेको हो ।
बन्दकै दिन कञ्चनजंघा च्यालेञ्ज रनिङकप
यसैवीच बिगत लामो समयदेखि ताप्लेजुङमा सञ्चालन हुँदै आएको कञ्चनजंघा च्यालेञ्ज रनिङकप फुटबल प्रतियोगिता आइतबारदेखि नै सुरु हुँदैछ । यसअघि पूर्वका जिल्लाहरु मात्र सहभागी भइरहेको यो प्रतियोगितामा यस वर्ष भने भारतको सिक्किम-११ सहित पाँचथर, ईलाम, झापा, मोरङ र सुनसरीको पनि सहभागिता रहने आयोजकले बताएका छन् ।
ताप्लेजुङ जिल्ला फुटबल संघ र लाखेजात्रा सञ्चालन समितिको आयोजनामा सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा हुने आइतबारको पहिलो उदघाटन खेलमा गत बर्षको डिफेण्डिङ च्याम्पियन रहेको ताप्लेजुङको संघर्ष स्पोर्टिङ क्लवले पाँचथरको फिदिम स्पोर्टिङ क्लवको सामना गर्नेछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
लाखेजात्रा खेल सञ्चालन समितिका संयोजक युगराज गुरुङका अनुसार यस वर्ष पुरुष र महिला तर्फको दुबै खेल हुनेछ । आइतबार महिलातर्फको अर्को खेलमा लेकसाइट स्पोटिङ क्लब र कञ्चनवंघा फुङ्लिङ क्लब भिड्ने भएका छन् । सो खेल भानुजन उच्च माविको खेल मैदानमा मध्यान्न १२ः३० बजे बाट सुरु हुनेछ ।
पुरुष ८ सहित महिला ४ टिमको सहभागिता रहेको सो खेलको फाइनल जनैपूणिर्माका दिन अर्थात १२ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद एकलाख सहित ट्रफी, मेडल र प्रमाण-पत्र पाउने छ भने उप-बिजेता टीम ५० हजार नगदका साथ प्रमाण-पत्र पाउने खेल सञ्चालन समितिका संयोजक गुरुङले बताए ।
यसवर्षको खेलमा दर्शक शुल्क प्रतिव्यक्ति प्रतिखेल ३० रुपैयाँ तोकिएको र दर्शकबाट संकलित रकमलाई बचाएर यहाँका पहिरो पीडित परिवारका आफन्तजनलाई राहतस्वरुप दिइने तयारी भएको बताइएको छ ।
प्रतिक्रिया 4