Comments Add Comment

ओलीले सभासदलाई भने – हृवीप होइन, आदेश हो, मान्नुस्

KP-oli

फाइल फोटो

८ भदौ, काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीको नीति, निर्णय र दलको नेताको आदेश विपरित कुनै पनि गतिबिधि नगर्न सभासदहरुलाई निर्देशन दिएका छन् ।

संसदीय दलको बैठकमा सभासदहरुलाई निर्देशन दिँदै ओलीले अहिलेसम्म एमालेका सभासदहरुले जुन ढंगले पार्टी नीति अनुरुप काम गरेका छन्, संविधान जारी हुन्जेल सोही अनुसार चल्न आग्रह गरे ।  ओलीले भने-‘संविधानको बिधेयकमा संशोधनहरु हाल्ने बेला व्यक्तिगत रुपमा नहाल्नुस्, मेरो आदेश अनुसार चल्नुस् । संविधानसभामा पार्टीको हृवीप लाग्दैन । यो हृवीप होइन, दलको नेताको आदेश हो ।’

ओलीले संविधानमा सम्भव नै नहुने खालका संशोधनहरु नहाल्न पनि सभासदलाई निर्देशन दिए । ‘संविधान निर्माणमा एमालेको एकताबद्ध प्रयास अहिले सबैतिर प्रशंसा भइरहेको छ,यसलाई कायम राखौं’ उनले भने ।  संविधानमा कतिपय विषयमा आफू पनि असन्तुष्ट रहेको र पार्टीले पनि सन्तुष्टि गर्ने ठाउँ नरहेको ओलीले बताए ।

बैठकमा सभासदहरुले १६ बुँदे सहमति अनुसार गएको भए यस्तो अवस्था नआउने बताएका थिए । सिमांंकनको काम नेताले गर्दा समस्या आएको सभासदहरुको भनाई थियो ।

सभासदहरुबाट धेरै विषयमा सकारात्मक सुझावहरु नेतृत्वलाई दिइएको र नेतृत्वले पनि पार्टीमा एकताबद्ध अभ्यास निरन्तर बनाउन निर्देशन दिएको बैठकपछि सभासद यज्ञराज सुनुवारले बताए ।

बैठकमा नागेन्द्र थारु, मन्जु चौधरी, कर्णवहादुर थापा, मोहन बानियाँ, दिनेशचन्द्र यादव गायतका सभासदहरुले संविधान चाँडो जारी गरेर अघि बढ्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment